उपभोक्ता अदालतको फैसलाविरुद्ध चिकित्सकहरुको आन्दोलन , इमर्जेन्सीमात्र खुल्ला
काठमाडौं । उपभोक्ता अदालतले चिकित्सकीय र अस्पताल बिरुद्ध मुद्दामा सुनाएको फैसला बिरुद्ध चिकित्सकहरु आन्दोलनमा छन् । चिकित्सकहरुले नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको भन्दै सोमबार (आज) देशभर इमर्जेन्सी बाहेकका सेवा बन्द गरेका छन् ।
देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले असार १७ गतेदेखि कालोपट्टी बाँधेर सेवा दिदै आएका थिए । आजबाट इमर्जेन्सी बाहेकका सेवा बन्द गरेका छन् ।
चिकित्सक संघले कानुन संशोधनमार्फत चिकित्सकीय मुद्दा हेर्ने अधिकार मेडिकल काउन्सिलमा मात्रै सीमित गरिनुपर्ने माग गर्दै आवश्यक परे थप कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ ।
आन्दोलन गर्नुको यस्तो छ कारण
केही साता यता उपभोक्ता अदालतले उपचारमा लापरवाही गरेको मुद्दामा बिरामीका आफन्तको पक्षमा फैसला गरेको थियो ।
उपभोक्ता अदालतले तीन अस्पताल र चिकित्सकलाई क्षतिपूर्तिको फैसला गरेको थियो । अदालतले गत असारमा महिलाले उपचारमा लापर्बाही भएको भन्दै परेको उजुरीमा ग्रान्डी सिटी अस्पताल र चिकित्सकलाई ५७ लाख १९ हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो ।
त्यस्तै चाबहिलस्थित ओम अस्पताललाई ५० लाख ७० हजार रुपैयाँ र उपचारमा भएको लापर्बाहीको मुद्दामा चिकित्सकलाई ६ लाख १० हजार रुपैयाँ क्षतिपूर्ति भराउने आदेश दिएको थियो । त्यस्तै उपचारमा लापर्बाहीका कारण बिरामीको मृत्यु भएको ठहर गर्दै हिमाल हस्पिटल र बिरामीको उपचारमा संलग्न चिकित्सकलाई दोषी ठहर गर्दै अस्पताल र चिकित्सकले १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको थियो ।
यसमा अस्पताललाई ७० प्रतिशत र उपचारमा संलग्न चिकित्सकले ३० प्रतिशत क्षतिपूर्ति तिर्नुपर्ने गरी फैसला भएको थियो ।
प्रतिक्रिया दिनुहोस्: