Bagmati Samachar Logo

ओलीले बोलाएको स्थायी कमिटी बैठकमा नेपाल पक्षद्धारा बहिष्कार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको स्थायी कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बहिष्कार गर्ने भएको छ ।

ओली पक्षका पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले आइतबार अपरान्ह ४ बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको जानकारी दिएका छन् ।

पार्टीमा कुनै सहमति नभएर एकलौटी रूपमा बोलाएको कुनैपनि बैठकमा आफूहरू सहभागी नहुने स्थायी किमिटी सदस्य मुकुन्द न्यौपानेले बताए । उनले भने ‘पार्टीको स्थायी कमिटीको बैठक नबसेको धेरै भयो । अहिलेपनि पार्टीको कुनै बैठक छैन । ओली गुटको बैठकमा हामीहरू किन जानु । जादैनौ । हाम्रो स्थायी कमिटीको बैठक माधवकुमार नेपालले बोलाउने हो । हामी बालुवाटारमा बैठक बस्न नगएको एक बर्ष भयो । आज पनि जादैनौ ।’

स्थायी कमिटी बैठक बालुवाटारमा बस्ने भन्दै पार्टी कार्यलयका सचिव तामाङले नेपाल पक्षका स्थायी कमिटी सदस्यलाई पनि जानकारी गराएको बताएका छन्। नेपाल पक्षका नेताहरूले बैठकबारे आफूहरूलाई एसएमएस आएको बताए । तर आफूहरू पार्टी एकताको बारेमा कुनै सहमति नभएर बैठकमा नजाने बताए ।

अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच सिंहदरबारमा कार्यदलको बैठक भइरहेका बेला ओलीले सल्लाह नै नगरी स्थायी कमिटी बैठक बोलाइएको नेपाल पक्षको आरोप छ ।