Swornakshar Logo

पार्टी सभापति र जिल्ला सभापतिबीच टकराब

२१ चैत । काठमाडौँ । काँग्रेस सभापति शेरबहादुर देउवा र पार्टीका जिल्ला सभापतिहरुबीच विशेष महाधिवेशनको विषयलाई लिएर टकराब बढेको छ । जसको मूल जरो हो जिल्ला सभापतिहरुको सुझाव बेगर पार्टी विधान पारित हुनु ।

उनीहरुको असहमतिका हुदाहुदै गत मङ्सिर–पुसमा सम्पन्न महासमिति बैठकबाट पारित तथा केन्द्रीय कार्यसमितिबाट अनुमोदित विधानमा पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ । यस्तै पार्टीका पूर्वपदाधिकारी तथा सदस्य, जिल्ला सभापति, क्षेत्रीय सभापति, सङ्घीय संसदका सदस्य तथा उम्मेदवार, प्रदेशसभाका सांसद र सांसदका उम्मेदवारसम्मले एक अवधिका लागि क्षेत्रीय प्रतिनिधि स्वतः हुन पाउने व्यवस्था छ ।

यसलाई विधानबाट हटाउन र आरक्षणको सुविधा दोहोर्याउन नपाउने व्यवस्था राख्न सभापतिहरुले माग गर्दै आएका छन् । तर सभापति देउवाले बहुसङ्ख्य केन्द्रीय सदस्यको मागअनुसार विधान पारित भएको भन्दै पुनर्विचार गर्न नसकिने बताइसकेका थिए ।

तर आफूहरुका माग बेवास्ता गरेको भन्दै सभापति देउवासँग असन्तुष्ट जिल्ला सभापतिहरुले विशेष महाधिवेशनका लागि हस्ताक्षर सङ्कलन गर्ने कार्यसहित हिजोदेखि काठमाडौँको ठमेलमा भेला जारी छ ।
जिल्ला सभापतिहरुको भेलाप्रति देउवाको प्रतिक्रिया
सभापति देउवाले आफूनिकट जिल्ला सभापतिलाई उक्त भेलामा उपस्थित नहुने निर्देनश दिए पनि ४३ जिल्ला सभापति ठमेलमा जम्मा भएका छन् । जसमा सभापति देउवा पक्षका जिल्ला सभापतिहरुको एकदमै न्यून उपस्थिति रहेको छ ।

तर सभापति देउवाले विराटनगरबाट ठमेलमा भेला भएका जिल्ला सभापतिहरूलाई विशेष महाधिवेशन बोलाउन च्यालेन्ज दिएका छन् ।

उनले भने, ‘पार्टीका असन्तुष्ट २०, २५ जनाले विशेष महाधिवेशन बोलाएर हुन्छ ? यदि सक्छन् भने बोलाएर दखाऊन् । विशेष महाधिवेशन पार्टीले बोलाउँदैन तर उनीहरुले बोलाउन सके म फेस गर्न तयार छु ।’

पार्टी विधानअनुसार एक चौथाइ महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित माग गरे नेतृत्वले विशेष महाधिवेशन बोलाउनुपर्छ । होइन भने सभापति देउवाको कार्यकाल ०७६ फागुन मसान्तमा समाप्त हुन्छ । पार्टी विधानमा एक वर्ष म्याद थप्न सकिने प्रावधान छ । यसअघिका सबैजसो सभापतिले एक वर्ष कार्यकाल बढाएकाले देउवा पनि त्यसलाई निरन्तरता दिने मुडमा देखिन्छ ।

सभापति देउवाले महाधिवेशन आइरहेको भन्दै आफ्ना विरोधीहरुले विशेष महाधिवेशन बोलाउने हौवा फैलाउन थालेको जिकिर गरे । साथै सभापति देउवाले गिरिजाप्रसाद कोइराला पार्टी सभापति भएको भए पार्टीमा यस्तो अराजक गतिविधि गर्नेलाई निष्काशन गरिसक्ने दाबीसमेत गरे । जिल्ला सभापतिको भेलालाई इङ्गित गर्दै आफू केही नगर्ने र यसबारे अनुशासन समितिले निर्णय गर्ने बताए ।

यता गोप्य संयोजन गरिरहेका काठमाडौँ जिल्ला सभापति सबुज बानियाँले भने, ‘यो भेला नै होइन । भेला भनेको सार्वजनिक स्थानमा गएर ब्यानर राखेर कुनै प्रमुख अतिथि बोलाएर हुन्छ ।’

‘सभापतिविरुद्धमा बैठक बसेको होइन । आवश्यक सुझाव दिनका लागि सामान्य छलफल हो ।’ सभापति देउवाको तेजोबोध गर्ने पार्टीको विधान विपरीत भेला बोलाएको संस्थापन पक्षको आरोप छ । तर बानियाँले त्यो कुरा अस्वीकार गर्दै भने, ‘सभापतिविरुद्ध वा तेजोबोध गर्न बैठक बसेको होइन । पार्टीभित्रका आन्तरिक विषयमा छलफल गरिरहेका छौँ । सरकारको अकर्मण्य रवैयाविरुद्ध कसरी सामना गर्ने भन्नेमा आन्तरिक परामर्शका बारेमा सामान्य छलफलमा जुटेका हौँ ।’

