नियमित फलोअफका लागि नारायणकाजी श्रेष्ठ चीनमा
काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ चीन गएका छन् । श्रेष्ठ नियमित स्वास्थ्य जाँचका लागि २८ साउनको राति चीन पुगेका हुन् ।
बीआरआईको तेस्रो सम्मेलनमा सहभागी हुने क्रममा चीनमा रहेका श्रेष्ठलाई २ कात्तिक २०८० मा हृदयाघात भएको थियो । सो क्रममा उनलाई बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा उपचार गरिएको थियो ।
त्यसैको नियमित जाँचका लागि अस्पतालले नै बोलाएकाले श्रेष्ठ चीन गएको श्रेष्ठको सचिवालयका एक सदस्यले शिलापत्रलाई जानकारी दियो । ती सदस्यले भने, ‘उहाँ नियमित जाँचका लागि चीन जानुभएको हो । चार दिन जाँच गरेर स्वदेश फर्कनुहुन्छ । अरु कुनै कार्यक्रम छैन ।’
२९ असोज २०८० मा उपप्रधान तथा गृहमन्त्री हुँदा बीआरआईको तेस्रो सम्मेलनमा भाग लिन श्रेष्ठ चीन गएका थिए । चीन भ्रमणमा रहेको समयमा नै २ कात्तिकमा श्रेष्ठलाई ह्रदयाघात भएको थियो । त्यो समयमा श्रेष्ठको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई रातारात बेइजिङस्थित एक अस्पतालमा भर्ना गरिएको थियो ।
बेइजिङमा उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो । बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज हस्पिटलमा पाँच दिनको उपचारपछि उनी डिस्चार्ज भएका थिए । २५ कात्तिक २०८० को बिहान उनी स्वदेश फर्केका थिए । त्यसैको नियमित जाँचका लागि श्रेष्ठ चीन गएका हुन् ।
प्रतिक्रिया दिनुहोस्: