Swornakshar Logo

मकवानपुरको मनहरीमा ६ करोड लगानीमा ३ हजार घरधुरीलाई खाने पानी

२२ माघ । हेटौडा । मनहरी गाउपालिकाले खानेपानी आयोजना ल्याउन थालेको छ । करिब ६ करोडको लागतमा गाउँपालिका धेरै वडामा खानेपानी ल्याउन थालेको छ । केही महिनाभित्र घरघरै धारामा पानी झर्ने छ । गाउँपालिकाका ३ हजारघरघुरीलाई आगमी मंसिरसम्ममा घरघरै धारामा पानी आउने व्यवस्था गर्न लागिपरेको गाउपालिका अध्यक्ष एकराज उप्रेतिले बताए ।
मनहरी गाउँपालिकाले आर्थिक वर्ष २०७४÷०७५ र चालु आव २०७५÷०७६ मा गरी ६ करोडको लगानीमा पिउने पानीको समस्यालाई सम्बोधन गर्ने योजना अगाडी बढाएको छ ।
मनहरी ८ र ९ को संयुक्त योजनाका लागि गाउँपालिकाले १ करोड विनियोजन गरेको छ भने प्रदेश सरकारले पनि यो योजनालाई १ करोड विनियोजन गरेको छ । मनहरी–४ डोलबारी र ज्यामिरे दोभानमा चालु आवको लागि १ करोड विनियोजन गरिएको छ, जसमा गत आवको ६० लाखबाट २ स्थानमा बोरीड्ड गरेर पिउने पानी निकाल्ने काम सकिएको छ ।

मनहरी–६ लोथर र मनहरी–७ विजौनामा क्रमश ७० र ३५ लाख विनियोजन गरिएको छ यि योजनाहरु कार्यान्वयनको क्रममा छ । मनहरी–१ मा ५० लाख विनियोजन गरिएको छ । यसैगरी मनहरी ५ मा २५ लाखको योजनाको डीपीआर सकिएको छ, मनहरी–३ मा डीपीआर हुदैंछ । मनहरी गाउँपालिका वडा नम्बर ७ को विजौना र वडा नम्बर ६ को लोथरमा पनि छुट्टाछुट्टै बोरिङ गरेर पानी निकाल्ने काम सकिएको छ । ‘आगामी मंसिरसम्म सबै स्थानीयहरुको घरघरमा मिटर धारा जडान गरेर पानी खुवाउने लक्ष्यमा लागेका छौं’ गाउपालिका अध्यक्ष उप्रेतिले भने ‘सधैंको लागि पिउने पानीको समस्या समाधान गर्न, ब्यवस्थित खानेपानी विभाग नै गठन गरेर, बसै जिम्मेवारी दिने हाम्रो योजना छ ।’