Bagmati Samachar Logo

कोरियाको सबैभन्दा ठूलो बहुसांस्कृतिक कार्यक्रम माम्फमा नेपालको भव्य सहभागीता हुदै

दक्षिण कोरिया । दक्षिण कोरियाको छाङ्वनमा आगामी अक्टोबर २३ देखि २५ गतेसम्म आयोजना हुने दक्षिण कोरियाकै ठूलो सांस्कृतिक विविधता महोत्सव माम्फ २०२६ मा नेपाली समुदायले विशेष र भव्य सहभागिता जनाउने भएको छ।

माम्फ अर्थात् माइग्रेन्ट्स अरिराङ बहुसांस्कृतिक महोत्सव’ को सुरुवात सन् २००५ मा सियोलबाट भएको थियो। सन् २०१० देखि छाङ्वनमा निरन्तर आयोजना हुँदै आएको यो महोत्सव अहिले कोरियामा रहेका विभिन्न देशका आप्रवासी समुदायको कला, संस्कृति र पहिचान प्रस्तुत गर्ने प्रमुख अन्तर्राष्ट्रिय सांस्कृतिक मञ्चका रूपमा स्थापित भएको छ। पछिल्ला वर्षहरूमा माम्फ मा २० भन्दा बढी देशका समुदायको सहभागिता रहँदै आएको छ भने २०२५ को संस्करणमा २१ देशका टोलीले सांस्कृतिक विविधता परेडमा सहभागिता जनाएका थिए।

यसै अन्तर्राष्ट्रिय मञ्चमा नेपाली समुदायले पनि हरेक वर्ष आफ्नो मौलिक कला, संस्कृति, भेषभूषा, नृत्य तथा सांस्कृतिक पहिचानलाई प्रस्तुत गर्दै आएको छ। दक्षिण कोरियाको ख्याङ्नाम क्षेत्रमा सक्रिय प्रतिनिधिमूलक संस्था ख्याङ्नाम नेपाली समाजले विभिन्न नेपाली संघ–संस्था तथा समुदायसँग सहकार्य गर्दै माम्फ मा नेपालको विविधता, मौलिकता र सांस्कृतिक एकतालाई अन्तर्राष्ट्रिय समुदायमाझ चिनाउने कार्य गर्दै आएको छ।

विगतका वर्षहरूमा माम्फमा नेपाली समुदायले आकर्षक सांस्कृतिक प्रस्तुति दिँदै आएको छ। गत वर्ष नेवारी संस्कृति झल्काउने जीवित देवी कुमारी र लाखे नाचसहितको सांस्कृतिक परेड प्रस्तुत गरिएको थियो भने त्यसअघिको वर्ष बौद्ध स्तूपसहितको सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो। नेपाली समुदायका यस्ता मौलिक प्रस्तुतिले माम्फका दर्शकहरूको विशेष ध्यान आकर्षित गर्दै आएको छ।

यस वर्ष भने नेपाली समुदायले अझ फरक, मौलिक र विविधतापूर्ण प्रस्तुति दिने तयारी गरेको छ। मगर संघ थेगुसँगको सहकार्यमा माम्फको सांस्कृतिक विविधता परेडमा मगर समुदायको मौलिक संस्कृति, कौडा तथा रोधी परम्परा, मगर पोशाक, नृत्य तथा बाजागाजासहितको भव्य प्रस्तुति गर्ने तयारी भइरहेको ख्याङ्नाम नेपाली समाजले जनाएको छ। माम्फको सांस्कृतिक विविधता परेड अक्टोबर २५ गते आयोजना हुँदैछ।

यसका साथै यस वर्षको माम्फमा नेपालबाट आमन्त्रित कलाकार बबिना किरातीको विशेष प्रस्तुति, दक्षिण कोरियामा रहनुभएका नेपाली कलाकारहरूको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति र पञ्चेबाजा टोलीको शानदार प्रस्तुति समेत रहने बताइएको छ। यी प्रस्तुतिले नेपाली समुदायको सांस्कृतिक पहिचानलाई अझ व्यापक रूपमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

ख्याङ्नाम नेपाली समाजका अध्यक्ष रवी खवासले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि नेपाली समुदायले आफ्नो मौलिक संस्कृति र विविधतामार्फत नेपाललाई गर्वका साथ प्रस्तुत गर्ने बताए। उनले मगर संस्कृतिसहित नेपालका विभिन्न कला, संस्कृति र परम्पराहरुको प्रस्तुति माम्फको विशेष आकर्षण बन्ने विश्वास व्यक्त गरे।

त्यसैगरी, माम्फ २०२६ कुनै एक संस्था वा समूहको मात्र कार्यक्रम नभई दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली समुदायको साझा प्रतिनिधित्व गर्ने अवसर भएको बताए।

उनले भने, “यो कार्यक्रम हाम्रो समाजको मात्र नभई विदेशमा नेपाललाई चिनाउने हामी सबै नेपालीको साझा कार्यक्रम हो। त्यसैले कोरियामा रहनुभएका सम्पूर्ण बौद्धिक वर्ग, विभिन्न संघ–संस्थाका प्रतिनिधिज्यूहरू तथा नेपाली दाजुभाइ–दिदीबहिनीहरूले यस कार्यक्रमलाई आफ्नै कार्यक्रमका रूपमा अपनत्व लिएर सक्रिय सहभागिता जनाइदिनुहुन हार्दिक आग्रह गर्दछु।”

महासचिव दिपक आचार्यले आगामी दिनमा पनि माम्फ जस्ता अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालका विभिन्न जातजाति, भाषा, कला, संस्कृति र मौलिक परम्परालाई निरन्तर प्रस्तुत गर्दै नेपालको सांस्कृतिक विविधता र एकतालाई विश्वसामु चिनाउने अभियानलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे।

उनका अनुसार माम्फमा नेपाली समुदायको सहभागिता केवल सांस्कृतिक प्रस्तुति मात्र नभई ‘विविधतामा एकता’ बोकेको नेपाललाई अन्तर्राष्ट्रिय समुदायमाझ चिनाउने महत्वपूर्ण अवसरका रूपमा लिइएको छ।