Bagmati Samachar Logo

चुनावको मुखैमा पार्टी छोड्नेमा रास्वपाका धेरै, कसैले टिकट नपाएको झोँकमा त कसैले अनियमिता गरेको आरोप लगाए

काठमाडौं । देशभरी चुनावी माहोल छ । राजनीतिक पार्टीहरु अहिले चुनावमा होमिएका छन् । राजनीतिक पार्टीहरु घरदैलोदेखि भेला सम्मेलन र भ्याएसम्म विवाह भोज भतेरमा पनि सरिक भइरहेका छन् ।
यतिमात्र होइन लामो सयमदेखि राजनीतिमा जमेका नेताहरु दलबदल अभियानमा पनि लागेका छन् । हरेक पार्टीमा अहिले नेताहरु दलबदल गरिरहेका छन् । तर आफूलाई नयाँ भन्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई छोड्नेमा सबै भन्दा बढी नेताहरु छन् । जब कि नयाँ हुँ भन्दै दाबी गरिरहेको रास्वपाको यो दोस्रो चुनाव हो । तर उसको पार्टीमा अघिल्लो पटक सांसद भएका नेताहरु नै उससँग छैनन् । यहाँसम्म कि मन्त्री भएकाहरु पनि रास्वपामा तीन वर्ष टिक्न सकेनन् ।

चुनावको मुखैमा पनि रास्वपा छोड्नेको लर्को नै लागेको छ ।

आइतबार नुवाकोटका रास्वपा नेता सुमन पाण्डेले पार्टी छोडे । उनले टिकटको आस गरेका थिए । तर उनले टिकट पाएनन् । २०७९मा रास्वपाबाट प्रतिनिधि सभाका लागि टिकट पाएर पराजित भएका पाण्डेले टिकटको आस गर्नु पनि राजनीतिमा जायज नै थियो तर उनले टिकट पाएनन् । उनी नुवाकोट– २ मा उनी १६ हजार ४७७ मत ल्याएर दोस्रो बनेका थिए । सो क्षेत्रबाट निर्वाचित नेपाली कांग्रेसका अर्जुननरसिंह केसीले २८ हजार १०७ मत ल्याएका थिए भने तेस्रो भएका एमालेका नारायण खतिवडाले १५ हजार ५६१ मत ल्याएका थिए । २०७४ सालको प्रतिनिधिसभा चुनावमा खतिवडा निर्वाचित भएका थिए ।

पाण्डेले वडा तहसम्म रास्वपाको संगठन विस्तार गरेका थिए । तर, आगामी प्रतिनिधिसभाको चुनावमा रास्वपाले बागमती प्रदेश सभापति अच्युतम लामिछानेलाई टिकट दियो । पाण्डे हेरेको हेरै भए । अन्त उनी पार्टीबाट बाहिरिए ।

पुराना पार्टीलाई आलोचना गरेर नथाक्ने रास्वपामा सबै भन्दा बढी नेताहरुले पार्टी छोड्नुलाई राम्रो मानिएको छैन ।

सोमबार रास्वपा मकवानपुरका सभापति भरत पराजुली कांग्रेस प्रवेश गरेका छन् । कांग्रेस प्रवेश गर्नुअघि उनले सर्लाही पुगेर कांग्रेस सभापति गगन थापासँग भेट गरेका थिए ।
पराजुलीले पनि २०७९ सालको चुनाव लडेका थिए । उनले १२ हजारभन्दा बढी भोट पाएका थिए । सीमित व्यक्तिहरूको प्रभाव, चाकरीवाद, आलोचनालाई अस्वीकार गर्ने संस्कार तथा आन्तरिक लोकतन्त्र कमजोर हुँदै गएको अवस्थाले आफूले पार्टी छोडेको पराजुली बताउछन् ।

समय क्रममा पार्टीभित्र देखिएका प्रवृत्तिहरूले आफूलाई गम्भीर रूपमा सोच्न बाध्य बनाएको उनी बताउछन् । रास्वपामा जुन उद्देश्य, मूल्य र आदर्शका लागेका भएपनि नेतृत्वको व्यवहारमा त्यसको ठीकविपरीत अवस्था विकसित हुँदै गएको महसुस भएपछि पार्टी छोडेको उनी बताउछन् ।

६ फागुनमा रास्वपा मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्मा नेपाली कांग्रेसमा प्रवेश गरिन् । जनकपुरधामको तिरुहुतियागाछीमा आयोजित कांग्रेसको प्रतिज्ञासभामा उनलाई पार्टी केन्द्रीय सभापति गगनकुमार थापाले कांग्रेसमा स्वागत गरेका थिए ।

