आठराई बासीलाई प्रधानमन्त्रीले भने बजेटको चिन्ता नगर्नुहोस्
९ जेठ । काठमामाडौं । बिहीबार बिहान प्रधानमन्त्री ओलीको करिब १५ मिनेटको भेटघाट भने बिल्कुल फरक रह्यो । सधैं राष्ट्रिय राजनीति र विकासका ठूला ठूला नीति र योजनाका बिषयमा छलफल हुने प्रधानमन्त्री निवासमा आज प्रधानमन्त्रीले आफ्नो जन्मस्थानको चर्चा र बाल्यकालका साथीसंगीको सम्झना गरे ।
चुहानडाँडा विमानस्थलका लागि रकम माग गर्न आठराई गाउँपालिकाबाट आएको टोलीसँग उनले विकास कम वाल्यकाल वढी स्मरण गरे ।
आठराईको समुहमा केही झापाली र राजधानीमा बसोबास गरिरहेका तर आठराईमा पनि घर भएका पनि सहभागी थिए ।
आठराईमा विमान स्थलका लागि पैसा माग्न आएको पूर्व जानकारी पाएका प्रधानमन्त्री ओली अनौपचारिक पोसाकमा नेकपाका महासचिब विष्णु पौडेल सहित बैठक कक्षमा प्रवेश गरे ।
टोलीलाई भेट्ने बित्तिकै ओलीको पहिलो प्रश्न थियो, ‘के छ आठराईको खबर ?’
आगन्तुक सबैले आठराई विमानस्थलका लागि रकम छुट्याउन माग गरेपछि उनले भने, ‘नीति कार्यक्रममा आइसकेको छ । बजेटका लागि चिन्ता नगर्नु ।’
त्यसपछि शुरु भयो गाँउ चर्चा । प्रधानमन्त्री ओलीले आफूसँग भएको कलेजी रंगको डायरी पल्टाएर आठराईको एउटा सडकको योजना सुनाए । सुकेपोखरी–छातेढुंगा– प्रणामी मावि इवा–भदौरे–बिजौरे आधारभुत विद्यालय हुवाकु–निगुरादिन–चोपुर हुँदै हाङपाङ स्कूल–शान्ति आधारभूत विद्यालय मिचिरिङ हुदै दोभान–ठोट्ने हुँदै तेल्लाबुङसम्म सडकका लागि पनि यसपालि रकमको व्यवस्था हुन्छ ।
जन्मस्थान आठराई इवा छोडेको ५८ बर्षपछि पनि आठराईका चोकचोकमा नाम प्रधानमन्त्रीले फटाफट भनेको सुनेपछि आठराईबासीले प्रधानमन्त्रीलाई अहिले पनि उही इवाकै छिमेकीकै रुपमा महसुुस गरेका छौ भनेर ओलीलाई मख्ख पारिदिए ।
चुहानडाँडाँ विमानस्थलमा रकम माग गरिएको कागज लिएर प्रदेशसभा सांसद तेजमान कङ्दङ्वा प्रधानमन्त्री नजिक गए । तेजमानको हात समाएर धाप मार्दै प्रधानमन्त्री ओलीले महासचिव पौडेललाई चिनाउदै भने, ‘उ मेरो गाउँले भाइ हो । अहिले प्रदेशसभाको सांसद ।’ प्रधानमन्त्रीले फेरि सम्झए, ‘अर्का तेजबहादुर कङदङ्वा पनि हुनुहुन्छ । वहाँ चाँही विर्तामोडमा हुनहुन्छ । तेजप्रसाद कङदङ्वा चाँही मेरै सामु हुनुहुन्छ ।’
प्रधानमन्त्री ओलीले बालसखा चन्द्र कन्दङवाको पनि सम्झना गरे । ‘मेरो बाल्यकालको साथी चन्द्र म भन्दा सिनियर पनि हुन् तर पनि हामी साथी साथी थियोैं । हामीले एकैदिन २०२६ साल फागुन १२ गते नेपाल कम्यूनिष्ट पार्टीको सदस्यता लिएका । अर्का सूर्य कङदङवा त मेरा गुरु नै हुनुभो ।’
प्रधानमन्त्री एकछिन चुप लागेको मौका छोपेर आठराईबासीले भने एकस्वरमा भने, ‘हामीलाई पानीको चाँही सारै समस्या छ ।’
त्यसपछि फेरि ओली वाल्यकालतिरै फर्किए । प्रधानमन्त्रीले आफूले बाल्यकालमा पानी खाने गरेको इवा कै चुच्चेधारो सम्झिए ।
‘उ बेला चुच्चेधाराको पानी अजुंलीमा थापेर खान कम्ती मजा हुँदैनथ्यो, अहिले सुकेर तिर्र।।।।मात्र पानी आउँदो रहेछ ।’
५ बर्ष अघि आठराई गएको बेला चुच्चे धाराको रवाफ दिंदै श्रीमतीलाई पनि पानी खुवाउन लिएर गएको सम्झदै एकबछिन् चुप लागेर ओली फिस्स हाँसे अनि वोले, ‘पानी त पानी सुकिसकेछ । त्यसपछि आँफै हिस्स परियो ।’
पानीको प्रसंगमा प्रधानमन्त्रीले संक्रान्तिको याकुम्बा गढी पनि स्मरण गरे । ‘गढी के भएछ त । त्यहाँबाट आरोलो लागेपछि त थुप्रै पानीका मुल थिए पहिला तरु,’ उनले प्रश्न गरे ।
प्रधानमन्त्रीको यो जिज्ञासा सुनेपछि आठराईबासीले नेपालका गाउँबस्तीमा पानीका मुल सुक्नाका केही गम्भिर कारणहरु एकपछि अर्को गर्दै प्रधानमन्त्री समक्ष राखे ।
पूर्व प्रधानअध्यापक आरसी थपलियाले पहिला शुरु गरे ‘जतासुकै मोटरबाटो खनियो । यसले पानीको मुललाई धक्का दियो । मुलहरु अन्तै सरे ।’
अर्का भीष्म थपलियाले थपे, ‘भैंसी पाल्ने चलन हरायो । जसले गर्दा आहाल मासिए । आहाल नभएपछि पानी जम्मा हुन र रसाउन पाएन । पानीका मुल सुके ।’
उपस्थित अधिकांशले पानी सुक्नुको कारण वेलिविस्तार लगाएपछि अब वोल्नेपालो ओलीको आयो ।
प्रधानमन्त्री ओलीले आठराईमा एउटा फूटबल मैदानको प्रस्ताव गरे । ‘तपाईंहरुसँग छ भने जग्गा दिनुहोस । हैन भने म जग्गा दिन्छु छन् त चुहान डाँडाँमा उप्रेतीटार, थपलियाटार ।’
त्यसपछि प्रधानमन्त्रीले इवाको भित्रिया र खमारेको बगैंचा सम्झिए । भित्रिया र खमारेको बगैंचामा खाएका आँप र कटहरको चर्चा गर्दै उनले थपे, ‘हरेक बर्ष असार २२ गते कटर टिप्ने दिन हुन्थ्यो धेरै पटक यहाँका आँप कटहर टिपेको छु, खाएको छु । अहिले छन् कि छैनन् भित्रिया र खमारेमा आँप कटहर ?’
प्रतिक्रिया दिनुहोस्: