Swornakshar Logo

अन्जन चम्किदा ताइपेईमाथि नेपालको सानदार जित

२४ भदौ । काठमाडौं । सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप छनोट खेलमा नेपाली फुटबल टोलीका प्रभावशाली मिडफिल्डर अन्जन बिष्ट चम्किएपछि नेपालले चाइनिज ताइपेईमाथि सानदार जित निकालेको छ । मंगलबार भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई उसैको घरेलु मैदानमा २–० गोलले पराजित गरेको छ ।

नेपालको जितमा अन्जन बिष्ट नायक बने । अन्जनले खेलको ३ र ६२ औं मिनेटमा गोल गरेका थिए । अन्जनले पहिलो गोल फ्रिककमा करिब २५ यार्ड टाढाबाट गरेका थिए । ताइपेईका खेलाडीले रवि पासवानलाई लडाएपछि पाएको फ्रिककमा अन्जनले गल्ती गरेनन् । अन्जनले दोस्रो गोल सुजल श्रेष्ठको पासमा गरेका थिए ।

यस जितसँगै नेपालले अघिल्लो खेलमा कुवेतसँगको नमिठो हारलाई केही हदसम्म बिर्साइदिएको छ । जितसँगै समूह ‘बी’ मा रहेको नेपालले दुई खेलबाट तीन अंक बनाएको छ ।

समूह चरणको पहिलो खेलमा नेपाल कुवेतसँग उसैको मैदानमा ७–० गोलले पराजित भएको थियो । ताइपेईको भने यो लगातार दोस्रो हार हो । अघिल्लो खेलमा ताइपेई जोर्डनसँग हारेको थियो ।

विश्वकप छनेटमा नेपाल समूह ‘बी’ मा छ । समूहमा नेपालसँगै कुवेत, अस्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेई रहेका छन् । होम एन्ड अवेका आधारमा खेलाइने दोस्रो चरणको छनोट खेल सन् २०२० को जुन ९ सम्म चल्नेछ । नेपालले अब चाइनिज ताइपेईसँग अर्को खेल सन् २०२० मार्च २६ मा घरेलु मैदान दशरथ रंगशालामा खेल्नेछ ।