Swornakshar Logo

प्रधानमन्त्रीले लिए कैलाश सिरोहिया गिरफ्तारीको जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारीको जिम्मेवारी लिएका छन् । बुधबार नेपालका प्रमुख सञ्चारगृहका सम्पादकहरूको संयुक्त पत्र बुझ्दै प्रचण्डले अदालतको आदेशअनुसार सिरोहियालाई समात्न प्रहरीलाई निर्देशन दिएको बताए ।

‘अदालतले नै पक्राउ गर्न आदेश दिइसकेको अवस्थामा मैले त्यसो नगरौँ भन्ने अवस्था भएन । त्यसैले कैलाशजीको पक्राउसम्बन्धी मैले जिम्मेवारी लिनुपर्छ, लिन्छु,’ सम्पादकहरूको पत्र बुझ्दै प्रधानमन्त्रीले भने ।

तर, उनको सचिवालयले भने मंगलबार सिरोहियालाई पक्राउ गर्ने विषयमा प्रधानमन्त्रीलाई जानकारी नरहेको सूचना प्रवाह गरेको थियो । नागरिकता किर्ते कसुरमा जिल्ला अदालत धनुषाले सिरोहियालाई पक्राउ गर्न अनुमति दिएको थियो ।

त्यसपछि प्रहरीले कान्तिपुरको मुख्यालयबाटै सिरोहियालाई पक्राउ गरी धनुषा लगेको थियो । अदालतले सिरोहियालाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।