Swornakshar Logo

उचाई नाप्ने टोली पुग्यो सगरमाथाको चुचुरोमा


८ जेठ । काठमाडौं । सगरमाथाको उचाई नाप्न गएको सरकारी टोली सगरमाथाको शिखरमा पुगेको छ।
नेपालले पहिलोपटक आफ्नै खर्चमा उचाइ नाप्ने कार्यकालागि खटाएको टोली बुधबार बिहान ३ बजेर १५ मिनेटमा सगरमाथाको चुचुरोमा पुगेको हो।
नापी विभागका प्रमुख नापी अधिकृत खिमलाल गौतमको नेतृत्वमा गएको टोली चुचुरोमा पुगेको छ। टोलीका सदस्य प्राविधिक रविन कार्की सहित क्लाइम्बिङ गाइड छिरिङजाङबु शेर्पा लगायतले शिखरमा चुचुरोमा पुगेर जिएनएनएस जिपिएस सेट गर्ने काम सम्पन्न गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशीले जानकारी जानकारी दिए ।
उचाइ नाप्ने विभागको टोलीलाई आरोहण व्यवस्थापनको जिम्मा लिएको पिक प्रमोशन प्रालिले गरिरहेको छ। सगरमाथाको शिखरमा पुगेको प्राविधिक टोली चुचुरोबाट फर्केर साउथकोल आइसकेका छन्। पिक प्रमोशन प्रालीले टोली बिहीबार सम्ममा आधारशिविर आइपुग्ने जानकारी दिएको छ ।
शिखरमा जिपिएस सेट गरेसँगै अन्य विभिन्न स्थानमा राखिएको नियन्त्रण विन्दुहरुसँगको सम्बन्ध (कनेक्सन) कायम गरिएको बताइएको छ। टोलीका दुई सदस्यहरु सुरजसिंह भण्डारी र युवराज धिताल लगायत शेर्पा गाइडको टोलीले भने आधारशिविरमा बसेर प्राविधिक सहयोगको काम गर्दै आएका छन् ।
चुचुरो लगायत विभिन्न ठाउँमा राखिएका जिपिएसमा सेट भएका तथ्यांकहरूका आधारमा संसारका दर्जनौं वैज्ञानिकहरुले यसलाई गणितीय र ज्यामितीय हिसाबले अध्ययन गरि उचाइ टुंगो लगाएर पुष्टि गर्ने नापी विभागले जानकारी दिएको छ । चुचुरोमा पुग्ने बित्तिकै उचाइ पत्ता नलाग्ने र उचाइ पत्ता लाग्न कम्तिमा अझै ६ महिना लाग्ने बताइएको छ ।
नेपाल सरकारले पहिलोपटक सगरमाथाको उचाइ नाप कार्य शुरू गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालको विशेष पहलमा नापी विभागमार्फत सगरमाथाको उचाइ नाप्नका लागि टोली खटाइएको हो ।
गएको चैत २६ गते प्रधानमन्त्री केपी शर्मा ओली र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अर्यालले टोलीलाई सगरमाथाको उचाइ मापनका निम्ती शुभकामना दिएर पठाएका थिए ।
२०७२ सालको भुकम्पपछि ८८४८ मिटरको विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ घटबढ भएको भन्ने भ्रम सिर्जना भएपछि यसबारेमा बिवाद उत्पन्न भएको थियो । बिवाद उत्पन्न भएपछि सरकार आफैले सगरमाथाको नयाँ उचाइ मापन शुरू गरेको हो ।
यसअघि विं.स. २०१० मा सर्वे अफ इन्डियाले सगरमाथाको उचाइ नाचेर ८ हजार ८ सय ४८ मिटर कायम गरेको थियो । त्यसपछि २०५५ सालमा अमेरिकाले ८ हजार ८ सय ५० मिटर र २०६१ मा चीनले ८ हजार ८ सय ४४ र ४७ मिटर गरी दुइथरी उचाइ मापन गरेको थियो ।