पार्टी प्रवेश गरेसँगै उनले रास्वपामा दागैदाग भएकाहरूको बिगबिगी रहेकाले कांग्रेसमा प्रवेश गरेको बताइन् । उनले प्रतिज्ञासभामा बोल्दै उनले भनिन्, ‘रास्वपा पार्टीमा दागैदाग भएकाले टिकट पाएपछि आफूले गरेको योगदान खेर गयो । त्यसैले उक्त पार्टी परित्याग गरी जेन–जीको भावना बोक्ने र सुशासनको काममा जोड दिने पार्टी नेपाली कांग्रेसमा म प्रवेश गरेकी हुँ ।’

रास्वपा सभापति रवि लामिछानेनिकटका प्रणयशमशेर राणाले पार्टीमा बेथिति भित्रिएको भन्दै रास्वपा परित्याग गरेका थिए । ‘सबै बेथितिका बावजुद मुकदर्शक भएर पार्टीमै रहिरहन मेरो विवेक र इमानले नमानेका कारण आजको मितिबाट रास्वपाको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा गरेको व्यहोरा जानकारी गराउँदछु,’ उनले राजीनामा भनेका थिए ।

गत बुधबार रास्वपा नेता खेमकुमारी भुर्तेल (उर्मिला)ले रास्वपा परित्याग गरेकी थिइन् । उनले पनि पार्टीमा विकृति र आर्थिक अनियमितता बढेको आरोप लगाएकी छन् । समानुपातिक र प्रत्यक्षका उम्मेदवारमा चलखेल भएको उनको आरोप छ ।

त्यस्तै, बिहीबार बागमती रास्वपाका उपसभापति दिनेश हुमागाईंले पनि पार्टीको नीति, नेतृत्व र उम्मेदवार चयनमा प्रश्न उठाउँदै रास्वपा परित्याग गरेका छन् । उनले मोबाइल पसलमा काम गर्ने, गीत गाउने र अभियन्ता बनेका चटकेलाई स्वार्थमा उम्मेदवार बनाएको, चाकडी गर्ने, खुसी पार्ने, वरिपरि घुम्ने ‘गणेश प्रवृत्ति’लाई प्रवेश दिएको, प्रत्यक्ष र समानुपातिक दुवैतर्फका उम्मेदवार चयनमा चरम चलखेल भएको आरोप लगाएका छन् ।

अपारदर्शी नेतृत्व, पार्टी संरचना सिद्धान्तभन्दा व्यक्तिकेन्द्रित भएको, सदस्यता र उम्मेदवार शुल्क उठाएर पारदर्शी हिसाब नदिएको, सभापति रवि लामिछानेमाथि सहकारी ठगी प्रकरण, प्रधानमन्त्रीमा प्रस्तावित बालेन शाहमाथि नागरिकता किर्तेको आरोपले नेतृत्वमा नैतिक प्रश्न उठेको विषय उठाउँदै उनले राजीनामा दिएका हुन् । हुमागाईंले २०७९ सालको निर्वाचनमा काभ्रे– २ मा रास्वपाबाट १० हजारभन्दा बढी मत ल्याएका थिए ।

त्यस्तै, रास्वपा दोलखाका नेता तथा बागमती प्रदेश समिति सदस्य हरि चौलागाईंले पार्टी परित्याग गरेका छन् । रास्वपाको संघीय निर्वाचन परिचालन समिति सदस्यसमेत रहेका चौलागाईं लामो समयदेखि पार्टीको संगठन विस्तार र निर्वाचन परिचालनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए ।

चौलागाईंले रास्वपाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी छोडेको बताएका छन् । ‘विरोधकै राजनीतिमा सीमित रहने, व्यवहारमा भन्दा भाषणमा बढी केन्द्रित शैली चित्त बुझेन,’ चौलागाईंले भने ।

७ फागुनमा नेकपा एमालेका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वमन्त्री रामवीर मानन्धरसहितका चार जना नेता नेपाली कांग्रेसमा प्रवेश गरे । काठमाडौंमा कांग्रेस सभापति गगन थापासँग प्रतिज्ञापत्रसम्बन्धी खुला प्रश्नोत्तर कार्यक्रममा उनीहरू कांग्रेस प्रवेश गरेका हुन् ।

पूर्वमन्त्रीसमेत रहेका मानन्धर २०७४ सालमा निर्वाचित सांसद हुन् । यसअघि २०४९ सालमा उनले वडा नम्बर १६ का वडा अध्यक्ष बनेका थिए ।

नेकपाका केन्द्रीय सदस्य दीपक केसी, रसुवा एमालेका पूर्वअध्यक्ष जनार्दन ढकाल र काठमाडौं– ५ का रास्वपाका नेता डा. प्रणयशमशेर राणा पनि कांग्रेस प्रवेश गरेका थिए । राणा २०७९ सालमा कांग्रेस छोडेर रास्वपा प्रवेश गरेर २०७९ सालको चुनावमा काठमाडौं ५ बाट उम्मेदवार बनेका थिए ।

