Bagmati Samachar Logo

कांग्रेसले जने–जी आन्दोलनलाई मानवअधिकार उल्लघन गर्नेलाई नछोड्ने, युवाहरुको विद्रोहबाट परिवर्तन चाहनालाई उच्च सम्मान

काठमाडौँं । नेपाली कांग्रेसले घोषणापत्रमा गत भदौ २३ र २४ गतेको नवयुवा विद्रोहको दमन र २४ गतेको विध्वंसमा भएका मानवीय क्षतिलगायत गम्भीर मानवअधिकार उल्लङ्घन तथा हिंसाजन्य ज्यादतीका घटनाहरूको यथाशीघ्र स्वतन्त्र, निष्पक्ष छानबिनमार्फत सत्य अन्वेषण तथा न्याय निरूपण गरिनु पर्ने माग राखेको छ ।
उसले घोषणापत्रमा घटनामा संलग्न दोषीहरूलाई कानुनको कठघरामा उभ्याई पीडितलाई न्याय सुनिश्चित गर्ने विषयमा नेपाली कांग्रेसको अविचलित प्रतिबद्धता रहेको पनि जनाएको छ ।

उसले भनेको छ, ‘युवा पुस्तामा देखिएको अभूतपूर्व जागरण हाम्रो समाजको जीवन्त राजनीतिक पूँजी र युगीन चेतनाको संवाहक हो । युवाहरूमा देखिएको परिवर्तनको त्यो उत्कट चाहनालाई नेपाली कांग्रेस उच्च सम्मानका साथ ग्रहण गर्दै जेनजी पुस्ता र नेपाल सरकारबिच भएको सम्झौतालाई कानुनसम्मत कार्यान्वयन गर्ने दृढता व्यक्त गर्दछ । राष्ट्र निर्माणमा युवा साझेदार र सहनिर्माता हुन् भन्ने मान्यतालाई आत्मसात गर्दै राजनीतिमा युवाको अर्थपूर्ण सहभागिता र निर्णायक प्रतिनिधित्व सुनिश्चित गर्न नीतिगत र संरचनागत प्रबन्ध मिलाउने प्रतिबद्धता मिलाउने दृढप्रतिबद्धता व्यक्त गरेको छ ।’

भ्रष्टाचारको समूल अन्त्य, सुशासनको प्रत्याभूति र सूचनाको हक सुनिश्चितताको माग युवाको मात्र होइन ? हरेक नेपालीको माग भएको कांग्रेसले बताएको छ । उसले भनेको छ , ‘सुशासनको प्रत्याभूति र विधिको शासनका निम्ति नेपाली कांग्रेस सम्झौतारहित सङ्कल्प गर्दछ । संविधानको मर्म र लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसात गर्दै जनभावना अनुरूप देशलाई सुशासनसहितको समुन्नतिको दिशामा अघि बढाउन नेपाली कांग्रेसले प्रभावकारी र नेतृत्वदायी भूमिका निर्वाह गर्ने छ ।’

नेपाली कांग्रेस पार्टीले आफ्नो स्थापनाकालदेखि नै इतिहासका विशिष्ट मोडमा युगान्तकारी निर्णय गर्दै समाजलाई अघि बढाएको थुप्रै नजिर रहेको दाबी गरेको छ ।

नेपाली कांग्रेसले २००३ सालदेखि शान्तिपूर्ण जनआन्दोलनको नेतृत्व गर्दै जहानियाँ राणा शासनका विरूद्ध २००७ सालमा जनक्रान्तिमार्फत् स्वतन्त्रता, नागरिक सर्वोच्चता, मानव अधिकार र प्रजातन्त्रको स्थापना जस्ता जनभावनालाई मुखरित गरेको घोषणापत्रमा उल्लेख गरेको छ ।