Swornakshar Logo

क्रिकेटमा नेपालद्वारा अमेरिका पराजित

तस्बिर स्रोतः आइसीसी०
२५ माघ । काठमाडौं । आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको छ।
घरेलु मैदानमा शनिबार भएको खेलमा नेपालले अमेरिकालाई पराजित गर्दै सिरिजमा पहिलो जित निकालेको हो।

नेपालले घरेलु मैदानमा भएको एकदिवसीय क्रिकेटमा पहिलो जित हात पारेको हो।

नेपाल पहिलो खेलमा ओमानसँग १८ रनले पराजित भएको थियो। अब नेपालले तेस्रो खेलमा आइतबार ओमानसँग खेल्नेछ।

नेपालले दिएको १ सय १९ रनको लक्ष्य पछ्याएको अमेरिका ४४।१ ओभरमा पुरा विकेट गुमाउँदै १५५ रनमा समेटियो।

सुरुवाती ४ ओभरमा ४ विकेट लिएको नेपाललाई अमेरिकाले त्यसपछि भने दबाबमा राखेको थियो। शनिबार अमेरिकाका ६ ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन्।

अमेरिका १८ ओभरमा ५३–६ को कमजोर अवस्थामा थियो। अमेरिकाका लागि लान होल्याण्ड र करिमा गोरेले ४९ रनको साझेदारी गरेपनि टोलीलाई जित दिलाउन सकेनन्। होल्याण्डले ७५ रन जोडे।

नेपालले दोस्रो ओभरमै स्पिनर सन्दीप लामिछानेलाई बलिङमा ल्याएको थियो। सन्दीपले चौथो बलमा ओपनर आरोन जोन्सलाई ५ रनमा एलबिडब्लू आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए।

तेस्रो ओभरको चौथो बलमा करण केसीले अमेरिकाका प्रमुख ब्याट्सम्यान स्टिभन टेलरलाई दीपेन्द्र सिंह ऐरीबाट शून्यमा क्याच गराए। करणले अन्तिम बलमा जेभियर मार्शललाई विकेटकिपर विनोद भण्डारीबाट २ रनमा क्याच गराए।

चौथो ओभरको चौथो बलमा सन्दीपले मोनाक पटेललाई ४ रनमा एलबी डब्यू आउट गरे।
सुशन भारीले ११ औं ओभरको पहिलो बलमै अक्षय होमराजलाई विकेटकिपर विनोद भण्डारीबाट ५ रनमा क्याच गराउँदै नेपाललाई फराकिलो जिततर्फ लम्काए।

सुशन भारीको १७ औं ओभरको चौथो बलमा करिमा गोर पारसको क्याचमा आउट भएर १० रनमा पेभिलिएन फर्किए।

सुसन भारीले आफ्नो स्पेलमा १ मेडनसहित ४३ रन खर्चदै ३ विकेट लिए।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले ४९ दशमलव २ ओभरमा ९ विकेटको क्षतिमा १ सय १० रनको योगफल तयार पारेको थियो।

एक समय ४९–५ को कमजोर अवस्थामा पुगेको नेपाललाई छैटौं विकेटका लागि कुशल मल्ल र विनोद भण्डारीले ८४ रनको कीर्तिमानी साझेदारी गर्दै नेपालको इनिङस् सम्हालेका थिए।

ओडीआईमा यो नेपालको कुनै पनि विकेटका लागि गरेको उच्च साझेदारी पनि हो। कुशलले ५० र विनोदले ५९ रनको महत्वपुर्ण योगदान गरे।

योसँगै बायाँ हाते युवा अलराउन्डर कुशल मल्लले ओडीआई क्रिकेटमा विश्व कीर्तिमान कायम गरेका छन्।

आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत दोस्रो खेलमा अमेरिकासँग डेब्यू गर्दै अर्ध शतकीय इनिङ खेलेपछि सर्वाधिक सानो उमेरमा अर्ध शतक पुरा गर्ने विश्वकै पहिलो खेलाडी समेत बने।

यस्तै विकेटकिपर विनोद भण्डारीले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत दोस्रो खेलमा अमेरिका विरुद्ध अर्धशतक पुरा गरेका छन।

विनोदले ६२ बलमा अर्ध शतक पुरा गर्दै आफ्नो ओडीआई करिअरको पहिलो अर्ध शतक पुरा गरे। विनोदले ७९ बलमा ६ चौका र १ छक्का सहित ५९ रनको योगदान गरे।

आजको खेलमा नेपालका करण केसी म्यानअफ द म्याच घोषित भए।