Swornakshar Logo

मकवानपुरका साग विजेता खेलाडी नगद सहित पुरस्कृत

जिल्ला समन्वय समिति र हेटौंडा उपमहानगरपालिकाले संयुक्त रुपमा विजेता खेलाडीलाई नगद सहित पुरस्कृत गरेको हो

२९ पुस । हेटौंडा । हेटौंडा उपमहानगरपालिका र जिल्ला समन्वय समिति मकवानपुरले १३औं दक्षिण एसियाली खेलकुद (साग) विजेतालाई पुरुस्कृत गरेको छ । मकवानपुर जिल्लाबाट सागमा विजेताहरुलाई सम्मानका साथ पुरस्कृत गरिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताए ।

उपमहानगरपालिकाले स्वर्ण विजेतालाई १ लाख, रजत विजेतालाई ७५ हजार र कास्य विजेतालाई ५० हजार नगद सहित पुरस्कृत गरेको मेयर हरिबहादुर महतले बताए । उपमहानगरपालिकाले उसुका प्रशिक्षकलाई २५ हजार र अरु प्रशिक्षकलाई ७ हजारका दरले पुरस्कृत गरेको हो ।

यसैगरी जिल्ला समन्वय समिति मकवानपुरले स्वर्ण विजेतालाई २५ हजार, रजत विजेतालाई २० हजार र काश्य विजेतालाई १५ हजार सहित पुरस्कृत गरिएको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले वताउनुभयो । यसैगरी प्रशिक्षकलाई ५ हजारका दरले पुरस्कृत गरिएको छ ।

खेलाडीका लागि प्रोत्साहन गर्ने उदेश्यले पुरस्कृत गरिएको उनले बताए । स्थानीय तहले पूर्वाधारका विकाससंगै खेलकुदलाई पनि प्रोत्साहन दिने काम गरेको समन्वय प्रमुख खुलालले बताए । सागमा मकवानपुर निवासी खेलाडीले ४ स्वर्ण, ४ रजत र ५ कास्य दिलाएका थिए । कराँतेमा महसुस मोक्तान, फुटबलमा सुनिल बल तथा तेक्वान्दोमा सञ्जीवकुमार ओझा र निशा दर्नालले स्वर्ण पदक जितेका थिए ।

शिलु डंगोलले उसु, माया स्यांतान र निकेश मगर बास्केटबल तथा ह्यान्डबलमा देवकुमारी बा“स्कोटाले रजत पदक जितेका थिए । कास्य पदक जित्नेमा करातेमा रीता कार्की, उसुमा हरिप्रसाद गोले, खोखोमा राजन बल तथा बक्सिङमा पुरन राई र विकास लामा छन् । उनीहरुलाई एक कार्यक्रमका विच नगद पुरस्कार दिइएको र यो पुरस्कारले थप हौसला प्रदान गर्ने मेयर महतले बताए ।

मेयर महतले मकवानपुरे खेलाडीले राम्रो खेलेकोमा बधाइ दिदै पुरस्कृत गरेको बताए । ‘मकवानपुरका खेलाडीको प्रदर्शन अत्यन्त राम्रो थियो । ,’ उनले खेलक्षेत्र विकासका लागि नगरपालिका लागिरहेको बताए । खेलकुद विकासकालागि काम गर्ने प्रतिवद्धता जनाए। मेयर महतले नगरपालिका खेलकुदको दीर्घकालीन विकासकालागि नीति बनाउन लागिरहेको जानकारी दिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुणासैनी, हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना कुमारी लामाले पनि मन्त्यब राखेका थिए ।