Bagmati Samachar Logo

कांग्रेस बाहिरिएका भोट फर्काउने रणनीतिमा, एमाले रास्वपाको लडाईमा जित्ने दाउमा नेकपा

काठमाडौं । २१ फागुनमा हुने चुनावका लागि विभिन्न राजनीतिक दलका उम्मेदवारहरू अहिले चुनावी प्रचारमा व्यस्त छन् । घरदैलो अभियानसँगै सामाजिक सञ्जालमार्फत प्रचारले तीव्रता पाएको छ । विशेषगरी कांग्रेस, एमाले र नेकपा एकातिर र रास्वपा अर्कोतिर भएर चुनावी भिडन्त चलिरहेको देखिन्छ ।

२३ र २४ भदौको जेन–जी आन्दोलनपछि भइरहेको चुनावमा रास्वपाको पक्षमा माहौल बढेको देखिन्छ । अहिले पुराना दलहरू आफ्नो शक्ति जोगाउने रणनीतिमा काम गरिरहेका छन् भने रास्वपा एकल बहुमत ल्याउने दाबीका साथ चुनावी अभियानमा होमिएको छ ।

गठबन्धनमा असन्तुष्टि

अघिल्लो चुनावमा नेपाली कांग्रेस, तत्कालीन नेकपा माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादीबीच चुनावी गठबन्धन भएको थियो । कतिपयले यसलाई अप्राकृतिक भनेका थिए । कांग्रेस र कम्युनिस्टबीच पहिलोपटक चुनावी गठबन्धन भएको थियो । दश वर्षे जनयुद्धमा आमनेसामने भएका दुई राजनीतिक शक्तिबीच भएको चुनावी गठबन्धनले अपेक्षाकृत नतिजा ल्याउन भने सकेन । नेताहरूले केन्द्रमा गठबन्धन गरे पनि तलका नेता कार्यकर्ता र मतदाताले कांग्रेस–कम्युनिस्ट गठबन्धन रुचाएनन् ।

अघिल्लो चुनावको परिणाम हेर्दा कांग्रेसले तत्कालीन माओवादी उम्मेदवारलाई मत नदिएको क्षेत्रमा पहिलोपटक चुनावमा होमिएको रास्वपा दोस्रो वा तेस्रो भएको छ । यसलाई कांग्रेसी मत रास्वपामा गएको अर्थमा विश्लेषण गरिने गरिएको छ ।

रास्वपाले अघिल्लो चुनावमा काठमाडौं २, ६, ७ र ८ बाट जितेको थियो । ललितपुर ३, चितवन १ र २ बाट पनि रास्वपाले चुनाव जितेको थियो । उपचुनावमा तनहुँ १ बाट जितेको थियो ।

यो पटकको चुनावमा सबै राजनीतिक पार्टीहरू एक्लाएक्लै चुनावी मैदानमा छन् । कसैको गठबन्धन छैन । यस्तो अवस्थामा सबै पार्टीहरूले आफ्नो वास्तविक जनमत थाहा पाउने अवसर पनि छ ।

गठबन्धन गर्दा नेता कार्यकर्ताले कति सम्म गर्छन् भन्ने उदाहरण काठमाडौं २ मा हेर्न सकिन्छ । यो क्षेत्रमा गठबन्धनको तर्फबाट तत्कालीन माओवादीले रोल्पा स्थायी घर भएकी पूर्वसभामुख ओनसरी घर्तीलाई उम्मेदवार बनाएको थियो । यहाँका स्थानीय नेता कार्यकर्तालाई उपेक्षा गरेर माओवादीले घर्तीलाई उम्मेदवार बनाएको थियो । संगठन बलियो भएको कांग्रेससँग गठबन्धन गर्दा पनि माओवादीकी घर्ती चौथो भइन् ।

किन संगठन नभएको रास्वपाले जित्यो भन्ने प्रश्नमा कांग्रेस नेता शंकर थापा रोचक जवाफ दिन्छन् । थापाका अनुसार अघिल्लो चुनावमा गठबन्धनबाट माओवादीकी उम्मेदवार घर्तीलाई ९० प्रतिशत कांग्रेसीले मत दिएनन् । उनी भन्छन्, ‘९० प्रतिशत कांग्रेसीले माओवादीलाई भोट दिएनन् । त्यो भोट रास्वपा र राप्रपालाई गयो । अब सबै कांग्रेसमा फर्कन्छ । जित सहज हुन्छ ।’

