भोटेकोसी बाढी पीडितको उद्धार तथा राहतमा वितरणमा युवा संघ
काठमाडौं । भोटेकोसीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि युवा संघ नेपाल निरन्तर खटिएको छ। बाढीका कारण जनजीवन प्रभावित बनेको कठिन परिस्थितिमा मानवीय सेवाको भावनालाई प्राथमिकता दिँदै संघका युवा स्वयंसेवकहरू प्रभावित क्षेत्रमा पुगेर उद्धार तथा राहत वितरणमा सक्रिय भएका हुन्।
बाढीबाट प्रभावित तथा विस्थापित परिवारलाई तत्काल आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा, पानी, बालबालिकाका लागि आवश्यक सामग्रीलगायतका राहत सामग्री उपलब्ध गराउँदै आएको युवा संघ नेपालका संयोजक धर्म शाहिले बताए। साथै, जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा उद्धार कार्यमा खटिएका स्वयंसेवकहरूलाई आवश्यक सहयोगसमेत गर्दै आएको छ।
आपत्कालीन अवस्थामा पीडित परिवारलाई घरदैलोमै पुगेर राहत उपलब्ध गराउने कार्यले स्थानीयवासीलाई ठूलो राहत पुगेको छ। बाढीले घरबार तथा दैनिक जीवन प्रभावित बनाएका परिवारका लागि खाद्यान्न र आवश्यक सामग्रीको अभाव हुन नदिन संघका स्वयंसेवकहरू निरन्तर परिचालन भइरहेका छन्।

युवा संघ नेपालका अभियानमा संलग्न युवाहरूले विपद्को समयमा सामाजिक सञ्जाल तथा प्रचार–प्रसारमा भन्दा प्रत्यक्ष रूपमा पीडितको दुःखमा साथ दिनु नै आफ्नो मुख्य उद्देश्य रहेको बताएका छन्। उनीहरूका अनुसार विपद्को समयमा एक–अर्कालाई सहयोग गर्नु नागरिकको साझा दायित्व भएकाले आफूहरू सकेसम्म प्रभावित नागरिकको साथमा उभिएका हुन्।
स्थानीयवासीहरूले समेत युवा संघ नेपालका स्वयंसेवकहरूले संकटको समयमा प्रभावित क्षेत्रमा पुगेर गरेको उद्धार तथा राहत सहयोग प्रशंसनीय रहेको बताएका छन्। बाढीबाट उत्पन्न कठिन परिस्थितिमा राज्यका निकाय तथा विभिन्न संघसंस्थासँग सहकार्य गर्दै थप राहत तथा उद्धारका कार्यलाई निरन्तरता दिनुपर्ने आवश्यकता रहेको बताए।
उनले भने, ‘प्रचार होइन, पीडितको पीडामा साथ’ भन्ने भावनाका साथ युवा संघ नेपालले सञ्चालन गरिरहेको राहत तथा उद्धार अभियानले विपद्को समयमा युवाशक्तिको सामाजिक उत्तरदायित्व र मानवीय संवेदनालाई समेत उजागर गरेको छ। संघले आगामी दिनमा पनि आवश्यकताअनुसार प्रभावित परिवारसम्म पुगेर सहयोगलाई निरन्तरता दिने युवा संघ नेपाल तयार छ ।’

प्रतिक्रिया दिनुहोस्: