Swornakshar Logo

एनसेलको सिम प्रयोग नगर्न नेकपाका चार भातृ संगठनको आग्रह

वैशाख १२। काठमाडौं । सत्तारुढ दल नेकपाका चार भातृ संगठनले सञ्चार प्रदायक संस्था एनसेलले सरकारलाई बुझाउनु पर्ने कर नबुझाएसम्म एनसेलको सिम प्रयोग नगर्न–नगराउन सम्बन्धित सबैमा आग्रह गरेको छ ।

आज बिहीबार अनेरास्ववियु अध्यक्ष नविना लामा, वाइसिएल नेपालका अध्यक्ष रामप्रसाद सापकोटा (दिपशिखा), अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङ र युवासंघ नेपालका अध्यक्ष रमेशकुमार पौडेलले संयुक्त विज्ञप्ती जारी गरी कर नबुझाएसम्म एनसेलको सिम प्रयोग नगर्न–नगराउन सम्बन्धित सबैमा आग्रह गरेका हुन् ।

जारी विज्ञप्तीमा सर्वोच्चको फैसला अनुसार एनसेलले २४ घण्टाभित्र तोकिएको कर नतिरे दवावमुलक कार्यक्रम गरिने उल्लेख पनि गरेका छन् ।सर्वोच्च अदालतले आफूले तिर्नुपर्ने कर तिर्न गरेको सात दिनको समयसीमालाई वेवास्ता गर्दै उल्टै मुद्दा मामिलामा लाग्नु एनसेल कम्पनीको खेदजनक कार्य भएको भन्दै ती विद्यार्थी संगठनले आपती समेत जनाएका छन् ।

एनसेलले राज्यलाई बुझाउनु पर्ने करबाट कुनै पनि हालतमा उन्मुक्ति नदिन सरकारलाई आग्रह गर्दै विज्ञप्तीमा करबाट तिर्न बहानाबाजी गर्नुको सट्टा यथाशिघ्र कर तिर्न एनसेल कम्पनीलाई आग्रह गरिएको छ ।