Swornakshar Logo

यी हुन ‘मिटू’ अभियान सुरु गर्ने महिला

समाचार एजेन्सीहरुको सहयोगमा 

१० कार्तिक । काठमाडौं । अहिले संसारभरी एउटा अभियान चर्चित छ, मिटू । यौन दुर्व्यवहार गर्नेविरुद्ध बालिका र महिलाहरुले यो अभियानमार्फत् संसारभरी नै कुरा खोलिरहेका छन् । त्यसका कारण सयौंको संख्यामा मानिसहरुको जागिर समेत गइसकेको छ । अहिले यो अभियान संसारभरी घरघरको चासोको विषय भइरहेको छ ।

नेपालमा पनि यो प्रकरणमा छिटपुट कुरा उठेका छन् । तर, बाहिरी विश्वमा जति उठेका छन् र परिणाम नै ल्याएका छन्, त्यति भने भइसकेको छैन । खुला समाज भएको पश्चिमी दुनियाँ मात्र होइन, कम्युनिष्ट देशका रुपमा चिनिने चीन र मुश्लिम देशका बन्द समाजमा पनि यसको चर्चा भइरहेको छ ।

छिमेकी भारतमा विदेश राज्यमन्त्रीले हालै राजीनामा दिनुपर्ने अवस्था आयो भने त्यहाँका थुप्रै कलाकारदेखि पत्रकारसम्म पनि यो मुभमेन्टमा तानिएका छन् । संसारकै सरकारी तथा गैरसरकारी निकायमा पनि यसको प्रभाव उत्तिकै परिरहेको छ ।

यो अभियानको जति चर्चा छ, यसको पछाडिका एक जना पात्रको बारेमा भने निकै कमलाई मात्रै जानकारी हुन सक्छ । उनी हुन्— तारना बुर्के । बुर्केले नै यो अभियानको क्वाइन गरेकी हुन् । बुर्के एक नागरिक अभियन्ता हुन् । जसले सन् २००६मा मिटू अभियानको सुरु गरेकी थिइन् । जुन अहिले आएर यौन दुर्व्यहार विरुद्धको विश्वव्यापी अभियान नै बनेको छ । यो अभियान सन् २०१७बाट उत्कर्षमा आएको हो ।

को हुन् बुर्के

तारना बुर्केको जन्म सन् १९७३को सेप्टेम्बर १२ मा अमेरिकाकोे न्यूयोर्कमा भएको थियो । उनी अफ्रिकी —अमेरिकी नागरिक अधिकार अभियन्ता हुन् । उनले नै सन् २००६मा मिटू अभियान सुरु गरेकी थिइन् । जुन विश्वव्यापी रुपमा अहिले अघि बढेको छ । यो कहाँ पुगेर कुन रुपमा रोकिन्छ भन्ने कुरा अज्ञात छ । तर, यसले सामाजिक रुपमा सुधार हुनैपर्ने बाध्यात्मक अवस्थामा मानिसलाई पुर्याउँदै छ । सन् २०१७मा बुर्के र अन्य प्रभावशाली महिला अभियन्तालाई प्रख्यात टाइम म्यागेजिनले ‘द साइलेन्स ब्रेकर’को उपमा दिएको थियो । अहिले उनी ‘गर्ल्स फर जेन्डर इक्विटी इन ब्र्रुकलिन’मा बरिष्ठ निर्देशकका रुपमा कार्यरत छन् ।

चर्चामा मिटू
सन् २०१७को अक्टोबर १५ का दिन अपरान्ह ४ः २१ बजे नायिका अलिसा मिलानोले ट्विटरमा यौन दुर्व्यवहार, दुरुपयोग र ज्यादतिमा परेकाहरुलाई विश्वव्यापी पहिचानका लागि आमन्त्रण गरेकी थिइन् । मिलानोको ट्विट हलिउडका फिल्म प्रोड्युसर हार्भे उइन्स्टीनको दशक लामो यौन दुराचारको बारेमा न्यूयोर्क टाइम्सले समाचार बनाएको भोलिपल्ट आएको हो । केही घण्टाको अवधीमा नै मिटू सामाजिक सञ्जालमा भाइरल बन्न पुग्यो । लाखौंको संख्यामा मानिसहरुले यौन दुर्व्यहारका आफूसँग सम्बन्धित कथाहरु त्यहाँ भने ।