अहिले कांग्रेसको आफ्नै उम्मेदवार हुनु नै यो क्षेत्रमा कांग्रेसको लागि उत्साहको कुरा भएको थापा बताउँछन् । उनले भने, ‘पहिलो कुरा त कांग्रेस समर्थकले रुखमा मत हाल्न पाउँछन् । दोस्रो कांग्रेस विशेष महाधिवेशनबाट नयाँ भएर आएको छ । नयाँ नेतृत्व र नीति तयार गरेको छ । तेस्रो कांग्रेस कमीकमजोरी र गल्ती सच्याएर चुनावी मैदानमा उत्रेको छ ।’

अघिल्लो चुनावमा यो क्षेत्रमा रास्वपाकी सोविता गौतम १५ हजार २ सय ३८ मत पाएर विजयी हुँदा गठबन्धनकी घर्तीले ९ हजार ४ सय ५९ मत पाएर चौथो भएकी थिइन् । समानुपातिक परिणाम हेर्दा रास्वपाले १३ हजार ८७९, राप्रपा ११ हजार ८१६, एमालेले ९ हजार ५१४, कांग्रेसले ७ हजार १६७, माओवादीले २ हजार ९१५ मत पाएको थियो ।

काठमाडौं २ मा मात्र होइन, कांग्रेसले गठबन्धनमा मत नदिएको कञ्चनपुर १ मा पनि देखिन्छ । कञ्चनपुर १ मा गठबन्धनबाट माओवादी केन्द्रकी बिना मगर उम्मेदवार थिइन् । तीन पार्टीको गठबन्धन भए पनि कांग्रेसले मत नदिँदा मगरले पराजय भोग्नुपरेको थियो ।

मगर एक्लै चुनाव लडेको एमालेका उम्मेदवार तारा लामा तामाङसँग हारिन् ।

‘योपटक कांग्रेसका नेता कार्यकर्ता र मतदाताले रुखमा भोट हाल्न पाउनेछन् । त्यस कारण कांग्रेसले चुनाव जित्छ । यो क्षेत्रमा अघिल्लोपटक कांग्रेसका नेता कार्यकर्ताले माओवादीलाई भोट नहालेर रास्वपालाई भोट हालेका थिए । अब अरुलाई भोट हाल्दैनन् । कांग्रेसलाई नै भोट हाल्छन् ।’

अघिल्लो चुनावमा गठबन्धन हुँदा पनि कांग्रेसले माओवादी उम्मेदवार मगरलाई मत नदिएको बुझाई तत्कालीन माओवादीका नेता रामबहादुर देवकरको पनि छ । उनी भन्छन्, ‘नेताहरू माथि माथि मिलेर गठबन्धन गरे तर माओवादी र कांग्रेसका नेता कार्यकर्ताहरू र मतदाता मिलेका थिएनन् । जनयुद्धकालमा कांग्रेसले माओवादीका विरुद्ध सुराकी गरेका थिए । माओवादीले पनि सजाय दिएका थिए । जसका कारण कांग्रेसले मत दिएनन् ।’

गठबन्धनको विरुद्ध कञ्चनपुर क्षेत्र नंं एकका कांग्रेस महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि रहेकाले मगरलाई मत नदिएको कांग्रेसका महासमिति सदस्य होसियार विष्ट बताउछन् । उनले भने,‘त्यो समयमा हाम्रो इच्छा विपरित नेतृत्वले गठबन्धन गरेको थियो । त्यो गठबन्धनको पक्षमा तलका नेता कार्यकर्ता थिएनन् । त्यको परिणाम चुनावमा देखियो । नेता कार्यकर्ताले नस्वीकारेको हो । नेता कार्यकर्ताहरूले नस्वीकारेको गठबन्धनमा मत दिने कुरा भएन् । अर्का उहाँले ०७४ सालमा जितेर मन्त्री हुँदा पनि काम गर्नु भएको थिएन । जनताले मत दिएनन् ।’

