Bagmati Samachar Logo

ओलीको प्रतिवेदनमाथि नौ समूहमा छलफल

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न नौ समूह बनाएको छ ।

एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार पहिलो दिनको बैठकमा अध्यक्ष ओलीले प्रतिवेदन पेश गरेको र त्यसमा समूह विभाजनमार्फत शनिबारको बैठकमा छलफल हुने जानकारी दिए ।

पहिलो दिनको बैठकमा छलफलका लागि सातवटा एजेण्डा तय भएकोमा त्यसमध्येका अधिकांशमा छलफल र निर्णय भएको छ । त्यसमा पार्टीका विभिन्न केन्द्रीय आयोगका अध्यक्षले आआफ्ना प्रतिवेदन पेश गरेका छन् ।

सातवटा प्रदेश र जनसंगठन तथा प्रवासका अलग–अलग समूहमा प्रतिवेदनमाथि छलफल हुनेछ । शनिबारको बैठकले सुझावसहित प्रतिवेदन पारित गर्ने नेता रिजालले जानकारी दिए ।

बैठकमा सम्बन्धित प्रदेशका अध्यक्षहरूलाई टोली नेता बनाएर छलफल सुरू गरिएको छ ।

अध्यक्षको प्रतिवेदनले आगामी निर्वाचनसम्मको पार्टीको कार्यदिशा समेत तय गर्ने एमालेले जनाएको छ । अध्यक्षको राजनीतिक प्रतिवेदनका साथै अमृत बोहरा, अनुशासन आयोगको प्रतिवेदन, लेखा आयोग, सल्लाहकार परिषद्को प्रतिवेदनमाथि पनि शनिबारको बैठकमा छलफल हुनेछ ।