Bagmati Samachar Logo

गठबन्धन रहे एमालेलाई सहजः महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ५ दलको गठबन्धन कायम रहेपनि आगामी निर्वाचनमा आपफ्नो पार्टीलाई प्रतिस्पर्धा गर्न र विजय हासिल गर्न सहज हुने बताए । पोखरेलले भने, ‘आउने निर्वाचनका सन्दर्भमा पाँच दलीय गठबन्धन कायम राखियो भने पनि नेकपा एमाले प्रतिस्पर्धा गर्न र विजय हासिल गर्न सक्षम छ भन्ने कुरा म तपाईँहरुका बीचमा राख्न चाहान्छु ।’

उनले स्थानीय निर्वाचन र आउने निर्वाचनमा केही भिन्नता हुने भन्दै स्थानीय निर्वाचनमा संस्थापनको विपक्षमा रुझान देखिएको बताए । ‘आम चुनावका बेला सत्ताको नेतृत्व विरुद्धको रुझान कायम रह्यो भने यो गठबन्धनका विरुद्ध चुनाव लड्न र विजय हासिल गर्न सहज हुनेछ भन्ने कुरा बुझ्न जरुरी छ । त्यसर्थमा आउने निर्वाचन एमालेकै पक्षको निर्वाचन हुनेछ भन्ने हाम्रो बुझाई र विश्लेषण छ’, पोखरेलले पार्टीको विश्लेषण सुनाए ।

उनले गठबन्धन एमालेलाई रोक्न बाहेक हरेक कुरामा असफल दावी गरे ।

महासचिव शंकर पोखरेलले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को असली उत्तराधिकारी नेकपा एमाले नै भएको पनि बताए । पोखरेलले तत्कालीन नेकपामा माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्ड लगायतले अध्यक्ष ओलीमाथि लगाएका आरोप गलत सावित भैसकेको भन्दै नेकपाभित्रको आन्तरिक अन्तर संघर्षका कारण नै अहिलेका राजनीतिक परिदृश्यहरु देखिइरहेको आफुले स्वीकार्ने बताए ।

‘नेकपाभित्रको अन्तर संघर्षमा केपी ओली र उहाँका पक्षमा उभिएकाहरुमाथि प्रचण्ड र माधव नेपालहरुबाट लगाइए उहाँहरु अलग भइसकेपछि ती आरोपहरू गलत सावित भए’, महासचिव पोखरेलको भनाइ छ । ओलीलाई नेकपाको निरन्तरताको पक्षमा नभएको भनेर आरोप लगाएपनि नेकपाबाट बनेका तीन पार्टीमध्ये प्रचण्ड र माधवले नेतृत्व गरेका पार्टीमा नेकपा नदेखिने बताए ।

‘प्रचण्डको पार्टी हेर्ने हो भने त्यहाँ नेकपा देखिँदैन, माओवादी मात्रै देखिन्छ, माधव नेपालको पार्टीमा पुर्व एमाले मात्रै देखिन्छ’, पोखरेलले भने, ‘कमरेड केपी ओलीको नेतृत्वमा रहेको पार्टी छ जहाँ नेकपाको अनुहार देखिन्छ ।’