Swornakshar Logo

कांग्रेसका युवा नेताहरु देउवा विरुद्ध जुट्दै

३० कार्तिक ।

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेताहरु सभापति शेरबहादुर देउवा विरुद्ध एक हुदै छन् । महासमिति बैठकको तयारी गरिरहेको छ नेपाली काँग्रेस। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पछि संस्थापन पक्षसँग असन्तुष्ट समूह पछिल्लो समयमा सभापति शेरबहादुर देउवालाई घेराबन्दीमा पार्ने रणनीति बनाइरहेको छ ।
महासमिति बैठकसम्म सभापति देउवालाई घेराबन्दीमा पारेर दबाबमा राख्ने र आगामी महाधिवेशनमा नेतृत्व लिने तयारीमा रहेको असन्तुष्ट समूह बेला–बेलामा कोठे बैठक गर्दै आएको छ । सभापति देउवाका समकालीन नेताहरु उनीविरुद्ध मोर्चाबन्दी गर्दै एकठाउँमा भेला भइरहेकै बेला गत बुधबार युवा नेताहरु पनि छुट्टै छलफलमा जुटे ।

महासमिति बैठकको पूर्वसन्ध्यामा कांग्रेसका युवा नेताहरुले काठमाडौंको पुरानो बानेश्वरस्थित एक होटलमा छुट्टै छलफल गरेका हुन् । बैठकमा प्रभावशाली युवा नेताहरु चन्द्र भण्डारी, धनराज गुरुङ, गुरुराज घिमिरे, गगन थापा, बद्रीप्रसाद पाण्डे र जीवन परियार उपस्थित थिए ।
उनीहरुले आज (शुक्रबार) पार्टीका थप युवा नेताहरुलाई बोलाएर फेरि छलफल गर्ने तयारीसमेत गरेका छन् । पार्टीभित्रको आन्तरिक विवादमा रुमल्लिएको कांग्रेसलाई मजबुत बनाउन युवा नेताहरु एक ठाउँमा आउने प्रयास स्वरुप छलफललाई अगाडि बढाइएको नेताहरुले बताएका छन् ।

पार्टीलाई एकढिक्का बनाउने उदेश्यले छलफल गरेको अर्का सहभागी जीवन परियारले बताए ।
निकट भविश्यमा नै महासमितिको बैठक बस्दैछ । महासमितिको बैठकमा अनुमोदनका लागि विधानको मस्यौदा आउँदै छ । मस्यौदा कस्तो ढंगबाट आउँदैछ, त्यसमा हाम्रो धारणा के हुने भन्ने कुराहरुपनि छन् । पार्टीले गठन गरेको विधान संशोधन मस्यौदा समितिको औपचारिक विधान मस्यौदा केही दिनमा आउँदैछ । उक्त विधानको मस्यौदालाई अझै राम्रो बनाउनका लागि थप सल्लाह, सुझाव के दिन सकिन्छ भनेर आन्तरिक तयारी गरिरहेका छौं ।
हामी युवाहरुको आन्तरिक छलफल सभापति शेरबहादुर देउवालाई घेराबन्दीमा पार्ने भन्ने हुँदै होइन । अव हाम्रो छलफललाई कसले, कसरी, कस्तो तरिकाले ब्याख्या गर्छ, थाहा छैन् । पार्टीलाई सुदृढिकरण गर्नका लागि, पार्टीलाई सशक्त बनाउनका लागि र पार्टीलाई आधुनिकता दिनका लागि छलफल गर्न जरुरी छ । हाम्राबीचमा भिन्नभिन्न मतहरु छन्, त्यसलाई एकढिक्का कसरी बनाउने भन्ने नै हाम्रो उदेश्य हो ।
सभापति देउवाकै नेतृत्वमा हरेक कामहरु अगाडि बढी रहेका छन् । बाहिर सञ्चार माध्यममा आएको जस्तो र अरु नेताहरुको छलफलमा भइरहेको भनिएको तयारी र सभापतिका बारेमा निर्णय गर्ने भनेको त महाधिवेशनले हो । पार्टीलाई अझ राम्रो बनाउने भन्ने नै हाम्रो मुख्य चिन्तन हो ।
एकजुट भएर जाउँ भन्ने प्रयासकालागि छलफल गरेको गगन थापाले बताए ।

