हेटौंडाको वन विज्ञान क्याम्पस वरपर यौनकर्मीहरुको आतंक , स्थानीय हैरान
हेटौंडा । हेटौंडा–४ र १० नम्बर वडाको वन क्याम्पस क्षेत्र वरपर यौनकर्मीहरुको अमर्यादित गतिविधिका कारण यो क्षेत्र अशान्त बन्नुका साथै
आपराधिक गतिविधिहरुसमेत हुन थालेका छन् ।
रातको ८ बजे देखि १ बजे सम्म वनविज्ञान अध्ययन संस्थान क्षेत्रमा तथा जंगलभित्रै यौन क्रियाकलापसमेत भइरहँदा पनि सम्बन्धित निकायले ध्यान नदिएको त्यस क्षेत्रका बासिन्दा तथा वन विज्ञान क्याम्पसका विद्यार्थीले गुनासो गरेका छन ।
त्यस क्षेत्रमा अमर्यादित कार्य भइरहँदा स्थानीय लगायत क्याम्पसका विद्यार्थीहरु र शिक्षकहरुमा असर परिरहेको गुनासो छ । यौन व्यवसायीहरुले फरेष्टीस्थित मुख्य रोडमै ग्राहकको प्रतिक्षा उभिएका हुन्छन् । साँझ परेपछि वरिपरिका पसलहरु समेत चाँडै नै बन्द गर्नुपर्ने बाध्यता बनेको व्यवसायीहरु बताउँछन् ।
वन विज्ञान क्याम्पस वरिपरिको स्थानमा यौनकर्मीहरु बीच नै झगडासमेत हुने गरेको स्थानीयहरु बताउछन् ।
पुस १ गते राति यौनकर्मीहरु बीच झगडा हुदा एकजना यौनकर्मीको टाउको फुटी गम्भीर घाइते भएको र उपचार गरिदिने सर्तमा दुबै पक्षमा मेलमिलाप भएको जिल्ला प्रहरी कार्यालय र अस्पताल स्रोतले बताए ।
यौनकर्मीहरु बीच भएको झगडाको घटनामा प्रहरी भ्यान सहित त्यही स्थानमा सोधपुछको लागि पुगेको थियो तर, यौनकर्मीहरु प्रहरीकै अघि खुलमखुला यौन क्रियाकलापबारे बार्गेनिङ गर्ने र ग्राहक जंगल जंगलमा लुकि रहेका थिए । लैंगिक तथा यौनिक अल्पसंख्यकहरुले यसरी आतंकित बनाउॅदा यस्तो क्रियाकलाप रोक्न प्रहरीले बेलाबेला उनीहरुलाई लखेट्नेबाहेक अरु केही काम नगरेको वन विज्ञान क्याम्पसका क्याम्पस प्रमुख शिव कुमार मानजनले बताए ।
‘प्रहरीले एकापट्टीबाट खेद्छन्, अर्कोतिरबाट फेरि उनीहरु आइहाल्छन् । यस्तो गतिविधि हुँदा हाम्रो क्याम्पसलाई साह्रै समस्या परेको छ । सडक विस्तार गर्ने नाममा वन विज्ञानको पर्खाल भत्काइएको र पुनः पर्खाल लगाउनको लागि कति मिटर छाडेर पर्खाल लगाउने भन्ने समस्या भएको छ । क्याम्पस क्षेत्रमा पर्खाल नभएको कारण यौन व्यवसायीलाई सहज भएको र उनीहरु क्याम्पस क्षेत्रको वनमा समेत प्रवेश गरी अमर्यादित क्रियाकलाप गदै आएका छन् ।’
क्याम्पस वरिपरी यौन धन्दा चलिरहँदा विद्यार्थीमा पनि त्यसको विकृति फैलिने हो कि भन्ने कुरामा प्रशासन चिन्तित रहेको उनले बताए ।
क्याम्पस परिसरमा ९ जना सुरक्षा गार्ड परिचालनका साथ १२ वटा सिसि क्यामेरा लगाइएको पनि उनले बताए । क्याम्पसले वन विज्ञान वरिपरि भइरहेको यौन क्रियाकलाप रोक्न प्रहरीसँगको सल्लाह अनुसार बत्तीसमेत राखेको छ ।
