काँग्रेसले मात्र मुलुकलाई निकास दिन सक्छ : मुख्यमन्त्री बानियाँ
नवराज वाईबा
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली काँग्रेस बागमतीका प्रदेश सभापति इन्द्र बानियाँले आन्तरिक एकता र अनुशासनले मात्रै मुलुकका समस्या समाधान हुनसक्ने बताएका छन्।
नेपाली काँग्रेस मकवानपुरको बागमती गाउँपालिका–९, बेतिनीमा वडा इकाइ समितिद्वारा आयोजित अगुवा कार्यकर्ता भेला तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुक निर्वाचनको वातावरणमा प्रवेश गरिसकेको बताउँदै पार्टीभित्र अधिकतम एकताको आवश्यकता औंल्याए।
“देश चुनावमा छ, पार्टीभित्र पनि चुनाव हुँदैछ। अब आन्तरिक विवादमा रुमल्लिनु हुँदैन,” मुख्यमन्त्री बानियाँले चेतावनी दिँदै भने, “योग्य व्यक्तिलाई टिकट दिइनेछ, टिकट नपाउनेले अन्तरघातमा लाग्नुहुँदैन। अन्तरघातले काँग्रेस कमजोर भएको छ—अब यस्तो दोहोरिनु हुँदैन।”
बानियाँले नेपाली काँग्रेसले विगतका सबै राजनीतिक परिवर्तनमा नेतृत्व गरेको स्मरण गराउँदै आर्थिक समृद्धिको नेतृत्व पनि काँग्रेसले नै गर्ने दाबी गरे।
उनका अनुसार २००७ सालको प्रजातान्त्रिक आन्दोलनदेखि निरंकुश पञ्चायतको अन्त्य र माओवादी द्वन्द्व समाधानसम्म काँग्रेसले अग्रसर भूमिका खेल्दै आएको छ।
“काँग्रेस जनताको सेवाका लागि गठन भएको पार्टी हो। जनताको घर–आँगनमा पुगेर विश्वास जिते काँग्रेसको विजय सुनिश्चित छ,” उनले कार्यकर्तालाई आग्रह गरे।
कार्यक्रममा मुख्यमन्त्री बानियाँले मकवानपुर र ललितपुर जोड्ने मोटरेबल पुल निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता पनि जनाए।
त्यस अवसरमा काँग्रेस मकवानपुरका सभापति बुद्ध लामाले काँग्रेस सबैलाई समेट्न सक्ने पार्टी भएको उल्लेख गर्दै विकासका काममा भेदभाव नगरी अघि बढ्न पालिका नेतृत्वलाई आग्रह गरे।
उनका अनुसार बाटो, पुलसहितका विकासका दीर्घकालीन योजनामा काँग्रेस नै अग्रभागमा रहनेछ।
भेलामा ४० जना अगुवा कार्यकर्तालाई सम्मान गरिएको थियो। कार्यक्रममा काँग्रेस जिल्ला सहसचिव इन्दिरा न्यौपाने, क्षेत्रीय सभापति दामोदर खनाललगायत नेताहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्: