Swornakshar Logo

मकवानपुरको थाहा नगरमा सुरु भयो ‘थाहा फिल्म फेस्टिभल’

हेटौँडा । मकवानपुरको थाहा नगरपालिकामा मिनी फिल्म सिटी बनाउने योजनाका साथ आजबाट पहिलो ‘थाहा फिल्म फेस्टिभल’ सुरु भएको छ ।

फिल्म फेस्टिभलको उद्घाटन गर्दै बागमती प्रदेशका उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले फेस्टिभलले थाहाको पर्यटन प्रर्वद्धनको साथै मिनी फिल्म सिटी निर्माणको उदेश्य पुरा हुने बताए । थाहा नगरपालिकाको इन्दायणी चौर क्षेत्रमा रहेको जेसिज हलमा फेस्टिबलको उद्घाटन भएको हो ।

काठमाडौंमा सिमाना रहेको थाहा नगरपालिका प्राकृतिक तथा सांस्कृतिकरुपमा धनी भएको भन्दै मन्त्री चित्रकारले सरकारले फिल्म उद्योगलाई ब्यवस्थित बनाउँदै फिल्म सिटीको अवधारणा अनुसार काम गर्नुपर्नेमा जोड दिए ।

उनले भने ‘ हामीले भारतको फिल्म उद्योग भन्नेवित्तिकै मुम्बईलाई सम्झन्छौँ, त्यहा ठूला फिल्मसिटीहरु निर्माण भएका छन्, हामीले नेपाली चलत्रिको विकासको लागि नेपालमा पनि यस्ताखाले फिल्म सिटिको अवधारणालाई अघि सार्नुपर्छ, त्यसको लागि थाहा नगरपालिका उपयुक्त स्थल हो । ’

फेस्टिभलमा थाहा नगरपालिकामा जन्मेर नेपाली कलाकारिता क्षेत्रमा योगदान दिएका दर्जन बढी श्रष्टाहरुलाई सम्मान गरिएको थियो ।

आजबाट सुरु भएको फेस्टिभलमा चलचित्र, लघु चलचित्र, म्युजिक भिडियो, भ्लग लगाएत प्रर्दशन हुने आयोजकले जनाएको छ । थाहा नगरमा चलचित्र छायांकनको स्थल विकास तथा प्रचार गर्ने गरि आयोजकले विभिन्न पर्यटकीय स्थलमा चलचित्रकर्मीलाई भ्रमण समेत गराउने छ ।

थाहा नगरपालिकाको मुख्य पर्यटकीय क्षेत्रहरुको पहिचान गरि फेस्टिभलमा बृत्तचित्र प्रर्दशन गरिने आयोजक थाहा कलाकेन्द्रका सानुबाबु मुक्तानले बताए । चलचित्र छायांकनको लागि उपयुक्त स्थलहरुको बारेमा फेस्टिभलमा आएका चलचित्र निर्माता, निर्देशक तथा कालाकारहरुलाई जानकारी दिनेगरि बृत्तचित्र तयार पारिएको मुक्तानको भनाई रहेको छ ।

कार्यक्रम अवधिभर थाहाको पर्यटकीय क्षेत्रको अवलोकन गर्ने थाहानगरको पर्यटन बढाउने तस्वीरहरु कार्यक्रम स्थलमा राखी अवलोकन गराइनेछ । यसैगरी चलचित्र, लघु चलचित्र, म्युजिक भिडियो, भ्लग तथा इत्यादिका निर्माता, निर्देशक, कलाकार तथा निर्माण पक्षलाई थाहा नगरपालिकासँग पारस्परिक गराउन प्रयास गर्ने आयोजकले जनाएको छ ।