केही दिनमा नै ४० हजार मानिसले मिलानोको ट्विटमा प्रत्यक्ष रुपमा प्रतिक्रिया जनाएका थिए भने १ करोड २० लाखभन्दा बढी मानिसले ट्विटर, फेसबुक र इन्स्ट्रागाममा ह्यासट्याग प्रयोग गरेका थिए । र, अहिले मिटू अभियान विश्वव्यापी भएको छ र यौन हिंसा वा दुव्र्यवहारको शिकार भएकाहरुका लागि यो अभियान साझा चौतारो बन्न पुगेको छ ।

तारना आफूले तयार पारेको फ्रेज (वाक्यांश) ‘मिटू’ मिलानोबाट प्रयोग गरिंँदा छक्क परेकी थिइन् । अनि रातारात ठूलो संख्यामा फलोवर बढेको देखेर पनि उनी आश्चर्यचकित भइन् । उनले आफ्नो एक दशक भन्दा अघिको अभियान अहिले संसारका पीडित बालिका तथा महिलाहरुको लागि ठूलो मद्दत गर्ने माध्यम बन्छ भन्ने कुरा सपनामा पनि सोचेकी थिइनन् ।

ओरिजनल मिटू

तारना बुर्केले नै ‘मिटू’ क्वाइन गरेकी हुन् । त्यतिबेला उनी बी इन्क भन्ने गैरनाफामूलक कम्पनीमा काम गर्थिन् । कम्पनी सन् २००३मा स्थापना भएको हो । सो कम्पनी कम उमेरका कालो वर्णका महिलाका हक हितका क्षेत्रमा केन्द्रीत थियो । बुर्के एउटी त्यस्ती बालिकाको बारेमा कुरा गर्दै थिइन्, जसको आमाको केटा साथीले उनलाई दुरुपयोग गरिरहेको थियो ।

बुर्केले त्यसरी पीडित बन्नु परेका बालिकाहरुलाई सहानुभूति खोज्ने खालको शब्द खोजिरहेकी थिइन् । ताकि कैयौंको संख्यामा त्यसरी पीडित बन्नुपरेका महिला वा बालिकाहरुले आफ्नो धारणा व्यक्त गर्न सकुन् । बुर्केले त्यो सन्देश सबैतिरका पीडित महिलाहरुलाई सेयर गरिन् । उनको भनाइ थियो, ‘तिमी एक्लै छैनौ । यो मलाई पनि भएको छ’, अर्थात्‘‘ यु आर नट अलोन, दिस ह्यापेन्ड टु मिटू ।’’ यसबाट नै उनको ‘मि टू’ फ्रेज संसारभरीकै महिला र बालिकाहरुलाई यौनजन्य दर्व्यवहार विरुद्धको अभियानको रुपमा चर्चित भएको सीएनएनसँगको एक अन्तर्वार्तामा बुर्केले भनेकी छन् ।

‘‘एउटा हिसाबले यो एउटा महत्वपूर्ण भनाइ थियो कि म लज्जित छैन र म एक्लै पनि छैन । अनि अर्कातर्फ त्यो पीडामा परेकाहरुलाई म तिमीलाई हेर्छु । मैले तिमीलाई सुनेँ । म तिमीलाई बुझ्छु र म तिम्रो लागि यहाँ छु भन्ने खालको सन्देशपनि थियो,’ उनले भनिन् ।

बुर्के यौनजन्य ज्यादतिका बारेमा सचेत थिइन् । उनी स्वयं पनि तीन पटक यौन ज्यादतीबाट पीडित थिइन् । उनको सुरुको अभियान तुस्केगी र अलाबामाका बालिकाहरुमा केन्द्रीत थियो । त्यहाँ पछाडि परेका ती बालिकाहरुलाई यौन दुर्व्यवहार भइरहेको अवस्थामा उनले त्यो प्रारम्भिक अभियान चलाएकी थिइन् । एउटा कोठामा त्यहाँ ३० जनासम्म बालिकाहरु राखिएका थिए । लगभग २० वर्ष उमेरका उनीहरु ५ वा ६ जनासँग ‘मिटू’ मा उल्लेख गर्नुपर्ने कथाहरु रहेका थिए ।