जो नेकपा प्रवेश गरे

आइतबार नै एमाले परित्याग गरी कीर्तिपुर नगरपालिकाका पूर्वमेयर रमेश महर्जन र वडा नं ६ का पूर्ववडाध्यक्ष नुच्छे महर्जन नेकपामा प्रवेश गरेका छन् । उनीहरूलाई पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड तथा वामदेव गौतमलगायत नेताहरूले आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टी प्रवेश गराएका थिए ।

एमाले प्रवेश

एमाले दोलखाका संस्थापक नेता शिवप्रसाद भण्डारी पुनः एमालेमै फर्किए । उनीसँगै उनकी श्रीमती कल्पना भण्डारी र भीमेश्वर नगरपालिकाकी पूर्वउपमेयर शान्त बस्नेत पनि एमालेमा फर्किएका छन् ।

उनीहरूलाई सोमबार बिहान आयोजित पुनर्मिलन कार्यक्रममार्फत पार्टीमा औपचारिक रूपमा स्वागत गरिएको थियो । कार्यक्रममा पार्टीका उम्मेदवार पार्वत गुरुङ, नेता आनन्दप्रसाद पोखरेल, जितवीर लामा, लालकुमार केसीलगायत नेताहरूले उनीहरूलाई स्वागत गरेका थिए । भण्डारी तत्कालीन समयमा एमाले विभाजित बनेपछि बनेको एकीकृत समाजवादीमा थिए ।बैतडीमा नेकपा र कांग्रेसका नेता कार्यकर्ता आइतबार एमालेमा प्रवेश गरेका छन् ।

नेकपाका केन्द्रीय सदस्यद्वय दलबहादुर धामी, दीपेन्द्र कुँवर र नेपाली कांग्रेसका प्रदेश समिति सदस्य जनक बिष्टलगायत एमाले प्रवेश गरेका हुन् । कुवँर ’जनयुद्ध’ लडेका नेता हुन् । तत्कालीन नेकपा विभाजन हुँदा एमालेमा बसेका उनी पछि तत्कालीन माओवादी केन्द्रमा फर्किएका थिए ।

त्यस्तै, जसपा नेपालको तर्फबाट रुपन्देही– ३ का उम्मेदवार बनेका श्रीनिवास यादव आफ्नो उम्मेदवारी फिर्ता लिएर एमाले प्रवेश गरे । यादवले जारी गरेको विज्ञप्तिमा राजनीतिक स्थायित्व र निकासका लागि एमाले नै सबैभन्दा सक्षम तथा प्रमुख शक्ति बन्न सक्ने निष्कर्षमा पुगेको तर्क गरेका थिए ।

रास्वपा प्रवेश 

एमालेकी निवर्तमान सांसद सम्झना थपलिया रास्वपामा प्रवेश गरिन् । सोमबार सिरहाको गोलबजारमा आयोजित एक विशेष कार्यक्रमबीच थपलियासहितका एमाले नेता कार्यकर्ता रास्वपामा भित्रिए ।

उनीहरूलाई रास्वपाका नेता तथा समानुपातिक उम्मेदवार पुरुषोत्तम यादवले पार्टीमा स्वागत गरे । थपलिया २०७९ सालको निर्वाचनमा खस आर्यतर्फकी समानुपातिक सांसद हुन् ।

थपलियाले एमाले सिरहा जिल्लामा परिवारवाद हावी भएको र पुराना कार्यकर्ताको मूल्यांकन नभएको आरोप लगाउँदै पार्टी परित्यागको घोषणा गरेकी थिइन् ।

उता जनमतको नवरपरासीका प्रतापपुर अध्यक्ष धर्मेन्द्र हरिजन आइतबार रास्वपा प्रवेश गरे । दुई वर्षदेखि जनमत पार्टीमा सक्रिय हरिजनले नयाँ सोचसहित रास्वपा प्रवेश गरेको बताए । रास्वपा पश्चिम नवलपरासीका सभापति महेन्द्र सिंह ठकुरी र क्षेत्र नम्बर १ का उम्मेदवार विक्रम खनालले हरिजनलाई पार्टी प्रवेश गराएका थिए ।

उता प्रभु साह नेतृत्वको आम जनता पार्टीका धनुषा– ४ का उम्मेदवार सम्पत महतो रास्वपामा प्रवेश गरेका छन् । आइतबार आजपाका उम्मेदवार महतोलाई रास्वपाका उम्मेदवार राजकिशोर महतोले पार्टीमा स्वागत गरेका थिए ।