Bagmati Samachar Logo

नेकपा एसले तत्काल कुनै पार्टीसंग एकता नगर्ने भएको छ

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले तत्काल कुनै पनि पार्टीसंग एकता नगर्ने भएको छ । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले तत्काल कुनै पाटीसँग एकता नगर्ने बताएका छन् । आइतबार बानेश्वरमा बसेको संसदीय दलको बैठकलाई सम्बोधन गदै उनले अन्य पार्टीसँग एकता गरेर जाने कुराहरु तत्काल नरहेको बताएका छन् । हरेक जिल्ला जिल्लामा संगठन रहेका छन् । अब राष्ट्रिय सम्मेलन गरेर त्यसलाई अझै मजबुद बनाउने बताएका छन् । नेपालले पार्टीको संगठन विस्तार गर्दै बलियो बनाउन सांसदहरुलाई निर्देशन समेत दिए ।

 

नेपालले संसदीय दलको बैठकमा आफ्नो दलका सांसदहरुलाई सम्बोधन गर्दै ओलीले एमाले पार्टी तहसनहस पारेको आरोप लगाएका छन् ।

ओलीले पुस ५ गते संसद विघटन गरेर प्रतिगमनको यात्रा सुरु गरेको नेपालले बताएका छन् । उनले भने ‘पुनःस्थापित संसदमा आफूले विश्वासको मत नपाएपछि पुन संसद विघटन गर्दै आफ्नो पक्षमा बहुमत छ भनेर राष्ट्रपतिकोमा दावी गरेर लाजमर्दो काम गरे । संसदबाट अविश्वासको मत नपाउने वित्तिकै राजीनामा गर्नुपर्नेमा उल्टै बहुमत दावी गर्नु आश्चर्यको थियो।’

नेपालले ओलीको चिन्तनमा विचलन भएकोले व्यवहारमा पनि विचलन आउँदा त्यसले ठूलो क्षेत्रलाई प्रभाव पारेको बताए । उनले भने– ‘म नै सर्वेसर्वा, म नै पार्टी भन्ने चिन्तनको विकास भएकोले त्यसको असर सरकार, पार्टी, कार्यकर्ता, समाजमा असर पर्यो । उनले पूर्व प्रधानन्यायाधीश, नागरिक समाजका सदस्य, मिडियाकर्मी कसैलाई बाँकी राखेनन् ।’