Bagmati Samachar Logo

माओवादीलाई कम्युनिष्टको पहिलो शक्ति बनाउने गरी लागौं : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीलाई आगामी चुनावमा कम्युनिष्टको पहिलो शक्ति बनाउनेगरी लाग्न निर्देशन दिएका छन् । बागमती प्रदेशका पदाधिकारीसहित केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने नेताहरुको बैठकलाई ललितपुरमा सम्बोधन गर्दै प्रचण्डले आगामी मंसिर ४ गतेको चुनावबाट संसदको दोस्रो शक्ति बन्ने प्रवल सम्भावना भएकाले चुनावमा केन्द्रीत हुन निर्देशन दिएका छन् ।

‘हामी यो चुनाव काँग्रेससँगै गठबन्धन गरेर जानुपर्छ । त्यसबाट दायाँबायाँ हुने अवस्था छैन । काँग्रेसले धोका दिएमा गठबन्धनभित्रै वामपन्थी मिलेर भएपनि तालमेल हुने प्रचण्डले बताएका एक सहभागी नेताले जानकारी दिए । काँग्रेस सहितको गठबन्धन बनाएर गएमा माओवादी संसदको दोस्रो शक्ति हुन कसैले रोक्न नसक्ने प्रचण्डले बताए ।

उनले आगामी चुनाव सकिएपछि कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि संघर्ष गर्ने अवस्था आउन सक्ने बताए । अहिलेको संसदीय प्रणालीबाट मुलुकको रुपान्तरण हुन नसक्ने बताउँदै प्रचण्डले चुनावपछि आन्दोलन गर्ने अवस्था आउन सक्ने बताए । प्रदेशको बैठकमा १३ जिल्लाका अध्यक्षले आ–आफ्नो जिल्लाको रिपोर्ट प्रस्तुत गरेका थिए ।

प्रदेशका कुन जिल्लाको कस्तो अवस्था छ भन्ने विषयमा प्रदेशका अध्यक्षले रिपोर्ट प्रस्तुत गरेका हुन् । यस्तै पार्टीका केन्द्रीय सदस्यको समेत कार्यविभाजन गरिएको छ ।