Bagmati Samachar Logo

कार्यक्षमताको हिसाबले प्रधानन्यायाधीश सिफारिस गरिएको हो : सरकारका प्रवक्ता

काठमाडौं । सरकारले डा. मनोजकुमार शर्मालाई कार्यक्षमताको हिसाबमा प्रधानन्यायाधीशमा सिफारिस गरिएको बताएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले सरकारले न्याय क्षेत्र सुधारको प्रयास गरेको दाबी गरेका छन् ।

उनले भने, ‘नीतिगत रूपमा नै कानुनी, संवैधानिक रूपमा नै धेरै कुरा सुधार गर्नुपर्छ भन्ने विषय त पहिलादेखि नै उठ्दै नै आएको हो। आजको दिनसम्म पनि हामीले विभिन्न न्यायपालिकाका, कार्यपालिका, व्यवस्थापिकालाई एक अर्काबाट टाढा राख्नुपर्छ।’

उनले अहिले न्याय परिषद् हेर्दा पनि पाँच जना सदस्यमध्ये तीन जना राजनीतिक नियुक्ति जस्तो देखिएको बताए।

उनले थपे, ‘त्यहाँबाट सिफारिस हुने न्यायाधीश पनि राजनीतिक पृष्ठभूमिको आइराख्नुभएको छ भन्ने कुरा आइरहेको छ। अब त्यहाँबाट संवैधानिक परिषद्को पनि आआफ्नै टिका टिप्पणी पहिलादेखि हुँदै नै आएको हो। सम्भवतः पहिलो पटक नै प्रधानन्यायाधीशको सिफारिस मुद्दाको फर्छ्यौटको हिसाबमा सिफारिस गरेका छौँ। यो पनि एउटा एकदमै पर्फेक्ट यही पद्धति हो भनेर पनि भन्न खोजेको होइन। तर उहाँको कार्यक्षमताको हिसाबमा सिफारिस भएको छ।’