आदिवासी जनजातिलाई ‘पैसामा बिक्ने’ भनेपछि विवादमा तानिइन् सोविता, महासंघद्वारा कारबाहीको चेतावनी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ एवं चितवन ३ की उम्मेदवार सोविता गौतम आदिवासी जनजाति समुदायप्रति अपमानजनक अभिव्यक्ति दिएपछि विवादमा तानिएकी छन् ।
सोविताले चुनावी सम्बोधनका क्रममा ‘आदिवासी जनजाति पैसामा बिक्ने’ भनी अभिव्यक्ति दिएको भन्दै नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला परिषद् सचिवालय चितवनले आपत्ति जनाएको छ ।
‘आफ्नो सम्बोधनका क्रममा उम्मेदवार गौतमले यस क्षेत्रका वीर, इमानदार र सचेत आदिवासी समुदायलाई ‘पैसाले किन्न सकिने’ र ‘बिक्न सक्ने वर्ग’ भनी जुन निकृष्ट टिप्पणी गर्नुभएको छ । त्यसले वर्षौंदेखि आफ्नो पहिचान, स्वाभिमान र अधिकारका लागि संघर्षरत आदिवासी जनजाति समुदायको मानमर्दन मात्र गरेको छैन, हाम्रो राजनीतिक चेतना र विवेकमाथि समेत गम्भीर प्रहार गरेको छ’, परिषद् सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
परिषद्ले यस विषयमा गौतमले माफी नमागे उनलाई चुनावमा बहिष्कार गर्ने चेतावनी दिएको छ ।
‘नेपाल आदिवासी जनजाति महासंघ चितवन क्षेत्र नम्बर ३ का सम्पूर्ण संयन्त्रहरू परिचालन गरी उक्त उम्मेदवारलाई ‘चुनावी बहिष्कार’ गर्ने र सशक्त आन्दोलनका कार्यक्रमहरू अगाडि बढाउने चेतावनी दिन चाहन्छ’, विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्: