Swornakshar Logo

भ्रष्टाचारविरुद्ध लड्न सहज छैनः प्रधानमन्त्री

१ बैशाख । काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूमाफियाहरुले जालझेल गरेर कब्जा गरिएका सबै सरकारी जग्गाहरु सरकारको नाममा फिर्ता ल्याउने बताएका छन् ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासको जग्गा नै भूमाफियाहरुसंग मिलेर आफ्नै पार्टीको महासचिवले पनि खरिद गरेको खुलासा भएको बेला प्रधानमन्त्री ओलीले सरकारी जग्गा झालजेल गरेर व्यक्तिको नाममा गरेको भएपनि छुट नदिइने बताए । यद्यपि भ्रष्टाचारविरुद्ध लड्न सहज नभएको बताउँदै उनले यसलाई उन्मूलन गर्न लामो समय लाग्न सक्ने पनि बताए ।

नयाँ वर्षमा बालुवाटार निवासबाट देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘तर जुनसुकै मूल्य चुकाएर भए पनि भ्रष्टाचारलाई उन्मुलन गरीछाड्ने अभियानमा म प्रतिबद्ध छु ।’
उनले भ्रष्टाचार नियन्त्रण गर्न सरकाले कदम चालिरहेको बताउँदै भ्रष्टाचारी नेपाली हुन नसक्ने समेत बताएका छन् । उनले अहिले सरकार प्रणालीगत स्थायित्व निर्माण गर्ने तहमा आइपुगेको जनाउँदै संयुक्त राष्ट्रसंघीय बालकोषको हालैको प्रतिवेदनले नेपाल सिक्ने तयारीको अवस्थामा पुगेको समेत चर्चा गरे । त्यसैगरी दातृ निकायहरुले नेपाल दक्षिण एशियाकै उदाउँदो अर्थतन्त्र भएको जनाएको समेत बताए ।

सरकारको उपलब्धीको बारेमा भने पूर्वप्राथमिक शिक्षामा नेपालको विद्यार्थी भर्नादर ८६ प्रतिशत रहेको र यो विश्वमै अगाडि छ ।

लगानीको लागि भरपर्दो वातावरण हेरी हालै सम्पन्न लगानी सम्मेलनमा उपस्थित अन्तर्राष्ट्रिय वित्तीय संस्थाका अधिकारीहरुले नेपाललाई दक्षिण एशियाको उदाउँदो अर्थतन्त्र (राइजिङ्ग स्टार) भनेको र विश्वका विभिन्न मुलुकले नेपालको शान्ति प्रक्रिया र प्रतिस्पर्धामा आधारित हाम्रो सहभागितामूलक शासन पद्दतिलाई प्रेरणादायी र अनुकरणीय मानेको प्रधानमन्त्री ओलीले बताए ।

प्रधानमन्त्री ओलीले समृद्धिको अर्को पूर्वसर्त शान्ति हो भन्दै मुलुकबाट पृथकतावाद अन्त्य भएको दावी गरे । ‘अलग देश, अलग राष्ट्रिय झण्डा, अलग राष्ट्रिय गान र अलग संविधानको अभियान चलाउँदै आएको समूहले नेपालको संविधानअनुरुप राजनीतिक क्रियाकलपामा सहभागी हुनु सामान्य विषय होइन,’ प्रधानमन्त्री ओलीले भने, ‘यससँगै मुलुकबाट पृथकतावादको अन्त्य भएको छ भन्ने सुनाउन पाउँदा सन्तोष अनुभव गरिरहेको छु ।’

ओलीले विप्लवका गतिविधि नियन्त्रण गर्न राष्ट्रिय अभियान नै चलाइएको जानकारी दिए । नेपालमा हिंसाको दुष्चक्र स्वीकार्य नहुने ओलीले बताए । प्रधानमन्त्री ओलीले भने, ‘सबैखाले अतिवाद, अशान्ति र गडबडीबाट मुलुकलाई छिट्टै मुक्त गराइने छ । लामो द्वन्द्व र संक्रमणकाल अन्त्य गरेर बल्ल स्थायीत्वको बाटोमा हिँड्न लागेको मुलुकमा अर्को हिंसाको दुष्चक्र किमार्थ स्वीकार्य हुन सक्दैन ।’

उनले अगाडि भने, ‘अहिले बिभिन्न आवरणमा सुरु गर्न लागिएको हिंसा, अतिवाद र त्यसमाथि आधारित आपराधिक गतिविधिलाई नियन्त्रण गर्ने राष्ट्रिय अभियान सुरु भएको छ ।’