Swornakshar Logo

प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलियाको नाम सर्वसम्मत अनुमोदन

४ बैशाख । काठमाण्डौ । संसदीय सुनुवाइ विशेष समितिले प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलियाको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।

बुधबार समितिको बैठकले थपलियाको नाम सर्वसम्मत अनुमोदन गरेको हो । अनुमोदन गर्नुअघि समितिले उजुरीकर्ता र थपलियासँग छलफल गरेको थियो ।

थपलियाविरुद्ध सुनुवाइ समितिमा ६ वटा उजुरी परेको भए पनि उहाँको नाम सर्वसम्मत अनुमोदन गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले बताए ।

थपलियाले सुनुवाइका क्रममा अबको तीन महिनाभित्र उपचुनाव गराउने र अबदेखि हरेक चुनावमा विद्युतीय मतदान प्रणालीको विकास गर्ने प्रतिबद्धता जनाएका थिए ।

उनले समितिसमक्ष निर्वाचन प्रणालीमा आमूल परिवर्तनको खाँचो रहेको औंल्याउँदै त्यसका लागि सबै स्थानीय तहमा मतदाता नामावली संकलन र अध्यावधिक हुने गरी ‘निर्वाचन समन्वय इकाई’ स्थापना गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

थपलियाले प्रदेशमा पनि निर्वाचन कार्यालय स्थापना गर्नुपर्ने आवश्यक्ता समेत औंल्याएका छन् ।

यस्तै समितिको बुधबारको बैठकले राष्टिय समावेशी आयोगको सदस्यमा विष्णुमाया ओझाको नाम पनि सर्वसम्मत अनुमोदन गरेको छ ।

संवैधानिक परिषद्ले गएको चैत ११ गते प्रमुख निर्वाचन आयुक्तमा थपलिया र समावेशी आयोगको सदस्यमा ओझाको नाम सिफारिस गरेको थियो ।