Bagmati Samachar Logo

यो सरकारले अधिनायकवादी शासन ल्यायोःदेउवा

४ बैशाख । काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रेस स्वतन्त्रता हनन गरेर वर्तमान सरकारले अधिनायकवादी शासन देखाएको बताए ।

नेपाल राष्ट्रिय मगर संघको सुदूरपश्चिम प्रदेशस्तरीय भेलालाई धनगढीमा सम्बोधन गर्दै देउवाले पत्रकारहरुलाई साइबर अपराधका मुद्दा लगाएर पक्राउ गर्न लगाउनु सरकारको अनैतिक काम भएको बताए ।

पत्रकारका कलम बन्द गर्ने खालका क्रियाकलाप सरकारले गरिरहेकाले सरकारविरुद्ध कडा रुपमा प्रस्तुत हुने दिन आएको उनको भनाइ थियो । पत्रकार सरकारको शत्रु नभइ सहयोगी भएको भन्दै उनले सरकारले आफ्ना गल्ती ढाकछोप गर्न पत्रकारमाथि अंकुश लगाउने काम गरिरहेको बताए।

पत्रकारले गलत समाचार लेखेमा कानुनी बाटो अदालती प्रक्रिया भए पनि प्रहरी लगाएर पक्राउ गर्न लगाउनुले सरकार प्रेसलाई दमन गर्न खोज्दैछ भन्ने कुरा स्पष्ट भएको उनले बताए। देशको विकास नचाहने भ्रष्ट कम्युनिष्ट नेताहरु भएकाले भ्रष्टाचारविरुद्ध समाचार लेख्ने पत्रकारका कलम बन्द गराउने प्रयत्नमा सरकारले काम गरिरहेको उनको आरोप थियो । सरकारका अधिनायकवादी गतिविधि टुलुटुलु हेरेर बस्नुभन्दा अब सरकारविरुद्ध सशक्त भएर लाग्ने बेला आएको देउवाले बताए।

उनले दुई तिहाइको कम्युनिष्ट सरकार आएपछि नागरिकले विकास तथा शान्ति सुरक्षा पाउनुको सट्टा हत्या र हिंसाको आतङ्क बढेको आरोप लगाए । कम्युनिष्ट पार्टीका नेताहरुले झुटा आश्वासन दिएर मात्रै भोट माग्ने बताउँदै सभापति देउवाले नागरिकको मर्मअनुसार काम गर्ने एक्लो पार्टी कांग्रेस भएको दाबी गरे ।

नेपाली कांग्रेसले सबै जातजातिको सहभागिता बढाउनका लागि आउँदो महाधिवेशनमा ६ वटा सह–महामन्त्री राख्ने कुरा भइरहेकाले त्यसबाट एकजना महामन्त्री मगर संघका लागि छुट्याइने बताए।

धनगढीमा भएको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय एनपी साउद र रमेश लेखक, सुदूरपश्चिमका ९ वटै जिल्लाका पार्टी सभापति, प्रदेशसभा सदस्यहरु, भ्रातृ संगठनका कार्यकर्तालगायतको सहभागिता रहेको थियो ।