Swornakshar Logo

समृद्धिमा खुसीयाली मनाउन प्रधामन्त्रीको आग्रह

३ बैशाख । काठमाडौं । प्रधानमन्त्री केपी ओलीले हामीले खोजेको विकास र समृद्धि हाम्रै पालामा सम्भव रहेको बताएका छन्। राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माणको मंगलबार सुर्खेतमा ‘ब्रेक थ्रू कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकास हाम्रै समयमा हुने बताएका हुन्।
भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माणको प्रसंग जोडदै प्रधानमन्त्री ओलीले भने ‘हाम्रै आँखा अगाडि यो काम हामीले देखेका छौँ, अब हाम्रै समयमा विकास हुन्छ, समृद्धि हुन्छ, खुसीयाली मनाउनुहोस्।’ भेरी बबई डाइभर्सन आयोजनाको सुरुङ निर्माणको ‘ब्रेक थ्रू’ समय सीमाभन्दा एक वर्षअघि नै गर्न पाउनु ठूलो खुसीको कुरा भएको भन्दै प्रधानमन्त्री ओलीले भने ‘अब अरू पनि यस्ता बहुउद्देश्य आयोजना निर्माण गरिने छ, यो सफलताको लागि सिआरएसी र कोभेकलाई धन्यवाद।’ ‘भौगलिक विकटताका बावजुद पनि टनेल बोरिङ मेशिन (टिबिएम) प्रविधिमा पहिलो पटक नेपालमा सुरुङ निर्माण भएकोमा खुसी लागेको छ,’ प्रधानमन्त्री ओलीले अगाडि थपे ‘नेपालका अन्य योजनामा पनि टनेल बोरिङ मेशिनको प्रयोग गरिनेछ।’ यो आयोजनाले प्रदेश ५ र कर्णाली दुवै प्रदेशमा विकासको लागि नयाँ शुरुवात गरेको प्रधानमन्त्रीको भनाई छ। अन्तरप्रदेशीय विकासमा सहकार्य गर्न सहज बनाई दिएको भन्दै उनले भने ‘यो आयोजनाले कर्णाली प्रदेश र प्रदेश ५ लाई परस्पर विकासमा जोडेको छ साथै दुवै प्रदेशलाई फाईदा भएको छ।’ नेपाल अन्य देश संग विकासका लागि साझेदारी तयार रहेको भन्दै प्रधानमन्त्री ओलीले विकासका लागि सँगै हिड्न र काम गर्न नेपाल सरकार तयार रहेको पनि बताए। यही रफ्तारमा विकास गर्दै गए नेपालको गरिबी हटाउन समय नलाग्ने उनको भनाई छ। उनले भने ‘हामीले गरिवी हटाई छाड्ने संकल्प गरेका छौँ, अब खान लाउन नपाउने गरिब कोही पनि हुने छैनन्।’ प्रधानभन्त्रीले सरकारले हरेक क्षेत्रमा उत्तिकै ध्यान दिएर काम गरिरहेको बताए। ‘सरकारले खासगरी रोजगारी सृजना गर्ने, आयस्तर बढाउने र उत्पादकत्व बढाउने गरी काम गरिरहेको छ, उनले भने ुहामीले आर्थिकरुपमा सुधार गरिरहेका छौँ।’ अब कोही पनि भोकभोकै नमर्ने भन्दै उनले कर्णालीका मुख्यमन्त्रीलाई इंगीत गर्दै भोकमरी परे संघीय सरकारलाई खबर गर्न आग्रह गरे। प्रधानमन्त्री ओलीले सुरुङ निर्माण जस्तै विद्युत उत्पादन र खेतमा पानी छिटो पुग्ने गरी काम गर्न निर्देशनसमेत दिए। एक अर्को प्रसंगमा प्रधानमन्त्रीले बालबालिकालाई विद्यालयमा भर्ना गराई राष्टिय भर्ना अभियानमा सहभागी बन्न आग्रह गरे।

‘विद्वानका सन्तान हाम्रा बालबालिकालाई विद्यालय बाहिर रहन दिनु हुँदैन्, अशिक्षित हुन दिनु हुँदैनु ओलीले भने ‘गत वर्ष रारा पर्यटन वर्षको उद्घाटन गर्न आएको बेला मैले हात समाएर स्कुल भर्ना गरेकी मेरी छोरी प्रथम भइछन्, म खुसी छु।’ यस्तै, प्रधानमन्त्रीले सुर्खेतका बाढीपीडितलाई असारभित्र छानो मुनी ल्याउने बताए। साथै कर्णालीका असुरक्षित बस्ती सुरक्षित ठाँउमा सार्नु पर्नेमा उनको जोड थियो। यसैगरी, कर्णालीमा अहिलेसम्म पनि सडक सञ्जालसँग नजोडिएको हुम्लालाई २ वर्षभित्र सडक सञ्जालसँग जोडिने ओलीको भनाई छ।

प्रधानमन्त्री ओलीले विद्युत् कर्णालीलाई दिनुपर्ने कुराप्रति इंगित गर्दै भने ‘अहिले पानी कसको खेतमा लाग्छ कसको धानमा फल्छ भनेर चित्त सानो नपारौ, नेपालका खेत सिँचाइ हुन्छ र नेपालमा नै धान फल्छ भन्ने कुरालाई ख्याल गरौँ।’ कार्यक्रममा बोल्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले भेरी बबई आयोजनाबाट निस्कने ४८ मेघावाट विद्युतमा ४९ प्रतिशत शेयर प्रदेश ५ र कर्णालीका जनतालाई वितरण गरिने जनाकारी दिए। अहिले खनिएको सुरुङबाट आगामी सुख्खा याममा नै भेरीको पानी बबईमा खसालेर सिँचाइ सुरु गर्ने तयारी सरकारले गरेको बताए। मन्त्री पुनले यो आयोजनाले कृषिमा क्रान्ति गर्ने विश्वास व्यक्त गरे। यसैगरी, कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले उक्त आयोजनाबाट निस्कने ४८ मेघावाट विद्युत कर्णाली प्रदेशलाई उपहारस्वरूप दिनुपर्ने माग राखे। उनले यो आयोजना निर्माणका कारण कर्णालीबासी अत्याधिक खुसी भएको भन्दै आयोजना प्रभावित क्षेत्रका जनतालाई लालपूर्जा वितरण गर्नु पर्ने र सडकको स्तरउन्नती गरिनुपर्ने बताए। यस्तै, शाहीले यो आयोजनाले तराईमा भकारी भरिने तर कर्णालीका जनता भोकभोकै हुने अवस्था नआउनका लागि कर्णालीले पनि लाभ पाउनुपर्ने बताए। यसैगरी, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कर्णालीमा खाद्य असुरक्षा भए प्रदेश ५ ले पूर्ती गर्ने बताए। कार्यक्रममा अमेरीकी र चिनियाँ राजदूत, कर्णाली प्रदेशका मन्त्री, सांसद, सरकारी अधिकारीहरू तथा सर्वसाधरणको ठूलो संख्यामा सहभागिता रहेको थियो।