Swornakshar Logo

जनकपुर–जयनगर चल्ने रेल खरिद प्रक्रिया सुरु

२१ माघ । काठमाडौं । जनकपुरदेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि सरकारले खरिद प्रक्रिया अगाडि बढाएको छ ।

मन्त्रिपरिषद्को गत पुस २९ गते बसेको बैठकले रेल खरीद गर्ने निर्णय गरेकामा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहतको रेल विभागले रेल खरिदका लागि तयारी गरेको हो ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा रेल खरिदका लागि ५० करोड रुपैंया विनियोजन गरेकामा दुईवटा रेल खरिदका लागि उक्त बजेटले पुग्ने अवस्था नरहेको विभागको भनाइ छ । विभागकाअनुसार दुई वटा रेल र त्यसमा रहने ५ देखि १० वटा डिब्बाका लागि कम्तीमा पनि रु एक अर्ब ५० करोड आवश्यक पर्छ । यसका लागि अर्थ मन्त्रालयबाट थप बजेट उपलब्ध हुने विश्वास लिइएकोे छ ।

मन्त्रिपरिषद्को बैठकले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई रेल खरिदका लागि सैद्धान्तिक स्वीकृति दिएपछि खरिद प्रक्रिया शुरु भएको विभागका प्रवक्ता अमन चित्रकारले बताए।

जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि प्रक्रिया अगाडि बढिरहेका बेला सरकारले सरकारीस्तरबाटै रेलका इञ्जिन खरिद गर्न लागेको हो । सरकारीस्तरमा नै दुई वटा रेल खरिद गरिनेछ । त्यसका लागि विभागले भारतका सरकारी कम्पनीसँग प्रस्ताव गरेको छ । केही प्रस्ताव भने प्राप्त भइसकेकोे छ ।

रेलका साथै कर्मचारी तथा प्राविधिक पनि आवश्यक पर्ने भएकाले नेपाली प्राविधिक तथा कर्मचारीलाई तालिम दिन जुन कम्पनीसँग रेल खरिद गरिन्छ त्यसैसँग सम्झौता गर्ने तयारी विभागको छ ।

पहिलो चरणमा कूल ३५ किलोमिटर लामो उक्त रेलमार्गमा रेल चलाउने तयारी भएको छ । रेलमार्गमा एक चरणको परीक्षण सम्पन्न भइसकेको छ ।

बर्दिवास –जनकपुर– जयनगर– कुर्था– विजयपुराको कूल लम्बाइ ६९ किलोमिटर छ । त्यसमा पनि ३५ किलोमिटर रेलमार्ग निर्माण भइसकेर हस्तान्तरण गर्ने अवस्थामा पुगेको छ । अन्य खण्डको भने निर्माण जारी रहेको छ । पहिलो चरणमा जयनगर–कुर्था, दोस्रो चरणमा कुर्था– भङगहा १७ किलोमिटर तथा तेस्रो खण्डमा भङ्गहा–बर्दिवास १७ किलोमिटर गरी कूल ६९ किलोमिटर लामो रेलमार्ग विस्तार गरी सञ्चालनमा ल्याइनेछ ।

निर्माण भएको रेलमार्ग भने केही दिनभित्रै भारतीय पक्षले नेपाल सरकारलाई हस्तान्तरण गर्ने जानकारी गराएको छ । भारत सरकारको १० अर्ब रुपैंया सहयोगमा उक्त रेलमार्ग निर्माण भएको हो । निर्माण भएको रेलमार्ग ब्रोडगेज हो ।