Bagmati Samachar Logo

देउवा बोल्न जाँदै थिए, ‘एमसीसीको मतियार’ भन्दै नारा लाग्यो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सार्वजनिक कार्यक्रममा बोल्न जादा विरोध भएको छ । विवादित नागरिकता विधेयक, अमेरिकी सहायता सम्झौता एमसीसी पास गरेको भन्दै सार्वजनिक कार्यक्रममै उनका विरुद्ध नारा लगाएको छ ।

विदेशबाट बिहे गरेर आउने महिलालाई तत्कालै नागरिकता दिने गरी बनेको नागरिकता विधेयक संघीय संसदको तल्लो सदनबाट पास भएर माथिल्लो सदनमा सोमबार छलफल भएलगत्तै देउवाले विरोधको स्वर सहनु परेको हो।

नागरिकता विधेयक राष्ट्रियसभामा विचार गरियोस् भनेर प्रस्ताव भइरहेका बेला देउवा सोमबार राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानले गरेको एक अन्तरक्रिया कार्यक्रममा सहभागी हुन पुगेका थिए।

प्रज्ञा प्रतिष्ठान कमलादीमा भएको उक्त कार्यक्रममा अन्य वक्ताहरूले बोलिसकेपछि बोल्नका लागि देउवालाई उद्घोषकले मञ्चमा बोलाए।

हलको पछिल्लो ढोकातिरबाट नागरिकता विधेयक खारेज गर, खारेज गर भन्दै प्लेकार्डसहित एकजना युवकले नाराबाजी गरे।

कार्यक्रममा बोल्न उठेका देउवा नाराबाजीले अक्क न बक्क भए। तर तत्कालै उनका निजी सुरक्षागार्डले देउवालाई मञ्चतिर लगे।

नागरिकता विधेयकविरुद्ध नाराबाजी गरेका युवकलाई त्यहाँ तैनाथ सुरक्षाकर्मी र स्वयंसेवकले तत्कालै नियन्त्रणमा लिएर। तर नियन्त्रणमा लिँदा पनि ती युवकले देउवाविरुद्ध नारा लगाइरहे।

ती युवकलाई नियन्त्रणमा लिइसकेको अवस्थामा हलबाटै अर्का व्यक्ति नाराबाजी गर्दै निस्किए। उनले देउवालाई एमसीसीको मतियार भन्दै आलोचना गर्दै नारा लगाए।

एमसीसीको मतियार शेरबहादुर देउवा मुर्दावाद, राष्ट्रियताको रक्षा गरौं र स्वाधीनताको रक्षा गरौँसहितका चर्का नारा लगाएका ती अर्का व्यक्तिलाई पनि प्रहरीले पक्रिएको छ।

यसैबीचमा देउवालाई सुरक्षाकर्मी र स्वयम् सेवकले पोडियममा पुर्‍याएका थिए। उनले विरोधकाबीच उक्त कार्यक्रममा आफ्ना भनाइ राखेर कार्यक्रमस्थलबाट बाहिरिए।