Bagmati Samachar Logo

संसद विघटन गरेर गणतन्त्र नै खारेज गर्ने षड्यन्त्र हामीले सफल हुन दिएनौँ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेर गणतन्त्र र संघीयता खारेज गर्न खोजेको बताएका छन् ।

सर्लाहीको सोल्टी बजारमा शनिबार दिउँसो माओवादी केन्द्र बागमती नगर समितिको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले ओलीको नाम नलिइ यस्तो बताएका थिए ।

गत वर्ष ओलीले संविधान,संसद् र संघीय गणतन्त्र नै खारेज गर्न खोजे पनि आफूहरुले असफल पारिदिएको जिकिर प्रचण्डले गरे।

‘नेपालमा गणतन्त्र सम्भव छैन भनेर कराउने र संघीयताविरुद्ध प्रचार गर्नेले गत वर्ष संसद विघटन गरेर संघीय गणतन्त्र नै खारेज गर्ने षड्यन्त्र गरेका थिए’, उनले भने तर, ‘हामीले त्यसलाई सफल हुन दिएनौँ।’

अबको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा माओवादीको पक्षमा देशव्यापी जनलहर आउने दाबी पनि प्रचण्डे गरेका छन्।

आफ्नै पहलमा देशबाट नागरिकताको समस्या सधैँलाई समाधान भएको भन्दै उनले नागरिकताबाट बञ्चित सात लाख युवाले अधिकार पाउने विश्वास पनि व्यक्त गरे।

कार्यक्रममा नेपाली कांग्रेस सर्लाही क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति जबाहर कुशवाहा, जिल्ला सदस्य पशुपति कार्की, एमाले बागमती नगर कमिटी सचिव हरि खड्का, उपसचिव मीना कार्कीसहित नेता कार्यकर्तालाई प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अबिर र माला लगाउँदै स्वागत गरे।

कांग्रेस, एमाले, नेकपा (एकीकृत समाजवादी), विप्लव नेतृत्वको नेकपा, राप्रपा र मधेशवादी दलका गरी झण्डै एक हजार नेता कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गरेका माओवादीका युवा नेतासमेत रहेका बागमती नगरपालिकाका मेयर भरत थापाले दाबी गरे।