Swornakshar Logo

पुरातात्विक महत्वको दरबार अलपत्र पर्दै

२१ माघ । काठमाडौं । केही वर्ष अघिसम्म नेपाली सेनाले प्रयोग गर्दै आएको तत्कालीन बझाङी राजाका पुरातात्विक महत्वको भोपुर दरबार अलपत्र परेको छ । सेना दरबार छोडेर नयाँ भवनमा सरे पछि उक्त दरबार अलपत्र परेको हो ।

मानिस बस्न छोडेपछि उक्त दरबारको स्वरुप नै बिग्रने अवस्थामा पुगेको छ । दरबारको भित्ताहरु खुइलिदै गइरहेका छन् । दरबार भित्र रहेका कोठा, खोपी र बैठक कक्षको सिलिङमा रहेको काठ खसिसकेको छ । ग्यालरी र बरण्डामा ठूलठूला भ्वाङ परेका छन । कुनै कुनै झ्यालको काठहरु पनि कुहिन लागेको छ ।

उक्त दरबार बझाङको ऐतिहासिक धरोहर एवं पर्यटकीय स्थलको रुपमा चिनिन्छ । पर्यटकीय स्थलको रुपमा चिनिने दरबार बेवारिसे जस्तै अलपत्र बनेपछि स्थानीयवासीले यसको संरक्षणप्रति चिन्ता व्यक्त गर्न थालेका छन् । सामाजिक अभियान्ता मंगलबहादुर खड्काका अनुसार दरबारको तत्काल मर्मत सम्भार गर्न सकिएन भने यसको अस्तित्व नै हराउदै जाने बताए । दिनप्रतिदिन दरबार जिर्ण बन्दै गएको छ, यही हालतमा रहनेहो भने केही वर्ष मै भत्किन पनि सक्छ उनले भने ।

यो दरबार तत्कालीन बझाङी राजा देविजंङबहादुर सिंहले विक्रम सम्वत १९९० सालमा निर्माण सुरु गरेर १९९५ सालमा निर्माण कार्य सम्पन्न गरेका थिए । निर्माण कार्य सम्पन्न पछि यो दरबार उनका छोरा ईश्वरजंगबहादुर सिंहको नाममा रहेको थियो ।

ईश्वरजंग अपुताली पछि उनका आफन्तहरुले २०४० साल तिर नेपाल सरकारलाई बिक्री गरेपछि यस दरबारमा २०४५ सालमा तत्कालिन शाही नेपाली सेनाको ब्यारेक बसेको थियो । २०५८ सालमा सुरक्षाको कारण देखाउदै सेनाको व्यारेक हेमन्तवाडा सरे पछि दरबार बेवारिसे जस्तै बनेको थियो ।

२०६० सालमा तत्कालीन विद्रोही माओवादीले दरबारमा आगजनीसमेत गरेका थिए । यद्यपी, स्थानीयले आगो नियन्त्रण गरेका कारण एउटा कोठा बाहेक अन्यत्र दरबारमा क्षति हुन भने पाएको थिएन । आगलागीबाट क्षति भएको भाग समेत अहिले उस्तै रहेको छ ।

नेपाली सेनाको एउटा टुकडी २०६३ सालमा शान्ति सम्झौता भएपछि पुन भोपुरमा बस्न थालेको थियो । दरबार जिर्ण भैसकेका कारण त्यह बस्न नमिल्ने भएपछि सेना नयाँ भवनमा बस्न थालेको हो ।

बझाङी राजाको इतिहासको लामो अध्ययन गरेका पूर्वप्राध्यापक विण्णुभक्त शास्त्रीका अनुसार १९९० सालको महाभुकम्पबाट त्रसित राजा देविजंङले भारतको कलकत्ताबाट इन्जिनियर र मिस्त्रीहरु ल्याएर यो भवनको निर्माण गर्न लगाएको बताए ।

राजाले यो भवनको निर्माण गर्दा जग मात्र एउटा बाँस डुब्ने गरी खन्न लगाएको भन्ने विभिन्न श्रोतबाट पुष्टी भएको उनले बताए । भवन निर्माणको क्रममा मासको गारो लगाइएको र वास्तु दोष नलागोस भनेर भवनको जग निर्माणमा अष्टधातुको प्रयोग समेत गरिएको उनले बताए ।

राजा देविजंङ आफै पनि इन्जिनियर र वास्तु विज्ञ थिए उनले भने यो भवनको जस्तो मोडेल र निर्माण शैली अन्त कतै पनि भेटिएको छैन ।

बझाङमा रहेका थुप्रै पुरातात्विक महत्वका दरबारहरु संरक्षण नगरिएका कारण भत्किसकेको र बाँकि भएका पनि जीर्ण बन्दै गएको प्रति चिन्ता व्यक्त गर्दै यस्तो ऐतिहासिक र पुरातात्विक सम्पदालाई राज्यले वेवास्ता गर्न नहुने हो । भोलिको पुस्ताले समेत हेर्न मिल्ने गरेर यस्ता सम्पदाको संरक्षण गरिनु पर्ने उनको भनाइ छ ।

अन्य जिल्लाबाट बझाङ आउनेहरुले समेत दरबारको संरक्षण नभएको भन्दै चिन्ता व्यक्त गर्ने गरेका छन । काठमाण्डौं देखि घुम्न आएका पर्यटक संजित आले भन्छन् । बेलैमा यस्ता सम्पदाको संरक्षण र प्रर्बद्धन हुन सकेन भने भोलीका दिनमा पछुताउनुको विकल्प हुने छैन । उनले यसको जिर्णोदार हुन सके जिल्लाको पर्यटन प्रर्बद्धनमा पनि टेवा पुग्ने बताए ।

दरबारको जिर्णोदार गरेर बझाङको परम्परागत जीवनशैली र संस्कृतिहरु झल्काउने खालको संग्राहालयको रुपमा विकास गरिनु पर्ने यहाँका वासिन्दाको माग रहेको छ ।

पर्यटन सूचना समूह बझाङका अध्यक्ष निलगगन रोशन सिंहका अनुसार बझाङको परम्परागत भेषभुषा, कला संस्कृति समेत लोप हुदै जान थालेको छ । दरबारको समेत संरक्षण हुने र कला संस्कृति पनि बचाउने हिसाबले संग्राहलयको रुपमा विकास गर्न सके भोपुर दरबार राम्रो पर्यटकीय स्थलको रुपमा विकास हुने सिंहले बताए ।

नेपाल सरकारले यो दरबार नेपाली सेनालाई हस्तान्तण गरेकाले दरबार सेनाको सम्पति भई सकेको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताएका छन् । यसको संरक्षण गर्न वा पुन निर्माण गर्न, भत्काउने भन्ने जिम्मा सेना सँग मात्र हुने भएकाले यसमा प्रशासन र अन्य निकायको कुनै भूमिका नरहने पाण्डेले बताए ।