Bagmati Samachar Logo

एमाले राजावादीको आडमा चुनाव लड्दै छ : चित्रबहादुर केसी

काठमाडौं । पाँच दलिए सत्ता गठबन्धन मध्यको एक दल राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा एमाले राजावादीहरुको आडमा चुनाव लड्न लागेको बताएका छन्।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा भएपछिको सन्दर्भमा एक विज्ञप्ति जारी गर्दै केसीले हिन्दू राज्य र राजतन्त्र ‘पुनर्स्थापना’ गर्ने राजावादीहरुको उद्देश्यलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘प्रतिगामी’ राजनीतिले मद्दत गरिरहेको आरोप लगाएका छन्।

एमालेले धर्मका साथै ‘राष्ट्रियता’लाई पनि चुनावी मुद्दा बनाएर चुनाव लड्ने नीति लिएको विषय सार्वजनिक भएको उल्लेख गर्दै केसीले भनेका छन्, ‘ओली नेतृत्वको एमालेले प्रतिगमनको दिशामा आफ्ना गतिविधि बढाउँदै लगेकोले राजावादीहरूले त्यसलाई समर्थन गर्न थालेका छन्। राजावादीहरूको राजतन्त्र र हिन्दूराज्य स्थापना गर्ने उद्देश्यलाई भारतका कट्टर हिन्दूवादी शासकहरूले पनि समर्थन जनाउँदै आएका छन्।’

धर्म निरपेक्षताको ठाउँमा हिन्दूराज्य र गणतन्त्रको ठाउँमा राजतन्त्र स्थापना गर्ने राजावादीहरूको उद्देश्यलाई ओलीको प्रतिगामी राजनीतिले मद्दत गरेकोले नै राजावादीहरूले ओलीलाई समर्थन गरेको केसीको भनाइ छ।

एमसीसी र नागरिकता विधेयकमा एमालेको सरकारलाई पूरा समर्थन रहेकोले नै ती दुवै कुरा संसदबाट पारित हुँदा त्यसले कुनै भूमिका खेलेको थिएन वा संसदमा मौन रहेको थियो। लिपुलेक, लिम्पियाधुरा नेपालको नक्सामा सामेल गरी चुच्चे नक्सा पारित गर्नका लागि देशमा पहिलेदेखि नै संघर्ष र आन्दोलन हुँदै आएका थिए। जनताको दवाबका कारणले आफ्नो सरकार भएको बेलामा ओली त्यो चुच्चे नक्सा पारित गर्न बाध्य भएको भए पनि उक्त चुच्चे नक्सा सामेल गरिएको पाठ्यक्रम प्रकाशन गर्न उनीहरूले लगाएको रोकबाट उनीहरूको राष्ट्रियताको मुद्दा कृत्रिम भएको कुरा प्रष्ट छ,’ केसीले भनेका छन्।

अहिले चुनावी तालमेल गरेका पक्ष (गठबन्धन)का दलहरुसँग आफूहरुको गम्भीर मतभेद रहे पनि प्रतिगमनलाई परास्त गर्न आफूहरु एकै ठाउँमा उभिएको केसीको भनाइ छ।