सुदुरपश्चिमकी नेकपा एकसकी सचेतक माओवादी प्रवेश
काठमाडौ। नेकपा एकीकृत समाजवादी सुदूरपश्चिमकी प्रमुख सचेतक दुर्गा विक माओवादी केन्द्रमा प्रवेश गरेकी छन् । आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई पार्टी प्रवेश गराएका हुन् । नेकपा एमालेबाट समानुपातिकमार्फत प्रदेशसभा सदस्य रहेकी दुर्गा एमाले विभाजन हुँदा नेकपा एकीकृत समाजवादीमा सनाखत गरेकी थिइन् । उनी नेकपा एकीकृत समाजवादीको तर्फबाट प्रमुख सचेतक समेत हुन् ।

‘केही दिन पहिले उनलाई नेकपा एकीकृत समाजवादीमा रहेर एमाले र माओवादी केन्द्रलाई सहयोग गरेको भन्दै प्रदेश पार्टी कार्यालयले स्पष्टीकरण मागेको थियो । उनले स्पष्टीकरण बुझाउनु भन्दा पहिले पार्टी नै परिवर्तन गरेकी हुन् ।
पार्टी विभाजन हुन भन्दा पहिले नै प्रमुख सचेतक रहेका तारा लामा तामाङको स्थानमा दुर्गा विकलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको थियो । १४ सांसदसहित प्रदेशमा सबैभन्दा ठुलो दल रहेको नेकपा एकीकृत समाजवादीबाट अहिलेसम्म ३ जना सांसदले पार्टी छोडिसकेका छन् ।

त्यस्तै आज थारू कलाकार मञ्चका केन्द्रीय अध्यक्ष एवं नेकपा(एस) काठमाडौं–कंचनपुर सम्पर्क मञ्चका अध्यक्ष विनय चौधरी, विक्रम राना, विनोद चौधरी, सुमन तामाङ, सन्तोष बोगटी, लोकेन्द्र धामी, अर्बिन रावत लगायत पनि माओवादी केन्द्र प्रवेश गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्: