Bagmati Samachar Logo

नागरिकता विधेयकले देश संकटमा पर्‍यो : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित गरेर देश संकटमा परेको बताएका छन् ।

माओवादीकै साथ लिएर कांग्रेस नेतृत्वको सरकारले नागरिकतासम्बन्धी विवादित विधेयक संसदबाट पारित गराएकोमा उनले सरकार र सत्तारुढ गठबन्धनप्रति आक्रोश व्यक्त गरे।

अन्तर वस्तु र पद्धति दुवै हिसावले गलत ढंगले विधेयक प्रतिनिधिसभाबाट सत्तारुढ गठबन्धनले पारित गराएको भन्दै उनले आलोचना गरे ।

आइतबार पुष्पलाल मित्रता केन्द्रद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले उक्त विधेयक पारित गराउन नहुने विषयमा आफूले पार्टीमा, राष्ट्रियसभामा बोले पनि त्यसलाई बेवास्ता गरिएको गुनासो गरे।

दलहरुमा वैचारिक(राजनीतिक स्खलन भएपछि यस्तो अवस्था आएको नेता श्रेष्ठले जिकिर गरेका छन्।

‘अहिलेको गठबन्धन सरकारले नागरिकतासम्बन्धी विधेयक यसरी ल्याउन मिल्छ ? यो अन्तर वस्तु र पद्धति दुवै कोणबाट गलत छ भन्ने कुरा मैले त यो पारित गर्नु अघि नै राखेको छु , राष्ट्रिय सभामा बोलेको छुु, उनले भने, ‘पारित गर्नुअघि ठाउँमा बोल्नु छैन। आफ्नो पार्टीमा पनि राखेँ। राष्ट्रियसभामा पनि बोलेँ। त्यो पारित भएपछि किन गलत छ भनेर त मैले सार्वजनिक बहस गरिसकेँ। यसबारे विचारको समस्या होइन। वैचारिक–सांस्कृतिक स्खलनको समस्या हो। निष्ठा कमजोर हुँदै गएको समस्या हो। तत्कालीक राजनीतिक स्वार्थहरुबाट प्रेरित हुँदै गएको समस्या हो । त्यसकारण चुनौती बढेको हो। र, खतरा पैदा भएको हो।’

नेता श्रेष्ठले दलहरुले तत्कालीक राजनीतिक स्वार्थ प्रेरित भएर अघि बढने गरेकाले पनि मुलुकको राष्ट्रियता खतरामा पर्दै गएको दोहोर्‍याएका छन्।