Swornakshar Logo

ओमानविरुद्ध नेपालले ८४ रनले जित्यो ,कुशल मल्लको कीर्तिमानी शतक निर्णायक

काठमाडौं । नेपालले एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा ८४ रनले ओमानलाई पारजित गरेको छ । ३११ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको ओमानले ४६.३ ओभरमा सबै विकेट गुमाएर २२६ रन मात्र बनाउन सक्यो ।

ओमानका लागि मोहम्मद नदिमले ६५, सन्दीप गौडले ४६ र आयन खानले २९ रन बनाए । बलिङतर्फ नेपालका करण केसी र सन्दीप लामिछानेले समान ३–३ विकेट लिए । त्यस्तै, दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिँदा ललितनारायण राजवंशीले एक विकेट लिए ।

सन्दीपले विश्व कीर्तिमान बनाउने क्रममा एकै ओभरमा दुई विकेट लिए । आदिल शाफिकलाई आउट गरेसँगै सन्दीपले विश्व कीर्तिमान बनाए । उनले १२।३ ओभरमा विकेट लिए । १२।६ ओभरमा सन्दीपले ओमानका जिशान मक्सुदलाई शून्यमा आउट गराउँदै एकै ओभरमा दुई विकेट लिए । यसपछि सन्दीपले आफ्नो दोस्रो ओभरमै विकेट लिए । उनले काश्यप प्रजापतिलाई २५ रनमा आउट गराउँदै तीन विकेट लिएका हुन् ।

करणले मोहम्मद नदिम, फायाज बट, कलिमउल्लाहलाई आउट गराए । त्यस्तै, दीपेन्द्रसिंह ऐरीले ओमानका सन्दीप गौडलाई ४६ र आयन खानलाई २९ रनमा आउट गराएका थिए । त्यस्तै, ललितनारायण राजवंशीले जतिन्दर सिंहलाई १५ रनमा आउट गराए ।

यसअघि टीयू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा ३१० रन बनाएपछि ओमानले विशाल लक्ष्य पाएको हो । समूह ‘ए’ को खेलमा नेपालले ओमानलाई ठूलो लक्ष्य दिएको हो । नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो सबैभन्दा ठूलो स्कोर हो ।

नेपालको खराब सुरुवात

ओमानविरुद्धको खेलमा नेपालको अहिलेसम्मकै खराब सुरुवात भएको थियो । नेपालले ४।४ ओभरमा शून्यमै दुई विकेट गुमाएको थियो ।

दुवै ओपनर कुशल भुर्तेल र आसिफ शेख शून्यमै आउट भए । योसँगै नेपाल दबाबमा आएको थियो । सुरूका लगातार दुई ओभर रन बनाउन नसकेको नेपालले ३।२ ओभरमा पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई गुमायो । उनलाई बिलाल खानले आउट गराए । त्यसपछि ४।४ ओभरमा अर्का ओपनर आसिफ शेख पनि कलिमउल्लाहको बलमा बोल्ड आउट भए ।

योसँगै नेपालको ओडीआईमा अहिलेसम्मकै खराब सुरुवात भयो । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका भीम सार्की र चौथो नम्बरमा आएका कप्तान रोहितकुमार पौडेलले नेपालको पाली सम्हाल्ने प्रयास गरे । तर ५४ रन हुँदा तेस्रो विकेटको रुपमा कप्तान रोहितकुमार व्यक्तिगत २३ रन बनाएर आउट भए । रोहितले भीम सार्कीसँग ५४ रनको साझेदारी गर्दै नेपाललाई उकास्ने प्रयास गरे । ७२ रन हुँदा नेपालले चौथो विकेट पनि गुमायो । योसँगै नेपाल थप दबाबमा आयो ।

कुशल मल्लको कीर्तिमानी शतक

छैटौँ नम्बरमा ब्याटिङ गर्न आएका कुशल मल्लले उत्कृष्ट प्रदर्शन गर्दै शतक बनाए । उनले शतक बनाउँदै नेपाली टिमको खराब पालीलाई सम्हाले ।

उनले ५९ बलमा ९ छक्का र ९ चौका प्रहार गर्दै शतक पूरा गरेका थिए । उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट सर्वाधिक छिटो शतक बनाउने खेलाडी पनि बने । पाँचौँ विकेटका लागि कुशल मल्लले आरिफ शेखसँग ७५ रनको साझेदारी गर्दै नेपाललाई बलियो स्थितिमा लगे । कुशल ६४ बलमा १० छक्का र ९ चौका प्रहार गर्दै १०८ रनमा आउट भए ।

त्यस्तै, नेपालका लागि सोमपाल कामीले उत्कृष्ट ब्याटिङ गरे । सोमपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो अधर्शतक बनाए । सोमपालले ४८ बलमा ९ चौका प्रहार गर्दै अविजित ६३ रन बनाए । त्यस्तै, करण केसी २९ रनमा अविजित रहे । भीम सार्कीले ५६ बलमा चार चौका र एक छक्का प्रहार गर्दै ३३ रन बनाए । आरिफ शेख २९, रोहितकुमार पौडेलले २३ रन बनाए । बलिङतर्फ ओमानका आयन खानले दुई विकेट लिए ।