Bagmati Samachar Logo

नेविसंघले गर्‍यो ओली र लेखकमाथि अनुसन्धानको माग

काठमाडौं । नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले जेन–जी आन्दोलनमा भएको मानवीय क्षतिको जिम्मेवारी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकले लिनुपर्ने भन्दै उनीहरूलाई अनुसन्धानको दायरामा ल्याउन सरकारसँग माग गरेको छ ।

सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले आन्दोलनको सुरुवातदेखि नै सरकारको गैरजिम्मेवार र दमनकारी भूमिकाका कारण जनधनको क्षति भएको आरोप लगाउँदै तत्कालीन शीर्ष नेतृत्वलाई कारबाहीको प्रक्रियामा ल्याउन आग्रह गरेका हुन् ।

‘२३ भदौमा आन्दोलन सुरु भएको पहिलो दिनमै मानवीय क्षति भएको थियो,’ अध्यक्ष शेर्पाले भने, ‘त्यस दिन नै हामीले प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको राजीनामाको माग गरेका थियौँ । उनीहरू आजसम्म जिम्मेवारीबाट उन्मुक्त हुन सक्दैनन् ।’

शेर्पाले आन्दोलनको नेतृत्व काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले गरेको भन्दै सिंहदरबार जलाउने घटनालगायत विषयमा समेत मेयर शाहमाथि तत्काल छानबिन अघि बढाउन सरकारलाई आग्रह गरेका छन् ।

नेविसंघले २८ असोजदेखि आन्दोलनको क्रममा भएका आगजनी, तोडफोड र लुटपाटमा संलग्नहरूलाई कारबाही गर्न माग गर्दै देशभर विरोध प्रदर्शन गर्ने चेतावनीसमेत दिएको छ ।