करियर
बुर्केले आफ्नो करियर अलाबामाको सेल्मामा ‘२१ औं शताब्दी युवा नेतृत्व अभियान’बाट सुरु गरेकी थिइन् । सन् २००३मा उनी अल्पसंख्यक समूहमा रहेका बालिकाहरुको मद्दत गर्नको लागि जेन्दायी अजा को सहसंस्थापक भइन् । जुन पछि गएर बी इन्कमा नै समावेश भयो । उनी सन् २००८मा फिलाडेल्फिया गएर आर्ट स्यानचुरी फिलाडेल्फियामा पनि काम गरिन् ।

बुर्केले ओस्कारका लागि मनोनयनमा परेको फिल्म सेल्मा (२०१४)मा कन्सल्ट्यान्टको रुपमा काम गरिन् । जुन फिल्म सन् १९६५ मा सेल्माबाट मोन्टोगोमेरी सम्मको मार्टिन लुथर किङ्ग जुनियरको भोटिङ्ग राइट्स मार्च सम्बन्धी थियो । उनी अहिले गल्र्स फर जेण्डर इक्विटी इन ब्रुकलिनमा बरिष्ठ निर्देशकको रुपमा काम गर्छिन् ।

र, उनी यौन दुर्व्यवहारका पीडित बनेकाहरुको सहयोगको लागि सार्वजनिक वक्ताको रुपमा पनि व्यस्त रहेकी छन् । उनले आफ्नो ‘मि टू’ अभियानको वेबसाइट पीडितहरुलाई बृहत रुपमा सहयोग पुर्याउने रिसोर्स टूलका रुपमा समेत विकास गर्न चाहेकी छन् ।

सम्मान
२०१८मा बुर्केले टाइम्स स्क्वायरमामा नयाँ वर्षको अवसरमा बल ड्रप गर्ने अवसर पाएकी थिइन् । यसैगरी उनलाई नायिका मिचेल विलियम्ससँगै सन् २०१८को ७५ औं गोल्डेन ग्लोब अवार्डमा सम्मान गरिएको थियो । दुवैमा बुर्केलाई आफूले उठाएको ‘मि टू ’अभियानबारेमा मिडियासँग छलफल गर्ने अवसर मिल्यो । उनलाई सन् २०१८मै भोटी (भ्वाइस अफ द इयर) क्याटालिस्ट अवार्ड सी नोज् मिडियाले दिएको थियो ।

परिवार र प्रारम्भिक जीवन
तारना बुर्केको जन्म सन् १९७३को सेप्टेम्बर १२ मा न्यूयोर्कमा भएको थियो । उनको बाल्यकाल कठिन रहेको मानिन्छ । उनी न्यून आय भएको र हाउजिङ्ग प्रोजेक्टमा काम गर्ने एउटा परिवारमा हुर्केकी हुन् । बच्चै हुँदा र पछि किशोरावस्थामा पनि उनी यौनजन्य हिंसाको शिकार भएकी थिइन् । उनकी आमाले उनको पुनस्र्थापनाका लागि मद्दत गरिन् ।

आमाले नै उनलाई सामुदायिक कार्यमा ‘इन्गेज’ गराइन् । उनलाई त्यसबाट नै जटिल समश्यामा रहेका बालिका र महिलाहरुको जीवनमा सुधार ल्याउनका लागि काम अघि बढाउन सधैं प्रेरित गर्यो । उनकी छोरी काइया बुर्केको जन्म १९९८मा अलाबामाको सेल्मामा नै भएको थियो । तारनाले सिंगल मदरकै रुपमा उनलाई हुर्काइन् । तारनाले अहिले आफ्नोबारेमा ‘हियर द लाइट इन्टरः द फाउण्डिङ्ग अफ द मि टू मुभमेन्ट’ पुस्तक लेख्दै गरेको र उक्त पुस्तक सिमोन एण्ड चुस्टर इम्प्रिन्ट इन्कले सन् २०१९मा प्रकाशित गर्ने जनाइएको छ ।