Swornakshar Logo

६४ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

२८ चैत । हेटौंडा । मकवानपुर प्रहरीले ६४ केजी लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
हेटौंडा–१५ रातोमाटेबाट भारतीय गाडी सुमोमा फल्स बटम बनाई लुकाएर लैजाँदै गरेको अवस्थामा ६४ किलो गाँजासहित भारत बिहारका २८ वर्षीय समिर अहमदलाई पक्राउ गरेको हो ।

भारतीय नम्बर प्लेटको बिआर–०४ बि ००४१ नम्बरको टाटासुमोबाट गाँजा ओसारपसार गर्दै गरेको अबस्थामा प्रहरीले पक्राउ गरेको हो । टाटासुमोको छतमुनिको भागमा फल्स बटम बनाएर गाँजा भारत निकासी गर्न लागिएको अवस्थामा फेला परेको अनुसन्धानमा खटिएका प्रहरी निरीक्षक अरुणकुमार कुशवाहले बताएका छन् ।

हेटौंडाको नाका प्रवेशको क्रममा शंका लागेर सुमोलाई फर्कन लाग्दा हेटौंडाको नाका रातोमाटेमा बिशेष जाँच गरेपछि फल्स बटम बनाएर गाँजा लैजाँदै गरेको पत्ता लागेको प्रहरी निरिक्षक कुशवाहको भनाई छ ।

पछिल्लो समय मकवानपुरमा लागूऔषधको ओसारपसारमा भारतीय नम्बर प्लेटका गाडी र भारतीय नागरिकको प्रयोग हुँदै आएको छ । लागूऔषध ओसारपसार गर्ने तस्कर पक्राउ गर्न मकवानपुर प्रहरीले नसकेपनि भरीया र चालकहरुलाई भने पक्राउ गरेको छ । गाँजा ओसारपसार गर्ने काममा पनि भारतीय नागरिक बढी पक्राउ पर्ने गरेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।