यहाँ तामाङले २४ हजार ९४३ मत पाएर जितेका थिए । मगरले १९ हजार ४०० मत पाएर दोस्रो भएकी थिइन् । नागरिक उन्मुक्ति तेस्रो, राप्रपा चौथो र रास्वपा पाचौँ भएको थियो ।

समानुपातिक मतमा एमालेले १७ हजार ९५४,कांग्रेसले १४ हजार ८०६, माओवादी ९ हजार ६७७ , नाउपा ७ हजार ४३० र रास्वपा ४ हजार २३६ मत पाएर पाँचौ भएको थियो । तर गठबन्धनको समानुपातिक मत जोड्दा २४ हजार ९६३ हुन्छ । तामाङले २४ हजार ९४३ मतले जितेका थिए ।

कांग्रेसले गठबन्धन हुँदा पनि काठमाडौं र चितवनमा पनि तत्कालीन माओवादीलाई मत नदिएको कांग्रेस नै स्वीकार्छन् । काठमाडौं २ मा मात्र होइन ७ मा पनि माओवादीका उम्मेदवार अस्मिता सिंह ९मानुषि भट्टराई०लाई कांग्रेसले मत नदिएको देखिन्छ । जब कि त्यो समयमा युवा र पढेलेखेकालाई जनतालाई चाहेको भास्य बनेको थियो । तर मानुषि पढेलेखेकी युवा उम्मेदवार थिइन् ।

कांग्रेसले गठबन्धनमा भोट नदिदा मानुषिले ६३७ मतले हारेको कांग्रेसका नागार्जुन २ नंं वडाका सभापति राकेश महर्जन बताउछन् । उनले भने,‘माओवादीबाट पिडित सबै भन्दा बढी कांग्रेसका नेता कार्यकर्ता थिए । त्यो चोट बिर्सेका थिएनन् र मत पनि दिएनन् ।’
गठबन्धनमा माओवादीलाई मत नदिएर रास्वपालाई मत दिएको महर्जन स्वीकार्छन् । उनी भन्छन्, ‘कांग्रेसको सक्रिय

कार्यकर्तालेमात्र होइन । समितिमा बसेका नेताहरूले पनि समानुपातिकमा मात्र मत हालेर आए तर प्रत्यक्षमा मानुषिलाई मत दिएनन् । यो पटक कांग्रेसका नेताकार्यकर्ता र मतदाता रुखमा मत दिन्छन् । आफ्नो चुनाव चिन्हमा मत दिन तयार छन् । केहि रास्वपामा गएका नेताकार्यकर्ताहरूलाई घर फर्काइरहेका छौँ ।’

यो क्षेत्रमा समानुपातिक मत रास्वपाले प्रत्यक्ष भन्दा बढी पाएको छ । पत्यक्षमा गणेश पराजुलीले ८ हजार ७४३ मत पाउदा समानुपातिकमा १० हजार ५८८ मत पाएको छ ।

ललितपुर २ र ३ मा पनि त्यस्तै भएको छ । ललितपुर १ कांग्रेसको भागमा, २ तत्कालीन एस र ३ माओवादीको भागमा परेको थियो । तर कांग्रेसले १ बाट चुनाव जित्दा २ र ३ बाट गठबन्धनका उम्मेदवार पराजित मात्र भएनन् कि २ मा चौथो र ३ मा तेस्रो भयो ।

यो पटक कांग्रेसको उम्मेदवार भएकाले राप्रपा र रास्वपामा मत दिने मतदाता फर्कने ललितपुर क्षेत्र नं। २ का क्षेत्रीय सभापति महेश खड्का बताउछन् । उनी भन्छन्,‘माओवादी र कांग्रेसको सैद्धान्तिक र वैचारीक मत भिन्नता भएका पार्टी हुन् । ती पार्टीबीच गठबन्धन हुनु नै अमिल्दो थियो । कांग्रेसले कम्युनिस्टलाई मत हाल्नु भन्दा राप्रपा र रास्वपालाई मत हाल्नु सहज मानेर उता मत हालेका हुन् । अब आफ्नै पार्टीलाई मत हाल्छन् ।’

