Bagmati Samachar Logo

आईटी क्षेत्रमा बजेट ७४ करोड

काठमाडौं । सरकारको आगामी आर्थिक वर्ष २०८२–८३ को बजेटमा सूचना तथा प्रविधि क्षेत्रमा ७४ करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले संसदमा आगामी वर्षको बजेट प्रस्तुत गर्दै डिजिटल पूर्वाधार निर्माण र प्रविधि इकोसिस्टम विकासका लागि ७४ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए ।

उनका अनुसार ‘डिजिटल नेपाल’ अभियानको दोस्रो संस्करण तयार गरिनेछ । डिजिटल साक्षरताका विशेष कार्यक्रम सञ्चालन गरिने सँगै नवीनतम प्रविधिको अनुसन्धान, विकास र नवप्रवर्तनमा जोड दिइनेछ ।

डाटा सेन्टरको पूर्वाधार निर्माण र सञ्चालनमा निजीक्षेत्रसँग सहकार्य गरिनेछ । हेटौँडास्थित डिजास्टर रिकभरी सेन्टरको क्षमता विस्तार गरिनेछ भने कोहलपुरमा निर्माणाधीन डाटा सेन्टर पनि सञ्चालनमा ल्याइनेछ ।

काठमाडौंमा सूचना प्रविधि पार्क स्थापना गरिनेछ । साथै, मध्यपहाडी क्षेत्रमा डाटा सेन्टर स्थापनाको सम्भाव्यता अध्ययन गरिने र त्यसका लागि स्वदेशी तथा विदेशी कम्पनीलाई जग्गा, अविच्छिन्न विद्युत् र सुरक्षा सुविधा उपलब्ध गराइनेछ ।

सरकारले क्लाउड पूर्वाधारको स्तरोन्नति गर्दै एकीकृत डाटा व्यवस्थापन केन्द्रलाई समेत सुधार गर्ने जनाएको छ । साथै, नेपालको आफ्नै भू–उपग्रह स्थापनाका लागि आधार तयार गरिनेछ ।

सूचना प्रविधिको निर्यात प्रवर्द्धनका लागि नीतिगत सुधार गरिनेछ । साथै, कृत्रिम बौद्धिकता र मेसिन लर्निङ प्रविधिको प्रयोग, अनुसन्धान र विस्तारका लागि निजीक्षेत्रसँगको सहकार्यमा एआई सेन्टर स्थापना गरिने भएको छ ।