Bagmati Samachar Logo

फरक फरक जेनजी समहुले भोलि काठमाडौंमा अलग–अलग प्रदर्शन

काठमाडौं । काठमाडौंको माइतिघरमा फरक फरक दुई एनटेजी नामक समूहले भोलि बिहीबार काठमाडौंमा शान्तिपूर्ण प्रदर्शन गर्न अनुमति लिएको छ । सुरेन्द्र केसी संयोजक रहेको समूहले भोलि काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्ने र त्यसका लागि प्रशासनबाट अनुमति लिइसकेको बताएका छन् । यो समुहले आज जारी गरेको विज्ञप्तिमार्फत २३ असोजमा हुने प्रदर्शनका लागि आमनागरिकलाई सहभागी हुन आह्वानसमेत गरेको छ ।

सर्वसाधारणलाई सम्बोधन गर्दै प्रवक्ता प्रदीप भट्टराईको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ, ‘महान् जेन–जेड आन्दोलनका मागहरू कार्यान्वयन गर्न, भ्रष्टाचारविरुद्ध, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली र देशको विकासका लागि गठित एनटेक जेड टिमले आफ्नो नीति, कार्यक्रम, योजना र दृष्टिकोण नेपाली जनतालाई बुझाउन बिहीबार माइतीघर मण्डलामा बिहान १० देखि दिउँसो ३ बजेसम्म शान्तिपूर्ण कार्यक्रम आयोजना गरिने यसै विज्ञप्तिमार्फत जानकारी गराउँछौँ । यस कार्यक्रमलाई सफल पार्न सम्पूर्ण नेपाली आमा–बुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक आह्वान गर्दछौँ । साथै, कार्यक्रममा कसैले कुनै प्रकारको घुसपैठ वा उच्छृंखल गतिविधि गर्न खोजेमा त्यस्ता व्यक्ति वा समूह कानुनी कारबाहीको भागीदार हुनेछन् ।’

यता, सुरुदेखि नै चर्चामा रहेका अन्य जेन–जी समूहहरू भने यस प्रदर्शनसँग सम्बद्ध छैनन् । ‘हामी नेपाली’का अनिल बानियाँ र अख्तियार प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तहरूको राजीनामा माग्दै आयोगमा औपचारिक पत्र बुझाएको जेनजी मुभमेन्ट अलाइन्स’का रिजन मगरले भोलि आयोजना हुने सडक आफ्नो समुहको सहभागिता नरहेको बताए ।

त्यस्तै, भोलि नै माइतीघरमा अर्को जेनजी समूहले पनि प्रदर्शन गर्न अनुमति लिएको छ । ‘जेनजी मुभमेन्ट’ले देशमा परिवर्तनका लागि युवाहरूले उठाएका मागहरूको स्मरण र उनीहरूको बलिदानको सम्मानस्वरूप भोलि माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्ने घोषणा गरेको छ ।

मुभमेन्टका प्रतिनिधिहरूले प्रमुख जिल्ला अधिकारीलाई निवेदन बुझाउँदै प्रदर्शनका लागि अनुमति र आवश्यक सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेका छन् ।

निवेदनमा भनिएको छ, ‘हामी युवापुस्ताको तर्फबाट जेन–जेड विद्रोहका क्रममा उठेका मागहरूलाई स्मरण गर्दै युवाहरूको बलिदान खेर नजाओस् र उनीहरूलाई न्याय मिलोस् भन्ने उद्देश्यले २३ असोजमा माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्ने निर्णय गरेका छौँ ।’

मुभमेन्टले प्रदर्शनलाई हिंसारहित, शान्तिपूर्ण र प्रजातान्त्रिक अभ्यासमा आधारित हुने जनाएको छ । साथै, कार्यक्रममा सहभागीहरूको सुरक्षाका लागि प्रशासनसँग सहकार्यको अपेक्षा गरिएको जनाएको छ । उक्त प्रदर्शनमा एनटेकजीसँग सहकार्य हुने पनि सो समूहका विजय शाहले बताए ।