वन विज्ञान क्याम्पस स्ववियु सभापति दिपेन्द्र कँडेलले रातको ७ बजे पछि क्याम्पसमा अध्ययन गर्ने जोकोही बाहिर निस्कन डराउनुपर्ने अवस्था रहेको सुनाए । एक विद्यार्थीलाई केही समय अघि यौन व्यवसायीहरुले ताली बजाउने र लखेट्ने गरेको घटनासमेत उनले सुनाए ।
वन बिज्ञान अध्ययन संस्थानमा वातावरण तथा विज्ञान पढाउने शिक्षक गुलाव चौधरीले रातको समयमा यौनकर्मीहरुले चिच्याउने होहल्ला गर्ने कारण स्थानीय र वन विज्ञान अध्ययन संस्थानका विद्यार्थीलगायतलाई प्रत्यक्ष असर परेको बताए । वन क्षेत्रमा यौनकर्मीहरुले फोहोर गर्ने तथा स्थानीयले पनि फोहोर फाल्ने कारण प्रदुषण फैलिएको उनले बताए ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले यौन क्रियाकलाप रोक्न प्रहरी परिचालन गरेको भएता पनि समस्या नसुल्झिएको बताए । समस्याको दीर्घकालीन समाधान गर्ने बारे सबैले ध्यान दिनुपर्ने उनको भनाइ छ । यौनिक तथा लैङ्गिक अल्पसंख्यक यौनकर्मीलाई पक्राउ गरी ल्याउँदा हिरासतमा महिला र पुरुष कक्षमात्रै रहेको र उनीहरुलाई कुनमा राख्ने भन्ने समस्याले लखेट्ने गरेको भण्डारीको भनाइ छ ।
फरेष्टिमा फैलिएको यौनजन्य क्रियाकलाप नियन्त्रण गर्न खोज्दाखोज्दै पनि नियन्त्रण गर्न नसकिएको १० नम्बर वडा अध्यक्ष फुर्वा दोर्जे लामा बताउँछन् । विभिन्न सम्बन्धित निकायसँग लगातार समन्वय भइरहेको बताउँदै यो समस्या नियन्त्रण गर्न प्रहरीले नै तदारुकता देखाउनुपर्ने उनी बताउँछन् ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंले त्यस क्षेत्रमा केही समय अघि लागुऔषधको समस्या बारे गुनासो आएपछि प्रहरी थप परिचालन गरिएको बताउँदै यौन व्यवसायको समस्याबारे भने खासै जानकारी नभएको बताए । त्यस क्षेत्रमा थप प्रहरी परिचालन गर्नुको साथै सम्बन्धित व्यक्तिसँग छलफल गरी समस्या समाधानको प्रक्रिया अगाडि बढाउने उनले बताए ।
हेटौंडा अस्पतालको एआरटीको तथ्यांक अनुसार हेटौंडामा एचआईभी लागेका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको संख्या पनि ८ जना रहेका छन् । उनीहरुले अन्यमा संक्रमण सार्ने खतरासमेत रहेको छ ।
फ्रेन्स हेटौंडाको कार्यक्रम संयोजक सुरज किरणले विकृत क्रियाकलाप गर्नेलाई कारबाही गर्नुपर्ने बताइन् । कारबाही मात्रै दीर्घकालीन समस्याको समाधान नभएको भन्दै त्यसको लागि उनीहरुको व्यवस्थापन पनि जरुरी रहेको उनको भनाइ छ । समाज र परिवारबाट अवहेलनामा परी घर छोडी हिँड्नु परेको अवस्थामा अरु कुनै बिकल्प नभइ यौन व्यवसायको बाटो रोज्नु उनीहरुको बाध्यता रहेको पनि उनले बताइन् । स्थानीय सरकारले पनि यौनिक तथा लैङ्गगिक अल्पसंख्यक समुदायलाई कोटा दिनु पर्नेमा उनको जोड छ ।

प्रतिक्रिया दिनुहोस्: