Swornakshar Logo

क्रिकेटः छक्काको खुसीले लग्यो प्रशिक्षकको ज्यान

२ साउन । काठमाडौं । विश्वकप फाइनल अत्यन्तै रोमाञ्चक र नाटकीय रह्यो । निर्धारित ५० ओभर बराबरी भएपछि खेलाइएको सुपर ओभरसमेत बराबर भएपछि इंग्ल्यान्डले ‘बाउन्ड्री काउन्ट’का आधारमा विश्वकप उपाधि जितेको थियो ।

सुपर ओभरमा न्युजिल्यान्डका लागि ब्याटिङ गर्दै ५ बलमा १४ रन बनाएका जिम्मी निसामले त्यो ओभरमा विश्वकप मात्र गुमाएनन्, स्कुल पढ्दा क्रिकेट खेल्न सिकाउने प्रशिक्षक पनि गुमाउनु पर्यो ।

अकल्यान्ड ग्रामर स्कुलका पूर्वशिक्षक तथा क्रिकेट प्रशिक्षक डेभिड जेम्स गोर्डनले निसामलाई सानो छँदा क्रिकेट खेल्न सिकाएका थिए । उनकै प्रशिक्षण र प्रेरणाले निसाम न्युजिल्यान्डका मात्र होइन, विश्व क्रिकेटकै उत्कृष्ट र भरपर्दा अलराउन्डर बन्न पुगे । तर, आफ्ना विद्यार्थीले सुपर ओभरमा छक्का प्रहार गरेपछि मुटुरोगी गोर्डनले खेलको रोमाञ्चकता सहन सकेनन् र त्यसैले उनको मृत्यु भयो ।

‘सुपर ओभर सुरु भएपछि एक जना नर्स आएकी थिइन् । उनले बुबाको श्वासको गति परिवर्तन भएको बताएकी थिइन् । मलाई लाग्छ, जिम्मीले जब छक्का प्रहार गरे, बुबाले अन्तिम श्वास त्यही बेला लिनुभयो,’ गोर्डनकी छोरी लिओनीले भनिन् ।

‘डेभ गोर्डन मेरा शिक्षक, प्रशिक्षक र साथी हुनुहुन्थ्यो । उहाँको क्रिकेटप्रतिको लगाव र मोह अनुकरणीय थियो । तपाईंले आफ्नो अन्तिम श्वास त्यति महत्त्वपूर्ण खेलसम्म जोगाउनुभएकोमा आभारी छौं । आशा छ, तपाईं गौरवान्वित हुनुभयो । हार्दिक धन्यवाद । तपाईंको आत्माले शान्ति पाओस्,ु निसामले ट्वीट गर्दै आफ्ना प्रशिक्षकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

गोर्डनले निसामका साथै लकी फर्गुसनलाई पनि सानो छँदा प्रशिक्षण दिएका थिए । फर्गुसन पनि न्युजिल्यान्डको विश्वकप टोलीका मुख्य बलर थिए । फाइनलमा उनले उत्कृष्ट बलिङ गरेका थिए ।