Bagmati Samachar Logo

माओवादीले २१ सदस्यीय पदाधिकारी बनाउँदै

काठमााडैं । नेकपा माओवादी केन्द्रले लगभग २१ सदस्यीय पदाधिकारी बनाउने भएको छ । शुक्रबार (आज )पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकमा २१ सदस्यीय पदाधिकारी बनाउने अनौपचारिक सहमति जुटेको छ । तर, पदाधिकारीको नामावली भने टुंगो लागेको छैन ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकट स्रोतका अनुसार वरिष्ठ उपाध्यक्ष एक जना, उपाध्यक्ष एक जना, महासचिव एक जना र कोषाध्यक्ष एक हुने गरी पदाधिकारी टुंगो लागेको छ । त्यसैगरी उपमहासचिव सात र सचिव भने नौ जना हुने पनि उक्त स्रोतको दाबी रहेको छ ।

अध्यक्ष प्रचण्डले बिहीबारको स्थायी समिति बैठकमा पदाधिकारीको नाम प्रस्तुत गर्ने तयारी गरेका थिए । बुधबारको स्थायी समिति बैठकमा ४१ जना स्थायी समितिको नाम टुंगो लगाउने क्रममा प्रचण्डले बिहीबार पदाधिकारी टुंगो लगाउने बताएका थिए । तर, शुक्रबारसम्म पनि प्रचण्डले बैठकमा नाम सुनाउन सकेका छैनन् ।

अझ शुक्रबार त समय अभाव भन्दै बैठक अर्को दिनलाई सारिएको छ । वाईसीएलको दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटनमा प्रचण्ड जाने भएका कारण बैठक छोट्याइएको थियो । आजको बैठकमा प्रचण्डले नाम प्रस्तुत नगरेका कारण पदाधिकारीको टुंगो लाग्न नसकेपछि शनिबार फेरि बैठक बस्नेछ ।

प्रचण्डले महासचिवमा देव गुरुङलाई अगाडि सार्न खोजिरहेका छन् । महासचिवका लागि वर्षमान पुन र जनार्दन शर्माको तीव्र प्रतिस्पर्धा भएको र एकले अर्कोलाई अस्वीकार गर्ने भएकाले प्रचण्ड चुनावको सम्मुखमा उक्त विवादमा फस्न चाहेका छैनन् । त्यही कारण गुरुङको नाम अगाडि आएको हो ।

गुरुङलाई महासचिव बनाउने कुरा महाधिवेशनको बेलामा पनि उठेको थियो । पुन र शर्माको विकल्पमा गुरुङको नाम अगाडि सारिएको थियो ।

वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको नाम टुंगो लागिसकेको छ । त्यसैगरी अर्को उपाध्यक्षमा कृष्णबहादुर महराको नाम टुंगो लागेको छ । गुरुङलाई महासचिव बनाएपछि पुन र शर्मामात्र होइन भुसाललाई समेत उपमहासचिवमा राख्न सकिने अवस्था आएको छ ।

हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल पनि उपमहासचिव बन्ने बताइएको छ । त्यसैगरी, महासचिवको दाबी गरेका शक्ति बस्नेत र वरिष्ठ उपाध्यक्ष दाबी गरेका मातृका यादवलाई पनि उपमहासचिव बनाउने प्रचण्डको तयारी रहेको उनीनिकट एक नेताको भनाइ छ । ती नेताका अनुसार सचिवमा भने केही नयाँ अनुसार, महिला, दलित, जनजातिबाटसहित ९ जना चयन गर्ने तयारी गरेका छन् ।