Bagmati Samachar Logo

ह्वाइट हाउसनजिकै चल्यो गोली, राष्ट्रपति ट्रम्पलाई लगियो सुरक्षित स्थान

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प वासिङ्टनस्थित ह्वाइट हाउसमा पत्रकारहरूसँग स्थानीय समयअनुसार शनिबार राति डिनर गरिरहेका बेला बाहिर गोली चलेको छ।

बीबीसीका अनुसार त्यसपछि उनलाई हतार हतार बाहिर निकालेर सुरक्षित स्थानमा लगिएको छ।

ट्रम्पले आक्रमणकारीलाई पक्राउ गरिएको बताएका छन्।

डिनर भइरहेको हलमाथिको लबी क्षेत्रमा गोली चलेको बताइएको छ। जतिबेला राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भान्सलगायत हिल्टन होटलमा थिए।

कार्यक्रममा राष्ट्रपति ट्रम्प, उनकी श्रीमती मेलानिया र उपराष्ट्रपति भान्सलगायत धेरै जना वरिष्ठ अधिकारी थिए।

बाहिर गोली चलेपछि गुप्तचर सेवाले अतिथिहरूलाई टेबलमुनि बस्न भनेको थियो।

त्यसपछि लगत्तै ठुलो संख्यामा हतियारधारी सुरक्षाकर्मीहरू आएर घटनास्थल घेराउ गरेका थिए।

घटनापछि ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘वासिङटनमा आजको रात एकदमै व्यस्त थियो। सिक्रेट सर्भिस र कानुन प्रवर्तन एजेन्सीहरूले उत्कृष्ट काम गरे। उनीहरूले द्रुत गतिमा काम गरे। आक्रमणकारी पक्राउ परेको छ र म सुझाव दिन्छु( हामी कार्यक्रम जारी राखौँ।’

ह्वाइट हाउसमा आयोजना गरिने ‘कोरेसपोन्डेन्ट्स डिनर’ सञ्चारमाध्यम र राजनीतिबिचको विशेष वार्षिक कार्यक्रम हो। यो ह्वाइट हाउसका समाचार लेख्ने पत्रकारहरूको संगठन ‘ह्वाइट हाउस कोरेसपोन्डेन्ट्स एसोसिएसन’ले आयोजना गर्छ। जहाँ राष्ट्रपतिले आफू, आफ्ना विरोधी र मिडियाको मजाक उडाउँछन्।