Swornakshar Logo

म्याग्दीको गुर्जा हिमाल आरोहण गर्न गएका ९ जनाको मृत्यु

२७ असोज ।

हेटौडा ।म्याग्दीको धौलागिरि गाउँपालिका १ मा पर्ने गुर्जा हिमाल आरोहणमा गएका ८ जनाको मृत्यु भएको छ । अर्का एकजना वेपत्ता छन् । मृत्यु हुनेमा ५ जना दक्षिण कोरियाली नागरिक र ४ जना नेपाली रहेका छन् ।

काठमाडौंको प्रोजेक्ट वे नामक ट्रेकिङ एजेन्सीबाट पाँच जना कोरियन नागरिक र चार जना नेपाली भरियाहरु गुर्जा हिमाल चढ्न गएका थिए । उनीहरु हिम पहिरो र आँधीमा परेका थिए ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी बीरबहादुर बुढामगरका अनुसार घटनास्थल विकट भएकाले उद्धार र खोजी कार्य प्रभावित भएको छ । शनिबार बिहान पोखराबाट गएको हेलिकोप्टर पनि अवतरण गर्न नसकेर फर्किएको छ । मौसममा सुधार भएपछि मध्याह्न पुनः खोजीमा जाने बुढामगरले जानकारी दिए ।

‘आज बिहान पोखराबाट गएको टोलीबाट ८ जना मान्छेको शव देख्यौं भनेर रिपोर्ट आएको छ,’ डिएसपी बुढामगरले भने, ‘तर मौसम खराब भएकाले हेलिकोप्टर बस्न नसकेर फर्किएको छ ।’

गुर्जा हिमाल चढ्नका लागि आरोहण टोली गुर्जा गाउँबाट २१ गते बेसक्याम्पतर्फ हिँडेको थियो । टोलीमा भरिया गुर्जा गाउँकै बासिन्दा थिए । तर उनीहरु सम्पर्कमा नआएपछि स्थानीयबासी खोजीका लागि शुक्रबार बेसक्याम्प गएका थिए ।

त्यहाँ जाँदा टेन्टहरु उडाएको, चिन्न नसकिने शवहरु फेला परेको देखेपछि उनीहरु शुक्रबार साँझ गाउँ फर्किएर प्रहरीमा खबर गरेका थिए । ‘गाउँलेले खबर गरेपछि शनिबार बिहानैबाट खोजी र उद्धार टोली परिचालन भएको छ,’ डिएसपी बुढामगरले भने ।

पश्चिम हिमालको नामले समेत चिनिने गुर्जा ६ हजार ४६५ मिटर अग्लो छ । गुर्जा, चुरेन, गुर्जा पश्चिम, म्याग्दीमाथा, पुथा हिमाल रहेको गुर्जामा २०६५ सालपछि यस वर्ष मात्र हिमाल आरोहीको टोली आएपछि स्थानीयवासी उत्साहित भएका थिए ।