Bagmati Samachar Logo

अर्थमन्त्री पुनसँग चन्द्र ढकालको आग्रह, निजीक्षेत्रको मनोबल बढाइदिनुस्

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विद्यमान आर्थिक समस्या समाधानका लागि पहिलो सर्त निजीक्षेत्र र सर्वसाधारणको मनोबल बढाउनु रहेको बताएका छन् । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनसँगको भेटवार्तामा बिहीबार अध्यक्ष ढकालले हालको विद्यमान अर्थतन्त्रको विषयमा ध्यानाकर्षण गराउँदै साना शहर र गाउँसम्म रकम प्रवाह गर्न सरकारले पुँजीगत खर्च बढाउनुका साथै पुनर्कर्जा सुविधा विस्तार गर्नुपर्ने बताए ।

उनले निर्माण व्यवसायीलाई बक्यौता रकम तिर्न पहल गर्न पनि मन्त्री पुनसमक्ष आग्रह गरे । ढकालले अर्थमन्त्रीलाई कोभिड समयमा लिएको व्यवसाय निरन्तरता कर्जाको सबै भुक्तानी भइसकेको उदाहरण दिँदै नेपाली व्यवसायी जिम्मेवार रहेको र सरकारले विश्वास गर्नुपर्ने बताए ।

अध्यक्ष ढकालले मन्त्री पुनलाई निजीक्षेत्रलाई निर्वाध काम गर्न दिइनुपर्ने बताए । निजीक्षेत्र भन्नाले ठूलो उद्योगदेखि गाउँको किराना पसलसम्म हो,ु अध्यक्ष ढकालले भने, ुसरकारले अत्याउने, धरपकड गर्ने, निरुत्साहित बनाउने काम हुनु हुँदैन र निजीक्षेत्रको मनोबल बढाउनुपर्छ ।ु

यसैगरी राजस्व कम उठिरहेको समयमा धरपकड गरी राजस्व उठाउने गरिएको बारे पनि अध्यक्ष ढकालले अर्थमन्त्री पुनलाई जानकारी गराए । चार वर्षअगाडि राजस्व टुंग्याएको विषयलाई महालेखा परीक्षकको कार्यालयले खोतल्ने र दण्ड दिने गरेको कुरामा पनि अध्यक्ष ढकालले अर्थमन्त्रीको ध्यानाकर्षण गराए ।

निजीक्षेत्रले उठाइरहेको मर्यादाक्रमको विषयमा पनि अध्यक्ष ढकालले अर्थमन्त्री पुनलाई जानकारी गराए । अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८७ प्रतिशत योगदान दिइरहेको निजीक्षेत्रलाई मर्यादाक्रममा राख्दा निजीक्षेत्रको मनोबल अझै बढ्ने उनले बताए ।

अध्यक्ष ढकालले जुनसुकै पार्टी भए पनि आर्थिक एजेन्डामा एकरुपता हुनुपर्ने माग गर्दै आइरहेको कुरा पनि अर्थमन्त्रीलाई अवगत गराए । उनले अर्थतन्त्र जटिल विषय भएकाले आर्थिक समस्या समाधानका लागि सबै पार्टी र पक्षको प्रतिबद्धता आवश्यक रहेको पनि बताए । भेटवार्ताको क्रममा अर्थमन्त्री पुनले निजीक्षेत्रलाई विश्वासमा लिएर अगाडि बढ्ने बताए ।