हामी समूह, गुटमा लागिरहेका पार्टीभित्रका मानिसहरु एक ठाउँमा आएर के कुरालाई आत्मसात गरेको हो भने सबै धन्दाहरु छाडौंं, हामीले अलि आँट गरेर केही कामहरु गर्यो भने पार्टीको सुधारका निम्ति ठोस कदम चाल्न नेतृत्वलाई बाध्य बनायौं भने हामी रहौंला नरहौंला केही अर्थ राख्दैन । पार्टी ठिक ठाउँमा आउँछ भनेर हामीले निर्वाचनमा व्यहोरेको असफलताको लगत्तै पछाडि एउटा अभियान सुरु गरेको थियौं । जसमा टेक्दै हामीले साझा धारणा बनायौं र केन्द्रीय समितिमा लग्यौं । हामी युवा नेताहरुको छलफल पनि त्यसकै निरन्तरता हो ।

बुधबार बसेको बैठक मुलतः विधान, महासमितिको बैठकमा कसरी प्रस्तुत हुने, पार्टीको दस्तावेजहरुमा हाम्रो धारणलाई कसरी लिपिवद्ध बनाउने भन्ने विषयमा छलफल गर्यौं । अर्को हामीले छलफल गरेको विषय भनेको पार्टी करिब–करिब कार्यक्रमबिहिन जस्तो भएको छ, यस्तो बेलामा त अहिले नेताहरुको जुन दोडाहा देखिन्छ त्यो भनेको कोठाभित्र साथीहरुको बीचमा भएको कार्यक्रम मात्रै हो ।

सञ्चार माध्यम छ र पो फलानो नेताले फलानो कुरो गर्यो भन्ने थाहा हन्छ । तर परिचालनका हिसाबले हेर्ने हो भने त कुनै कार्यक्रम नै भएको छैन् । यो बेला त देशभर आमसभाका कार्यक्रम हुनुपर्ने, सम्मेलनहरु हुनुपर्ने हो । यस्तो कार्यक्रमविहीन अवस्थामा पार्टीलाई राख्नु हुन्न र त्यसका लागि के गर्न सकिन्छ भन्ने कुरामा पनि हामीहरुबीच छलफल भयो ।

हामीहरु फरक–फरक दस्तावेज बनाउने समितिहरुमा बसेर काम गरिरहेका छौं । एक अर्कालाई हामीले थोरै प्रारम्भिक अनुभवहरु साटासाट गर्यौं । हाम्रो मुल चाहना भनेको हामी युवाको धारणा पार्टीको मुल दस्तावेजमा जाओस् भन्ने हो । हामीहरु पार्टीभित्र नेताहरुका लागि सहज टूल जस्ता मात्र बन्यौं । हामीहरु फरक–फरक समूहरुमा छौं र हामीहरुलाई परेका बेलामा ‘टोकन’ का रुपमा उपयोग गरियो ।

हामीहरु एक ठाउँमा आउँदै गर्दा त हामीहरुको एउटा ‘कलेक्टिभ स्ट्रेन्थ’ ले कहाँ पुर्याउछ भने हिजो जुन विषय हामीहरुको माग थियो, यस्तो हुनुपर्छ भन्ने कामना थियो । आज हामी युवा एक ठाउँमा रहिरहन सक्यौं भने पार्टीको नीतिमा त्यो विषय समावेश गर्नलाई नेतृत्वलाई बाध्य बनाउन सक्ने सामर्थ राख्न सक्छौं । यसलाई अभैm फराकिलो बनाऔं, भनेर आज फेरि थप साथीहरु बोलाएर छलफल गरिरहेका छौं ।

चरणवद्ध बस्दै जाऔं, यो–त्यो नभनौं । यो छलफलमा छलफल गर्दा नेतृत्वको बारेमा छलफल नगरौं, ‘लाइक–डिसलाइक’ का आ–आफ्ना कुराहरु होलान् । छलफलमा आफ्ना बारेमा पनि कुरा नगरौं, भोली हामी को कहाँ पुग्छौं । हामै्र बीचमा प्रतिष्पर्धा होला, यही समूहमा बसेका साथीहरुका बीचमा भोली एक–अर्कासँग चुनावी प्रतिष्पर्धा गर्नुपर्ने अवस्था आउन सक्छ । त्यो पनि केही फरक छैन, तर पार्टीको मेजर रिफमको कुरा आउँछ– एकजुट भएर जाउँ भन्ने हामी युवा नेताहरुको प्रयास हो ।