माओवादीलाई मत दिनु भन्दा कांग्रेसल रास्वपा र राप्रपालाई मत दिएको कुरा खड्का सहर्स स्वीकार्छन् । उनी भन्छन् , ‘कांग्रेसले कम्युनिष्टलाई मत हाल्दैनन् । हिजो माओवादीले सताएका कार्यकर्ता थिए । त्यहि भएर रास्वपालाई मत दिए । मत दिएपनि कांग्रेस छोडेका थिएनन् । अब कांग्रेसलाई मत दिन्छन् ।’

ललितपुर २ मा रास्वपाले समानुपातिकमा ११ हजार ८९५ मत पाएर पहिलो भएको छ । एमाले ११ हजार ८५ मत पाएर दोस्रो भएको छ । कांग्रेस ९ हजार २५२ मत पाएर तेस्रो भएको छ । माओवादी १ हजार ८७८ मत पाएर छैठौँ भएको छ ।

देशभरीको मत हेर्दा अघिल्लो पटक रास्वपा प्रत्यक्ष चुनाव नजितेका क्षेत्रमा तेस्रो चौथो भएको छ । समानुपातिक मत पनि चौथो भएको छ ।

अघिल्लो चुनावमा एमालेले २८,४५,६४१ मत, कांग्रेसले २७ लाख १५ हजार २२५ मत, तत्कालीन माओवादीले ११ लाख ७५ हजार ६८४ मत, रास्वपाले ११ लाख ३० हजार ३४४ मत, राप्रपाले ५ लाख ८८ हजार ८४९ मत, जसपाले ४ लाख २१ हजार ३१४ मत प्राप्त गरेको थियो ।

अघिल्लो चुनावमा रास्वपाले इलाम, झापाका १देखि ५ क्षेत्रमा रास्वपा तेस्रो भएको छ । शहरी जिल्ला मोरङ २ मा चौथो र ५ मा छैठौँ भएको थियो ।

सुनसरीका चार वटै क्षेत्रमध्य एकमा दोस्रो दुईमा तेस्रो र एकमा चौथो भएको थियो ।

प्रत्यक्षमा सप्तरी २ मा २८१, ३ मा २३७, ४ मा ५०२ मत पाएको छ । सिरहा १ मा ३०४ र ३ मा ४६३ मत पाएको छ ।

पुरानो मत अनुपातमा रास्वपा जित्नको लागि धेरै मेहनत गर्नु पर्ने छ ।

सबै पार्टीले आआफ्नो मत जोगाएमा संगठन बलियो नभएको रास्वपालाई चुनाव जित्न त्यति सहज देखिदैन । केहि सेलिब्रेटी उम्मेदवार बाहेक रास्वपाका अधिकांस उम्मेदवारहरू कांग्रेस, एमाले र तत्कालीन माओवादीबाट असन्तुष्ट बनेकाहरू छन् ।

सभापति रवी लामिछाने सबै भन्दा बढी विवादीत छन् । बरिष्ट नेता बालेन साहले पनि तीन वर्षमा काठमाडौंको मेयर हुँदा सन्तोषजनक काम नगरेको आरोप लागिरहेको छ ।

अझ उनले काठमाडौंको फोहर व्यवस्थापन गर्न नसक्नुमा विदेशी चलखेल भएको सार्वजनिक रुपमा बताए पछि देश चलाउन त झन चलखेल हुने तर्क आमरुपमा उठेको छ ।

अन्य राजनीतिक पार्टीहरूले अहिले मतदातासँग देश जलाउने भर्सेज देश बनाउनेबीचको लडाई भएकाले देश बनाउनेलाई मत दिनु पर्ने बताइरहेका छन् ।

जेन–जी आन्दोलनमा घाइते भएकाहरू नै अहिले बालेनका कारण आन्दोलनमा आएका तर बालेनले अहिलेसम्म वास्ता नगरेको भन्दै मिडिया र सार्वजकि रुपमा आक्रोस पोखिरहेका छन् । त्यसको असरपनि रास्वपालाई पर्ने छ ।