कास्की जिल्ला सभापति कृष्ण केसीले सभापति देउवालाई ठमेल भेलाको सही ब्रिफिङ हुन नसेको बताए । ‘तपाईंले भनेअनुसार सभापतिज्यूले विशेष महाधिवेश बोलउन जिल्ला सभापतिहरुलाई चुनौतीको दिनुभएका हो भने उहाँलाई ठमेल भेलाबारे सही जानकारी नभएको पाइयो । उहाँलाई जानकारी दिनेहरुले गलत म्यासेज दिए,’ उनले भने । साथै उनले केन्द्रीय समितिले विधानमाथि पुनर्विचार गर्दा देशभरका कार्यकार्तामा पार्टी नेतृत्वप्रति विश्वास बढ्ने उनको बुझाइ थियो । कास्की सभापति केसीले केन्द्रीय समितिले पुनर्विचार नगरे बुथबाटै प्रतिनिधि आउने कुरा र एक पटक मात्र अरक्षण अवसरको एजेन्डा १४औँ महाधिवेशनमा उठ्ने जिकिर गरे ।

बानियाँको सुझाव ठमेलमा लागू
तर गत असारमा हेटौँडामा भएको जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाको संयाजन गरेका मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले ठमेलको जिल्ला सभापतिहरुको भेलालाई बेमौसमीे बाजाकोे संज्ञ दिए ।

हिजो हेटौँडामा पत्रकार सम्मेलन नै गरी जिल्ला सभापतिहरुको साझा राय विपरीत नयाँ विधान आउनु दुर्भाग्य भए पनि यसबारे विधान विपरीतका गतिविधि गर्नु गैरजिम्मेवार कार्य हुने उनको तर्क थियो ।

उनले भनेका थिए, ‘बारा र पर्सामा विपदमा परिरहेकाहरुलाई के गर्न सकिन्छ भनेर सोच्नुपर्ने बेलामा देशभरका सभापतिहरुलाई काठमाडौँ बोलानु दुःखद् र गलत हो ।’

उनको उक्त भनाइको दोस्रो दिन सभापति बानियाँले आफूहरुको छलफल बारा र पर्साका हावाहुरी प्रभावितको राहत, सरकारका पछिल्ला गतिविधि र पार्टीको आन्तरिक गतिविधिका विषयमा छलफल भइरहेको प्रतिक्रिया दिए ।

यसअघि ठमेल भेलामा पत्रकारलाई फोटो खिच्नसमेत रोक लगाइएको थियो भने नेताहरुले भेलाबारे कुनै प्रतिक्रिया दिएका थिएनन् ।

सभापति बानियाँले बारा र पर्साका हावाहुरी पीडितलाई राहत स्वरूप सम्पूर्ण जिल्ला सभापतिहरुका तर्फबाट सहयोग प्याकेज कार्यक्रम गर्ने तयारी भइरहेको बताए ।

जिल्ला सभापतिमा अनुसाशन समितिको ‘डर’
यो पटकको भेलामा जिल्ला सभापतिहरु निकै सजग बनेको देखिए । यसअघि पनि पार्टी विधान विपरीत जिल्ला सभापतिहरु नुवाकोटको ककनीमा भेला भएका थिए । त्यहाँ सञ्चारकर्मीको एक टोली नै लगिएको थियो ।

ककनी भेलाको संयोजन गरेका नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह केसी पार्टी सभापति देउवामाथि खनिएका थिए । तर जिल्ला सभापतिहरु ठमेलको भेलाबारे पत्रकारलाई जानकारी दिनसमेत हच्किए ।

सभापति बानियाँसँग प्रतिक्रिया निकै जोडबलपछि गर्नुपर्ने स्थिति बन्यो । तर उनले जिल्ला सभापतिहरुको भेला कसैका विरुद्ध नभएको भन्दै भेलाको बचाउ गरे । यसअघि सभापति देउवाको खरो आलोचना गर्ने असन्तुष्ट खेमाका जिल्ला सभापतिहरू पछिल्लो समय सभापति देउवाविरुद्ध बोल्नै छाडेका छन्, जसको कारण हो अनुशासन समितिबाट कारबाहीको डण्डा चल्ने भय । चैत ४ र ५ गते बसेको केद्रीय कार्यसमिति बैठकले भीष्मराज आङ्देम्बेको नेतृत्वमा अनुशासन समिति गठन गरेको थियो ।

उक्त समितिले पार्टीभित्र अराजक गतिविधि गर्ने र समाजिक सञ्जालमा नेताहरुविरुद्ध लेख्नेलाई कारबाहीको चेतावनी दिएको थिए ।

गोप्य भेला गर्नु भयो, सबै नेताहरु मौन हुनुहुन्छ भन्ने रातोपाटीको प्रश्नमा नाम नखुलाउने सर्तमा भेलामा सहभागी एक जिल्ला सभापतिले आफूहरुको रणनीतिक बैठक भएकाले जथाभावी नबोल्ने निर्णय भएको बताए ।

‘पार्टीले अनुशासन समिति बनाइसकेको छ । साथै समितिले पार्टीका नेता कार्यकर्ताको पछिल्लो गतिविधिको वाच गरिरहेको छ । सामाजिक सञ्जालमा समेत निगरानी राखेको छ । यसबाट त बच्नै पर्यो नि ।’