Swornakshar Logo

नेकपाले किन सम्झिएन मार्क्स, लेनिन र मनमोहन

१५ माघ । काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको बैठक आज ( बुधबार ) बाट काठमाडौंमा सुरू भएको छ । ९ सदस्यीय नेकपा सचिवालयको टिम मञ्चमा बसेको छ भने अन्य स्थायी र केन्द्रीय कमिटीका सदस्यहरू दर्शकदीर्घामा छन् । मञ्चमा ठूलो ब्यानर छ ।

मूल ब्यानरमा दुईवटा फोटा टाँसिएका छन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको फोटो दायाँतर्फ छ भने पाँचौं महाधिवेशनबाट उदाएका तत्कालीन एमालेका महासचिव मदनकुमार भण्डारीको फोटो बायाँतर्फ छ ।

तर मार्क्सवाद र लेनिनवाद मार्गदर्शक सिद्धान्त मान्ने कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीको बैठकमा ती नेताका तस्वीर भने छैनन् ।

विश्वभरका कम्युनिस्टहरूले आफ्ना दार्शनिक राजनीति विचारका फोटाहरू सभा समारोहमा टाँग्दै आएका छन् । कार्ल मार्क्सले १८४८ मा कम्युनिस्ट घोषणापत्र लेखे । जुन घोषणापत्रलाई विश्वका सबै कम्युनिस्टले मान्दै आएका छन् ।

सत्तारूढ दल नेकपाले भने आफ्नो केन्द्रीय कमिटीको बैठकमा नै तीनै दार्शनिक समाजवादका स्वप्नदर्शी कार्ल मार्क्सको फोटोसम्म राख्न कन्जुस्याइँ गर्‍यो । १९१७ मा रूसमा क्रान्ति सम्पन्न गरेका लेनिनलाई विश्वका कम्युनिस्टहरूले मार्क्स एंगेल्सपछि तेस्रो वरीयताका नेता मान्छन् । तर, मार्क्सवाद लेनिनवाद मान्ने नेकपाले भने तीनै जना नेताको फोटा बैठकस्थलमा राखेन ।

तत्कालीन एमालेले हरेक कार्यक्रममा नछुटाउने तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको फोटो पनि केन्द्रीय कमिटीको बैठकमा देखिएन । जब कि एमालेको ब्यानरमा पुष्पलाल श्रेष्ठ, मदनकुमार भण्डारी र मनमोहन अधिकारीका संयुक्त फोटा हुन्थे ।

तत्कालीन माओवादी केन्द्रका कार्यक्रममा मार्क्स, एंगेल्स, लेनिन र माओ र स्टालिनको संयुक्त फोटो भएको ब्यानर हुन्थ्यो । नेकपाले अहिले मार्क्सवाद र लेनिनवाद मार्गदर्शक सिद्धान्त मान्दै आएको छ । कार्यनीतिमा जनताको जनवाद मान्ने भनेको छ ।

मूल ब्यानरसँगै हँसिया र हथौडा अंकित झण्डाको फोटो दुवैतर्फ राखेको छ । त्यससँगै दुवैतर्फ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डका फोटा छन् ।

मूल ब्यानरको बीचमा सूर्यभित्र हँसिया हथौडा अंकित चिन्ह पनि छ । एमालेको नवौं महाधिवेशनमा मार्क्स र एंगेल्सका फोटा खोजेका घनश्याम भुसाल भने बैठक बीचमै छाडेर बाहिरिए ।

उनीसँगै त्यो अभियानमा साथ दिने योगेश भट्टराई, ठाकुर गैरे भने बैठकमा नै बसेका थिए । तर, प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दासम्म मार्क्स एंगेल्स, लेनिन र मनमोहनको फोटा कसैले खोजेन ।

९ वैशाख, २०७५ कोे लेनिन दिवस र नेकपा स्थापना दिवस तत्कालीन एमाले र माओवादीले संयुक्त रूपमा मनाएका थिए । त्यस दिन पनि ब्यानरमा मार्क्स, एंगेल्स र लेनिनको फोटा नराखेको भन्दै तत्कालीन माओवादीका युवाहरूले विरोध गरेका थिए ।

त्यो समयमा पार्टी एकता भएको थिएन । तत्कालीन माओवादीका युवा विद्यार्थीहरूले विरोध गरेका थिए । अहिले पार्टी एकता भएको पनि २१ महिना भएको छ । त्यहाँ सबै केन्द्रीय सदस्य छन् ।